ad ad

अन्तर्वार्ता


कतारका कम्पनीले श्रमिकलाई नेपाल पुर्‍याइदिन्छौँ भन्न थालेका छन्ः राजदूत भारद्वाज (अन्तर्वार्ता)

कतारका कम्पनीले श्रमिकलाई नेपाल पुर्‍याइदिन्छौँ भन्न थालेका छन्ः राजदूत भारद्वाज (अन्तर्वार्ता)

उजिर कार्की
जेठ ११, २०७७ आइतबार ११:४०,

कोरोना संक्रमणका कारण सबैभन्दा धेरै नेपाली कतारमा प्रभावित भएका छन्। हालसम्म करिब ७ हजार नेपाली संक्रमित भएको कतारस्थित संस्थाहरुले जनाएका छन्। झण्डै २९ लाख जनसंख्या रहेको कतारमा नेपालीको संख्या साढे ३ लाख छ। त्यहाँ संक्रमितको संख्या ४२ हजार नाघिसकेको छ।

कतारमा हालसम्म एक जना नेपालीको मृत्यु भएको पुष्टि भएको छ। महामारीका कारण कतारमा ७० हजार नेपालीले रोजगारी गुमाउने नेपाली दूतावासले आकलन गरेको छ। यसबाहेक भिसाको म्याद सकिएका र आममाफी पाएकासमेत ७५ हजार देश फर्किने अवस्थामा छन्। अहिले कतारमा नेपालीहरुको अवस्था कस्तो छ त? यसबारे कतारका लागि नेपाली राजदूत नारदनाथ भारद्वाजसँग नेपालखबरले गरेको कुराकानीः

कोरोना महामारीका कारण कतारका नेपालीको अवस्था के छ?
कोरोनाको संक्रमण निरन्तर बढ्दो छ। यहाँ हालसम्म ४२ हजारभन्दा बढी संक्रमित भइसकेका छन्। २१ जनाको ज्यान गइसकेको छ। यहाँ कति नेपाली छन् भन्ने आधिकारिक तथ्यांक सरकारले उपलब्ध गराउँदैन। नागरिकता खोलेर संख्या बाहिर ल्याउँदा ती समुदायप्रति भेदभाव हुने र त्यो समुदायलाई नराम्रो असर पर्न सक्छ।

त्यसैले यहाँको सरकारले सबैलाई आफ्ना नागरिकसरह उपचार सेवा दिने तर नागरिकता र राष्ट्रियता खोलेर सार्वजनिक नगर्ने भनिरहेका छन्। हामीले पाउँदा पनि समग्र तथ्यांक मात्रै पाइरहेका छौं। अहिले विभिन्न निकायबाट विभिन्न तथ्यांक पनि आइरहेका छन्। ती तथ्यांक आधिकारिक नभएकाले सही हुन् भन्न म सक्दिनँ।

नेपाली कति संक्रमित छन् भन्ने तथ्यांक नै नपाएपछि उनीहरुको अवस्था कस्तो छ भनेर कसरी थाहा पाउने त?
समग्रमा नेपालीले हामीलाई आपतविपद पर्दा सम्पर्क गरिरहेका छन्। हामीले फोन नम्बर दिएका छौं। हाम्रो वेबसाइट छ, अफिसियल फेसबुक छ। हाम्रा कर्मचारीहरुको पनि फोन नम्बर हामीले सार्वजनिक गरेका छौं। उहाँहरुले समस्या परे हामीलाई फोन गर्नुहुन्छ, त्यहाँबाट पनि थाहा पाउँछौं।

धेरै नेपालीलाई कोरोना भाइरस संक्रमण भइसकेको छ। यद्यपि, यहाँका अधिकारीहरुले हामीलाई बताएअनुसार संक्रमितमध्ये ९५ प्रतिशत नेपालीको अवस्था सामान्य छ। सानो संख्यामा मात्रै उनीहरु गम्भीर अवस्थाका बिरामी छन्। त्यस्ता बिरामीलाई आईसीयूमा राखिएको छ। अहिलेसम्म एक जनाको मृत्यु भएको खबर आएको छ। यसबाहेक कोरोनाका कारण मृत्यु भएको आधिकारिक रुपमा जानकारी आएको छैन। केही मान्छेको अवस्था गम्भीर रहेको बुझिएको छ।

