वि.सं.२०७४ साल मंसिर १ देखि व्यावसायिक कारोबार सुरु भएको रिलायन्स लाइफ इन्स्योरेन्स पछिल्लो समय नेपालको उत्कृष्ट बीमा कम्पनीहरुको सूचीमा अटाइसकेको छ ।
कम्पनीले यही भदौ ४ गतेदेखि ६३ लाख कित्ता साधारण सेयर (आईपीओ) जारी गर्दै छ । आईपीओ जारी पनि यो कम्पनीलाई हुने उत्तरदायित्व र सर्वसाधारणले आगामी दिनमा गर्ने थप अपेक्षामा आधारित रहेर उक्त कम्पनीका सीईओ प्रवीण रमण पराजुलीसँग नेपालखबरले गरेको कुराकानीः
रिलायन्स लाइफ इन्स्योरेन्सले साधारण सेयर जारी गर्दै छ, कति परिमाणमा कहिलेदेखि आवेदन खुल्ला हुन्छ?
रिलायन्स लाइफ इनस्योरेन्सले २०७४ मंसिर १ गतेदेखि आफ्नो कारोबार सुरु गरेको हो। अहिले ३१औँ महिनामा चलिरहेका छौँ। हाम्रो अधिकृत पुँजी ३ अर्ब, जारी पुँजी २ अर्ब १० करोड रहेको छ । ६३ करोड बराबरको ६३ लाख कित्ता आईपीओ जारी गर्दै छौँ।
त्यसमा ५ प्रतिशत कम्पनीमा कार्यरत कर्मचारीहरुको लागि छुट्याइएको छ, ५ प्रतिशत सामूहिक लगानी कोषको लागि बाँडफाँट भइसकेको छ। बाँकी ५६ लाख ७० हजार कित्ता सर्वसाधारणको लागि जारी गरिएकोेछ। योसँगै चुक्ता पुँजी २अर्ब १० करोड रुपैयाँ पुग्नेछ।
आईपीओ जारीसँगै कम्पनीका चुनौती र अवसर के कति हुन्छन्?
पहिलो कुरो त रिलायन्स लाइफ बीमा समितिबाट अनुमतिप्राप्त कम्पनी हो। मानिसहरुको जीवन बीमा गर्नको लागि अधिकार प्राप्त संस्था हो। हामी पब्लिक लिमिटेड कम्पनी हुँदै छौँ। अर्को कुरा, सर्वसाधारणको समेत संलग्नता पछि थप दायित्वबोधका साथ हामी अघि बढ्छौँ।
सर्वसाधारणको लगानी भएपछि उनीहरुको जिज्ञासा पनि थप हुनेछ। योभन्दा अघि जसरी हामीले काम गरिरहेका थियौँ, अब हामीलाई त्यसमा थप अवसर थपिनेछ। हामीसँग योभन्दा अघि लगानीकर्ताहरु संस्थापकमा मात्र सीमित थिए। अब यो संस्था सहि दृष्टिकोणबाट एक पब्लिक लि. कम्पनी हुन गइरहेको छ । जसकारण हामीलाई एक किसिमबाट हेर्दा धेरै अवसर छ भने अर्को किसिमबाट हेर्दा दायित्व बढेको छ।
सेयरधनीलाई नाफाको ग्यारेन्टी के हुन्छ?
कम्पनीका वित्तीय विवरणहरु हामीले सार्वजनिक गरिसकेका छौँ। आईपीओको सूचना जारी गर्दा पनि सबै सूचकाङ्कहरु सार्वजनिक भइसकेको छ। त्यसमा हाम्रा आगामी योजनाहरु समेत उल्लेख छन्। तपाईंको मिडियाबाट भन्नुपर्दा करिब ९ करोडको नाफा पहिलो वर्षबाट लिएर आइराखेका छौँ। आर्थिक वर्ष ०७५/०७६ मा २ करोड २६ लाख नाफा गरेका छौँ भने ०७६/०७७ मा अपरिष्कृत वित्तीय विवरणअनुसार ४ करोड १३ लाख हामीले कमाइसकेका छौं । त्यसमा बीमांकीय मूल्यांकन हुन बाँकी नै छ। त्यसमा पनि केही न केही थप हुने आशा छ।
यो सबै हेर्दा अब सर्वसाधारणहरु आउनुहुन्छ। उहाँहरु लगानीकर्ताको रुपले आउने हो। अब कम्पनी ऐनले नै आर्थिक बर्ष समाप्त भएको ६ महिनाभित्र साधारणसभा गर्नुपर्ने भनेको छ। हामी अहिले नै आईपीओमा आइसकेको हुनाले हाम्रा सेयरधनीहरु अर्थात् आईपीओ भरेर परिपक्व हुने सेयरधनीहरु (आईपीओ धनीहरु एजीएमअघि बुक क्लोज हुने दिनमा जो–जो आबद्ध हुनुहुन्छ) सो समयमा स्वतः एलिजेबल (वैधानिक) हुनुहुनेछ।
नेपालको बीमा क्षेत्रमा कम्पनीहरुको अवस्था कस्तो छ?
विगत तीन वर्षदेखिको हेर्ने हो भने १० वटा नयाँ बीमा कम्पनी लाइसेन्स लिएर आइसकेपछि बीमा बजारचाहिँ एकदमै भाइब्रेन्ट भएर बढ्दै आइरहेको छ। संस्थाहरुले भने आफ्नो शाखा विस्तार गरिरहेका छन्। जसको कारण उनीहरुले आफ्नो दायरा पनि फराकिलो पारिरहेका छन्। दोस्रो कुरा सात प्रतिशतको बीमाको पहुँच ३ वर्षअघि भएको बजार हाल विस्तार भएको छ र सो वैदेशिक रोजगारीबाहेक नै पनि कुल नेपालीमध्ये २२ प्रतिशत बीमाको दायरामा पुगेका छन्।
बीमा बजार अहिले विस्तारको क्रममा नै छ। बीमा क्षेत्रको लागि रहेका अवसरहरु कम्पनीहरुले समातिरहेका छन्। हालको अवस्थाबारे भन्नुपर्दा अर्थात् कोरोनापछि जोखिम प्रोटेक्सन गर्ने यही क्षेत्र हो। भवितव्य केही पर्यो भने यस्तो कुराहरु नसोचेको हुने हो भन्ने कुरा अहिलेको कोरोनाको अवस्थाले पनि सिकाइरहेको छ। अहिले मार्केटले नै रिस्क भनेको कुन मात्रासम्म जान सक्छ भन्ने कुराहरु देखाइरहेको छ। जनचेतना पनि एकदमै बढिरहेको छ।
मैले जोड्न खोजेको भनेको चाहिँ योभन्दा पहिलेचाहिँ संस्थाहरु दूरदराजमा गए। आफ्ना एजेन्सीहरु विस्तार गरे। उनीहरुले आफैँ बीमाको महत्व बुझाएर पनि कामहरु गरेका थिए। अहिले खोज्दै आउने स्थितिसम्मको कुरा छ। बीमा क्षेत्र २२ प्रतिशत मात्रै हाल पहुँच भएको कारण सम्भावना पनि उत्तिकै छ।
सरकारले लिएका नीतिहरुलाई कसरी हेर्नुहुन्छ?
यसलाई दुई किसिमबाट हेर्नुपर्छ। नीतिनियमहरु हेर्दा पछिल्लो बजेटमार्फत आफ्नो ट्क्यासेबल इनकम (करयोग्य आय) मा लाइफ इन्स्योरेन्सको प्रिमियम तिरेमा २५ हजार छुट पाउने व्यवस्था छ। त्यो छुटलाई बीमा समितिको माध्यमबाट नेपाल सरकारलाई कम्तीमा पनि १ लाख पुर्याउनुपर्छ भनेर जीवन बीमक संघले माग गरेको थियो। तर त्यो व्यवस्था आएन। त्यो किन पनि आवश्यक थियो भने अहिलेको समयमा राज्यले नै त्यो किसिमको प्रोटेक्सनहरु ठूलो साइजमा केही क्षेत्र समेटेर त गरिरहेको छ। तर बजेट मार्फत ती कुरा आइदिएको भए मान्छेलाई अवेरनेस (जनचेतना) मात्रै होइन, आर्थिक लाभ लिने गरी पनि मान्छेहरु बीमामा थप आकर्षित हुने थिए।
त्यसले सहभागी संस्था र राज्य सबैलाई सहयोग हुने थियो। त्यसमा हामी चुक्यौँ। तर त्यति भन्दैमा बीमा समितिले बीमाबारे सचेतना विस्तार गर्ने काममा उचित ढंगबाट काम गरिरहेको छ। हरेक स्थानमा बीमा समिति दौडिरहेको छ। नियमन निकाय बीमा समितिले पनि सहयोग गरेको तथा संस्थाहरु पनि आफैँ लागेको भएर पनि यो क्षेत्र यतिसम्म विस्तार हुन सम्भव भएको हो। तर त्यसमा गर्नसकिने अझै धेरै कुराहरु बाँकी छन्। सम्पूर्ण संस्थाहरुले हातेमालो गरेर संघको माध्यमबाट बीमा समितिसँग सहकार्य गरी जनचेतना अभिवृद्धिका ठूला कामहरु सहकार्यमा गर्न सक्छौँ।