कतारले प्रवासी श्रमिकको लागि उपचारको व्यवस्था कसरी गरिरहेको छ?
यहाँ तीन चारवटा अस्पताललाई कोरोना विशेष अस्पतालका रुपमा विकास गरेको छ। हमाद अस्पताल यहाँको मुख्य सरकारी अस्पताल हो। यसलाई नै मुख्य उपचार गर्ने ठाउँको रुपमा विकास गरेको छ। अन्यत्र पनि संक्रमितको उपचार भइरहेको छ।

मलाई लाग्छ, उपचारको क्रममा गुनासो गर्ने ठाउँ केही देखिँदैन। बढ्दो संक्रमणको कारण उनीहरु पनि बिरामीको संख्या क्षमताभन्दा बढी हुनसक्ने अवस्था छ। त्यसलाई नकार्न सकिँदैन। तर, अहिलेसम्म चाहिँ राम्रो उपचार सेवा छ। भेन्टिलेटर इन्ट्युबेसन पद्धति त छँदैछ, त्यसका अलावा एक्स्ट्रा कर्पोरियल मेम्ब्रन अक्सिजेनेसन अर्थात्, निमोनियाका कारण फोक्सोले कामै गर्न नसक्ने अवस्थामा पनि रगतलाई अक्सिजेनेट गर्ने आधुनिक प्रणाली प्रयोग गरिएको छ।

उपचारको क्रममा नेपालीमाथि कुनै भेदभाव भएको छैन। कति नेपाली यहाँ उपचारपछि निको भएर फर्किसकेका छन्। एक जना नेपाली पत्रकार पनि उपचारपछि ठिक भएर फर्किनु भएको छ। मैले उहाँसँग पनि कुरा गरें। उहाँको भनाइअनुसार उपचारको व्यवस्था एकदमै राम्रो छ।

अहिलेको दूतावासमा आउने प्रमुख गुनासा र समस्या चाहिँ के हुन्?
अहिले खासगरी दुई तीन किसिमका समस्या देखिन्छन्। जागिर छुटिसकेपछि बिचल्ली भएका, बस्ने ठाउँ र खाने व्यवस्था नभएका केही मान्छे छन्। दूतावासले उनीहरुको यस्तो समस्या समाधान गर्नसक्ने अवस्था छैन।

हामीले ८ जनालाई एनआरएन र केही संघसंस्थाहरुको सहयोगमा राखेका छौं। अरुलाई खानपिनको व्यवस्था गरेका छौं। कतार रेडक्रस सोसाइटी लगायत केही ठुल्ठूला परोपकारी संस्थाहरु छन्। उनीहरुले खाना उपलब्ध गराएका छन्। तिनले एक पटक ४ सय र अर्को पटक ५ सय नेपालीलाई वितरण गर्न भनेर दूतावासलाई नै सहयोग उपलब्ध गराएका थिए। त्यसैले नेपालीहरुले खानै नपाउने अवस्था भने छैन।

अर्को भनेको उपचारको विषय छ। कोरोनाबाहेकका बिरामीहरु छन्– क्यान्सरका, ब्लड प्रेसरका, डाइबिटिज। उनीहरुले उपचार गर्ने ठाउँ पाइरहेका छैनन्। सबै अस्पताल कोरोनाका बिरामीले भरिएका छन्। अरु बिरामीहरुलाई अस्पतालले पनि लिने स्थिति छैन।

कति नेपालीले रोजगारी गुमाउने अवस्था छ?
यो महामारी जति लम्बिन्छ, रोजगारी गुमाउनेको संख्या पनि उति नै बढ्दै जान्छ। अहिले पनि केही कम्पनीहरु आर्थिक संकटमा फस्दै गइरहेका छन्। ठूला कन्ट्रयाक्ट कम्पनीहरुले सव–कन्ट्रयाक्टरहरुलाई भुक्तानी नगरेको कारणले तिनले कामदारलाई खान, बस्न, यातायातको व्यवस्था गर्न सकेका छैनन्। ती कम्पनीहरु अहिले एकदमै अप्ठेरोमा परेर क्षमता घटाउने, बन्द गर्ने, कामदारलाई विदामा पठाउने, कसैलाई आधा तलब दिएर घरमै बस भन्नेजस्ता विकल्प अघि सारिरहेका छन्।