बीमा समिति अब प्राधिकरण बन्दै छ, बीमा कम्पनीको नियमन र प्रोत्साहन नीतिमा केही फरक पार्ला? ऐन पनि परिर्वतनको क्रममा छ।
बीमा ऐन परिवर्तन हुनु खाँचो नै थियो। यो भनेको अहिलेको समयको आवश्यकताअनुसार नै ऐन बन्ने क्रममा रहेजस्तो लाग्छ। बीमा समिति आफैँलाई पनि आफ्नो संस्था थप सशक्त हुनु भनेको पनि राम्रो कुरा हो। त्योसँगै अर्को भनेको प्राधिकरण बने पनि नियमनकारी निकाय नै थप स्वतन्त्र हुन्छ। आगामी दिनमा झन् सशक्त हुन्छ भन्ने हो। त्यसले बीमामा सहभागीहरुलाई समेत विश्वास बढ्न जान्छ। जसकारण जुन विधेयक अहिले संसदमा रहेको छ। यो विधेयकले बीमा क्षेत्रलाई नै थप मजबुत बनाउँछ भन्ने हाम्रो विश्वास छ।
इन्स्योरेन्सको लागि किन रिलायन्स नै रोज्ने?
पहिलो कुरा त रिलायन्स भनेको एक व्यावसायिक संस्थागत सुशासनलाई उच्च प्राथमिकतामा राखी चलिरहेको संस्था हो। हाम्रो लक्ष्य भनेको नै छोटो समयको लागि हैन । बीमा भनेको पोलिसी लिएर २०औँ, २५औँ वर्ष हुने कुरा हो। पहिलो कुरा त हामी विश्वसनीय छौँ। यो अवधारणा हाम्रो बोर्ड, व्यवस्थापन, रिलाएन्स साथी (अभिकर्ता) सबै लेभलमा पठाइरहेका छौँ। हामी १० वटा बीमा योजनाका साथ अघि बढिरहेका छौँ। त्यो हेर्दा पनि हामीले केही न केही फरक र नयाँ काम गरिरहेका छौँ।
सेवामा हामीले ग्राहकलाई केन्द्रविन्दुमा राखेर आफ्नो प्रोडक्ट ल्याइरहेका छौँ। सर्भिसलाई प्रविधिमैत्री बनाउने गरी अघि बढिरहेका छौँ। अर्को कुरा चौबीसै घण्टा सेवा सर्वसाधारण तथा आफ्ना ग्राहकलाई दिइरहेका छौँ। जुन नेपालमा बीमाको क्षेत्रमा यो मात्रै एउटा संस्था हो। यो भनेको हामीसँग आबद्ध भएकालाई मात्रै होइन। जान्न चाहने सबैलाई सेवा दिने हो। अहिले हामीले १ सयवटा शाखाबाट देशभरि सेवा समेत दिइरहेका छौँ। तसर्थ रिलाएन्स विभिन्न दृष्टिकोणमा समेत एक भिन्न संस्थाको रुपमा अघि बढिरहेको छ ।
अन्त्यमा...
हामीले बीमा गर्ने भनेको नै पहिलो प्रोटेक्सनको लागि हो। व्यावसायिक संस्थाबाट हामीले बीमा गराउनुपर्छ। ग्राहकहरुले आफुलाई चाहिने सुविधाबारे ध्यान दिनुपर्ने हुन्छ। बीमा अभिकर्ताहरुले पनि त्यसको बारेमा बिस्तृत जानकारी हुनुपर्छ। बीमा लिनेले त्यसको लागि आफ्नो आवश्यकता, आर्थिक क्षमता र कुन समयावधिको लागि चाहिने हो सो हेरेर मात्र गर्नुपर्छ, त्यसको लागि अभिकर्ता र बीमा लिनेबीच राम्ररी छलफल हुनुपर्छ। ता कि जुन लक्ष्यबाट हामीले बीमा जारी गरेका छौँ, जुन लक्ष्यको लागि ग्राहकहरुले पनि बीमा खरिद गरी सो बापतको प्रिमियम तिरिरहनुभएको छ, त्यो दुवैको लागि विन विन पोजिसन (दुवै पक्षले जित्ने)मा हुनुपर्छ । संस्थाले गर्ने हरेक कार्य ग्राहककेन्द्रित भएर गनुपर्दछ ।
Shares
प्रतिक्रिया