एकदुई वटा कम्पनी त आफ्नो काम बन्द गरेर नेपालीलाई घर पुर्‍याइदिन्छौं, उडानका लागि सहजीकरण गरिदिनुस् भनेर हामीलाई अनुरोध गर्न आएका छन्। यसरी उनीहरुले हाम्रा २५ सय जति मान्छेलाई लगिदिन्छौं भनिरहेका छन्। यो एउटा घटना मात्रै हो। भित्रभित्रै साना उद्योग, फाइनान्स, इन्टरप्राइजेजहरु धेरै संकटमा छन्। उनीहरु लामो समयको लकडाउन र निष्क्रियताले घाटामा छन्।

लकडाउनको पनि भाडा तिर्नु पर्ने, तलब दिनु पर्ने हुन्छ, अरु लजिस्टिक व्यवस्था गर्नु पर्ने हुन्छ। त्यसैले कम्पनी बन्द हुने र कामदार बेरोजगार हुने क्रम बढ्दै जान्छ। यति नै हुन्छ भनेर अनुमान गर्न गाह्रो छ। तर, मलाई लाग्छ, यो ठूलै समस्याका रुपमा देखापर्छ, संक्रमण लम्बिएर गयो भने। अहिले नै चाहिँ स्थिति नियन्त्रणबाहिर छैन। अहिले पनि कोरोना नियन्त्रण हुन्छ, फेरि उद्योगहरु सुचारु हुन्छन् कामदारहरुले काम पाउँछन् भन्ने नै अवधारणा बलियो छ। तर हामी हेर्दैछौँ, कसरी स्थिति अगाडि बढ्छ। त्यस अनुसार नै हामीले रणनीति बनाउनु पर्ने हुन्छ।

अहिले तत्काल फर्काउनै पर्ने नेपाली कति छन्? उनीहरुको समस्या के हो?
हामी यसको तथ्यांक संकलन गर्दैछौं। हाम्रो अहिलेसम्मको अब्जरभेसनमा यहाँ निकै मान्छेहरु छन्। पढ्न आएका तर इन्टर्नसिप सकिएपछि फर्किन नपाएका विद्यार्थी छन्। यहाँ अमिरले दुई पटक आममाफी दिएर छुटेका नेपालीहरु पनि छन्। डेढ सयजति यहाँको सरकारले डिपोर्टेसन गर्न भनेर ठिक गरेका नेपालीहरु छन्। उनीहरु अहिले पनि जेलमा छन्। मार्चभन्दा पहिलेदेखि नै आफ्नो घरविदा स्वीकृत गराएर कम्पनीबाट बिदा भएर निस्केका तर टिकट काटेर पनि जान नपाएका नेपालीहरु छन्। जुन दिन उडान बन्द भयो, त्यसैदिन नेपाल फर्किन ठिक्क बोर्डिङ पास मात्रै लिन बाँकी रहेका तीनवटा उडानका नेपालीहरु पनि रोकिएका छन्।

यसबाहेक केही गर्भवती महिलाहरु आत्तिरहेका छन्। केही स्काफोल्डर, ठूला बिल्डिङबाट खसेका मान्छेहरु छन्। प्यारालाइसिस भएका मान्छे पनि छन्। जागिर छुटेका केही महिलाहरु छन् उनीहरुलाई जसरी पनि लानै पर्ने अवस्था छ। तोकेरै संख्या यति हुन्छ भन्न सकिँदैन। तर, तत्काल लैजानैपर्ने ५ हजारजति हुनसक्छन्। केही समयपछि फर्काउनु पर्ने मान्छेको संख्या त धेरै नै हुन्छ।

श्रम स्वीकृति र सम्झौताको अहिलेको प्रणाली अनुसार प्रत्येक दुई वर्षमा श्रमिकले घर जानुपर्छ। उसको सम्झौता, भिसा र परिचयपत्रको म्याद सकिन्छ। घर फर्किएर फेरि उसले श्रम सम्झौता नवीकरण गरेर आउनु पर्ने हुन्छ। त्यस्ता मान्छेहरु तीन लाख ५० हजार नेपालीमा हरेक महिना १४ हजार बढी हुन्छन्। ती मान्छेहरु पनि अहिले रोकिएका छन्। यसले गर्दा संख्या धेरै हुनसक्छ। अहिले चाहिँ गम्भीर अवस्थामा भएकाहरुलाई फर्काउनु पर्छ। हाम्रो देशको अवस्था पनि राम्रो छैन। उनीहरुलाई व्यवस्थापन गर्ने, क्वारेन्टिनमा राख्ने बिरामीलाई उपचार गर्ने, उनीहरुलाई गन्तव्यसम्म पुर्‍याउने चुनौती छन्। एकै पटक ठूलो संख्यामा फर्काउँदा गाह्रो छ। त्यही भएर जो अति नै जोखिमको अवस्थामा छन् ती मान्छेलाई लानुपर्छ।

तीबाहेक अरुलाई सुरक्षित राख्न र रोजगारी दिलाउन तपाईंहरुले के पहल गर्न सक्नुहुन्छ?
अहिलेको अवस्थामा उनीहरुलाई यहीँ राख्न, उनीहरुलाई काम दिलाउन सजिलो छैन। कम्पनी बन्द भएका मजदुरलाई अर्को कम्पनीमा लैजान मुस्किल हुन्छ। किनभने त्यसो गर्न कानुनले दिँदैन। हाम्रो सम्झौता, श्रम अनुमतिको व्यवस्थाविपरीत हो त्यो। यहाँ आएर उनीहरुले जुन कमान्डमा काम गर्नु पर्ने हो, त्योसित उनीहरुले सम्झौता गरेका हुन्छन्। त्यो कम्पनीले उनीहरुलाई एनओसी (नो अब्जेक्स्न लेटर) दिनुपर्छ, अर्को कम्पनीले उनीहरुलाई लिनु पर्‍यो। अर्को कम्पनी पनि आर्थिक समस्यामा होला, अहिले कुनै पनि कम्पनीले कामदार थप्ने अवस्थामा छैनन्।

त्यसैले अहिले रोजगार गुमाएकालाई अर्को कम्पनीलाई राख्न सम्भव हुँदैन। यदि यो अवस्था लम्बिएन भने ठूला परियोजनाका काम सुरु होलान्, त्यसपछि थप रोजगारीको अवसर आउला तर अहिले मिलाउन जटिल छ।

रोजगारी गुमाएकाहरु अहिले कसरी बसिरहेका छन्?
हामीले यहाँका ठूला कम्पनीलाई महामारीको अवधिभर अन्तर्राष्ट्रिय उडान नखुलेसम्म तपाईंहरुले कामदारलाई खान बस्नको सुविधा दिनुपर्छ भनेर माग गरेका छौं। कतार सरकारले पनि यस्तै एउटा निर्देशन जारी गरेको छ। अप्रिल १५ तारिखको दिन एउटा सर्कुलर जारी गरेर भनेको छ कि अब कुनै पनि कम्पनीले यो महामारीको अवधिमा काम लगाउँछ भने तलब, भत्ता, खाना आवास सबै सुविधा दिनुपर्छ। काम छैन र बन्द भएको छ भने उनीहरुलाई खाना र आवास अनिवार्य दिनुपर्छ। तलबको कुरामा सम्झौता गरेर घटाउने अथवा बेतलवी बिदामा पठाउने अथवा घरबिदामा पठाउने जस्ता कदम चाल्न सक्छ।

त्यो निर्देशिकाले केही फाइदा पनि गरेको छ, केही बेफाइदा पनि गरेको छ। फाइदा यसमानेमा कि, कसैले जागिरबाट निकाल्यो भने पनि उसलाई यो अवधिमा खान बस्नको व्यवस्था गर्नुपर्छ। नभए कानुनी कारबाही हुन्छ। बेफाइदा चाहिँ किनभने तिमी अब आधा तलब लिएर बस, अथवा तिमी बेतलवी बिदा लिएर बस अथवा तिमी घर जाऊ भनेर कामदारलाई दबाब दिने बाटो खुलेको छ। तैपनि अहिले ठूलो संख्यामा नेपालीहरु कामबाट निकालिएको अवस्था छैन। त्योचाहिँ एउटा राम्रो पक्ष छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .