नेपाली साहित्यमा विशेष गरी समालोचनाको क्षेत्रमा चिरपरिचित नाम हो– महेश पौड्याल। त्रिभुवन विश्वविद्यालयको केन्द्रीय अंग्रेजी विभागका उपप्राध्यापकसमेत रहेका पौड्याल लेखक एवं कुशल अनुवादक पनि हुन्। पौड्यालका १२ वटा साहित्यिक कृति एवं पाठ्यपुस्तक प्रकाशित छन्।
पछिल्लो समय नेपाली साहित्यमा देखिएको प्रवृत्तिहरुको विश्लेषण कसरी गर्ने ? नेपाली साहित्य कता गइरहेको छ ? यसको भविश्य कस्तो देखिइरहेको छ? यिनै प्रश्नको सेरोफेरोमा केन्द्रित रहेर हामीले समालोचक पौड्यालसँग साहित्यिक सम्वाद गरेका छौं।
साहित्यिक कृतिको ससमालोचनाका नाममा अहिले पत्रपत्रिकामा आइरहेका सामग्रीबारे टिप्पणी गर्दै पौड्याल भन्छन्, ‘अहिलेको बजारमा कुनै विचार समूह, साथी, सर्कलको अनुरोधमा रहेर समालोचना लेखिने चलन छ। यो पाठकीय प्रतिक्रिया हो, यसलाई कुनै पनि दृष्टिबाट समालोचना भन्न मिल्दैन ।’
तथापि नेपाली साहित्यमा अहिले सकारात्मक संकेतहरु देखिएको पौड्यालको स्वीकारोक्ति छ । उनी भन्छन्, ‘मलाई त आशा छ, अबको दशक त राम्रो हुनेवाला छ। भर्भराउँदो पुस्ता आएको छ। कविताको चेत लोभलाग्दो तरिकाले आइरहेको छ।’
प्रस्तुत छ– साहित्यकार पौड्यालसँग नेपालखबरकर्मी सुभद्रा ढकालले गरेको कुराकानी :
वर्तमान नेपाली साहित्यमा समालोचनाको स्थिति कस्तो छ?
हिजोआजको बजारमा समालोचना निकै फिक्का लाग्छ। किताब पढेर सर्सती लेख्ने पाठक प्रतिक्रियालाई समालोचना भनेर परिभाषा गरिने गरिएको छ। तर, यो अचेल पत्रपत्रिकामा छापिने पुस्तक समीक्षा विशुद्ध पाठकीय प्रतिक्रिया मात्रै हो, समालोचना होइन ।
समालोचना लेख्नलाई राजनीतिक गन्ध, लोभ मोह केही पनि राखिनु हुँदैन । अहिलेको बजारमा कुनै विचार समूह, साथी सर्कलको अनुरोधमा रहेर समालोचना लेखिने चलन छ त्यसकारण यो पाठकीय प्रतिक्रिया हो, यसलाई कुनै पनि दृष्टिबाट समालोचना भन्न मिल्दैन।
समीक्षा र समालोचनामा के फरक छ ?
समीक्षामा कुनै पनि पुस्तकको गुण र दोषका कुरा लेखिनुपर्छ । तटस्थता हुनुपर्छ । किताबको भाषिक, विधातात्विक शक्तिसँगै कमजोर पक्ष र सवल पक्षलाई विश्लेषण गरेर लेखिनुपर्छ । समालोचक लोभ र पापबाट मुक्त हुनुपर्छ । साथै, समालोचना लेखिसकेपछि पनि कुनै पनि पाठकले त्यो किताब किन्ने कि नकिन्ने भनेर स्पष्ट धारणा बनाउन सक्ने हुनुपर्छ ।
समीक्षा सानो सूचना हो भने समालोचना वृहत सूचना हो । समीक्षाका केही पद्दति छन्। विषयवस्तु, कथानक, भाषा, शिल्प, सौन्दर्य त्यसको गुण अथवा दोषलाई सभ्य तरिकाले हेरेर मनिसलाई भनिदिने काम समाचोलना हो।
सामालोचना गर्न लागेको किताबलाई अरु किताबहरुको सापेक्षतामा अध्ययन गरेर एउटा पाटो समातेर वृहत रुपमा गहिरिएर लेख्नुपर्छ । समालोचनमा जीवन र कथाको ‘कनेक्सन’ मिल्नुपर्छ । सिद्धान्तमा टेकेर एउटा पक्षकाे वृहत्तर अध्ययन नगरे समालोचना हुँदैन। समालोचना गर्नका लागि सत्यलाई सत्य, असत्यलाई असत्य, कमजोरलाई कमजोर खराबलाई खराब भन्न सक्ने तटस्थ न्यायिक हृदय चाहिन्छ।
राम्रो समालोचनाले नेपाली साहित्य कता गइरहेको छ भन्ने दिशा पनि देखाउँछ । एउटा राम्रो समालोचकले नयाँ पद्दति बनाउन सक्छ। समालोचकले लेन्स लिएर समालोचना गर्नुपर्छ।
साहित्यिक समालोचना क्षेत्रमा पछिल्लो पुस्ता कम आउनुको कारण को हो ?
समालोचना क्षेत्र एकदम जटिल र जोखिमपूर्ण विषय हो। अहिलेको पुस्तामा अध्ययनको कमी छ । आफूलाई लागेको कुरा ढुक्कले भन्न आँट चाहिन्छ । वास्तवमा भन्ने हो भने अहिलेको पुस्तामा वृहत अध्ययन नै छैन । एउटा मार्क्सवादी छ भने मार्क्सको लाइनतिर मात्रै लाग्छन् । प्रायः लेखक, समालोचकहरुसँग आफ्नो वाद र समुदायबाट माथि उठेर हेर्ने चश्मा नै छैन । लोकप्रियताको लोभ राख्ने मान्छे समालोचक हुनै सक्दैन।
साहित्यमा पुरस्कार र पदकको विषयमा बेलाबखत विवाद हुने गरेका छन् । साहित्यिक पुरस्कार सम्बन्धी अहिलेको प्रवृत्तिलाई हेर्ने तपाईको चस्मा कस्तो छ ?
वास्तवमा भन्नुपर्दा कुनै पनि किताब पुरस्कारका लागि लेखिने हैन । देशका विभिन्न पुरस्कारभन्दा माथि प्रिय पाठकहरु पनि छन् । किताब लेख्ने उद्देश्य पुरस्कार मात्रै होइन, संसारसँग संवाद गर्नु पनि हो । साहित्य संसारलाई बुझ्ने माध्यम हो ।
मलाई साहित्यको माध्यमबाट संसारसँग संवाद गर्न रहर लाग्छ, मैले यसैलाई आफ्नो माध्यम बनाएको छु । त्यसकारण मलाई कथा लेखिरहँदा कुनै पुरस्कार गुठी छ भन्ने कुरा सम्झना पनि आउँदैन ।
अर्को कुरा के हो भने पब्लिकमा जोखिम मोलेर अरु किताब गलत छ भन्ने एउटा मान्छेले पुरस्कार, दोसल्ला र खादाको आश गर्दैन ।
तपाई एउटा लेखकसँगै समालोचक पनि हुनुहुन्छ । तपाईको विचारमा कस्तो साहित्य लेखिनुपर्छ?
हामीले साहित्य लेख्ने भनेको देश लेख्ने हो । देश लेख्दा धेरै उदार भएर लेखिनुपर्छ । देश एउटै हो, भुगोल एउटै हो भन्ने सोचाइ हुनुपर्छ ।
अहिलेको नेपाली साहित्य कुन दिशामा गइरहेको छ?
मेरा पुस्ताका विद्यार्थी युनिभर्सिटीमा मास्टर्स, पीएचडी गर्न गएर पनि नेपाली साहित्यको अध्ययन गरिरहेका छन्। बाहिर गएर नेपाली साहित्यमा विद्या वारिधि गर्दा देशको पनि इज्जत बढ्छ । एउटा पुस्ता बाहिर गएर नेपाली साहित्यको अध्ययन गरिहँदा मलाई लाग्छ, नेपाली साहित्यमा केही न केही छ।
पछिल्लो समयको भइरहेका किताब लेखन र प्रकाशनलाई कसरी लिनुहुन्छ?
प्रकाशकले साहित्यको सेवा गर्नका लागि प्रकाशन गृह खोलेको हो जस्तो मलाई लाग्दैन । किनभने, उनीहरुले व्यापार गर्नकै लागि खोलेका हुन् । अधिकांश लेखकहरुलाई प्रकाशकले ठगेका छन,् मारेका छन् । उनीहरुले लेखकसँग पैसा लिएर छाप्छन् । कति किताब बिक्री भयो, पाठकलाई पनि थाहासमेत दिँदैनन्।
प्राइभेट प्रकाशन गृहले प्रतिभालाई उठाउन, गरिबीमा भएको लेखक प्रतिभावान् छ भनेर त्यसलाई माथि उठाउनका लागि प्रकाशन गृह खोलेकै होइन । पैसा कमाउनका लागि खोलेको हो ।
यो काम कसले गर्नुपर्छ त भन्दा सरकारी प्रतिष्ठानले गर्नुपर्छ । एकेडेमीले गर्नुपर्छ । युनिभर्सिटीले गर्नुपर्छ । तर, यहाँ राजनीतिकरण भयो । पार्टी निकटका, आफू निकटको वोलवाला भयो । राज्य निकम्बा भयो भने प्रतिभा यसरी मर्छ ।
त्यसैले हामीले खबरदारी राज्यलाई गर्ने हो । प्राइभेट बिजनेस हाउसले चाहिँ गर्छ भन्ने कुरा म पटक्कै विश्वास गर्दिनँ । उनीहरु पैसा कमाउन आएका हुन्। एउटा ओझेलमा परेको लेखकलाई उठाएर उनीहरुले अगाडि बढाउँछन् भन्ने कुरा मलाई लाग्दैन ।
किताब नछापे पनि त्यो प्रतिभालाई चिनेर हामीजस्तो समालोचक र पत्रकारहरुले त्यसलाई निरन्तररुपमा उठाउँदा एक न एक दिन त्यसको प्रतिभा राम्रो हुन्छ । कसैका बारेमा फेसबुक वा पत्रिकामा लेख्नलाई किताबै छापेको हुनुपर्दैन । पाँचवटा कविता राम्रो लेख्यो भने मैले उसका बारेमा लेख्न सक्छु ।
सरकारी प्रकाशन गृहले नयाँ प्रकाशक नचिन्दा उसले कहाँ जाने भन्ने प्रश्न पनि उठ्छ र अन्य प्रकाशनले कमर्सियल रुपमा हेर्छन् । सामान्य मान्छेलाई कुनै मान्छे नै गन्दैनन् ।
एउटा कृति छापिनु भनेको एउटी आमाले बच्चा जन्माएजस्तै हो । आमाले कति दुःख गरेर हुर्काउनुपर्छ नि त्यो बालकलाई । अनि पो ऊ योग्य बालक बन्छ । तर, एउटा किताब छापेर प्रकाशक निदाउँछ । फेरि अर्को हप्ता अर्को किताब छाप्छ । एउटा किताब छापेर त्यो किताबलाई बजारम पुर्याउनु, कार्यक्रम गर्नु, अन्तर्वार्ता गराउनु । त्यही किताबबाट फाइदा लिनुपर्छ भन्ने जरुरी छैनन् ।
समालोचक महेश पौड्यालको आँखाबाट वर्तमान साहित्यको अवस्था कस्तो देखिन्छ?
२०४६ सालको जुन आन्दोलन भयो, त्यो आन्दोलनभन्दा अगाडि गम्भीर साहित्य लेखिन्थ्यो । लेखकहरु पनि साधक थिए । गोविन्द मल्ल गोठाले, विजय मल्ल जस्ता लेखकको साहित्य कालजयी छ। २०४६ सालभन्दा अगाडि देशको राजनीति थियो, देशमा प्रजातन्त्र ल्याउनुपर्छ भन्नेमा मान्छेको दुई मत थिएन । २०४६ सालपछि पार्टीको राजनीति सुरु भयो ।
एउटाले युद्ध गर्नुपर्छ भन्ने, अर्कोले गर्नुहुन्न भन्ने । एकथरिले राजा चाहिन्छ भन्ने, अर्को थरिले राजा चाहिन्न भन्ने । त्यसपछि राजनीति खण्ड–खण्ड गरेर विभाजित भयो । अनि यो खण्ड–खण्ड राजनीतिको कुरो साहित्यमा आयो । अनि यो कालजयी भएन । त्यसकारण, यो साहित्यले धेरैलाई छुन सकेन । देशको बिग्रँदो राजनीतिका कारण कुण्ठा, आक्रोश लेख्न थाले । त्यो ०४६ सालदेखि ०६५ र अहिलेको ०७० को दशकसम्मको साहित्य धेरै बिग्रेको छ ।
केही बीचमा नआएका हैनन् । कृष्ण धराबासी, अमर न्यौपाने, बुद्धिसागरहरु आए । तर, जस्तो भीड आयो, बीचमा त्यो भीड गाली गर्नलाई आयो । बाहुनलाई गाली गर्न आयो, कम्युनिष्टलाई गाली गर्न आयो, कहिले राजालाई गाली गर्न आयो । कहिले प्रजालाई गाली गर्न आयो । तर, यो चीजको मूल्य छैन, क्षणिक छ ।
तर, अहिले म के देख्दैछु भने यो केही समय ०७० को दशकमा जब पहिचानवाद केके वाद भन्ने आयो, संविधान पनि लेखियो र देश एकातिर लाग्यो । अहिले म के देख्दै छु भने अहिले फेरि राम्रा साहित्यहरु लेख्ने एउटा धारा फेरि आएको छ । जस्तो ‘म’ कथामा वीपीको पाटो गोविन्द मल्ल गोठालेका जस्ता कथा ।
कवितामा एउटा अत्यन्तै भर्भराउँदो प्राञ्जल पुस्ता पनि आएको देख्दैछु भने विस्तारै फेरि त्यो कविता, कथा अथवा नेपाली साहित्यको रजतपट त्यो अथवा गोल्डेन हाइवे पछिल्लो समयका लेखकरुले समाउँदै गरेको मैले त्यो संकेत देख्दैछु ।
तर, फेरि पनि सत्य के हो भने लेखकहरुको संख्या यति धेरै बढेको छ कि लेखकहरुको भीडमा कुनचाहिँ झार हो र कुनचाहिँ तुलसी हो भन्ने कुरा चिन्न चाहिँ गाह्रो हुन्छ । अहिले धेरै कार्यक्रम हुन्छन्, धेरै फेसबुक छ, सञ्जाल छ । त्यहाँ जो पनि कवि छन् । त्यो झारपातको बीचमा कुनचाहिँ झार हो र कुनचाहिँ तुुलसी हो भन्ने चिन्न जरुरी छ । तर, राम्रो साहित्यको एउटा लहर फेरि आउँदैछ ।
०४६ पछि औँलामा गन्न सकिने कुनै पुस्तक छन्?
कृष्णधरावासीका शरणार्थी, राधा जस्ता पुस्तकहरु यहीबीचमा आए । सुकारातको पाइला जस्ता किताबहरु यहीबीचमा आएका हुन् ।
अमर न्यौपानेको सेतो धरतीजस्तो किताब यहीबीचमा आयो । बुद्धिसागरका किताबहरु आए । नारायण ढकालका कृति यहीबीचमा आए । यस्ता किताब एकदमै उच्च गुणस्तरका आएका छन् । अहिले गम्भीरताचाहिँ अलि बढेको छ । धेरै राम्रा राम्रा कविहरु आए । कथाकार आए । धेरै राम्रा उपन्यासकारहरु पनि आए ।
मलाई त आशा छ अबको दशक त राम्रो हुनेवाला छ । भर्भराउँदो पुस्ता आएको छ । कविताको चेत लोभलाग्दो तरिकाले आइरहेको छ । तर, हामीले लोभ पाप केही नगरी, पुरस्कारको लोभ पनि नगरी, खाताको लोभबाट मुक्त भएर सत्य बोल्नुपर्छ । चिनिन्छ, तुलसी र झार ।
अन्त्यमा, आफ्नो फेसबुकमा किताबहरु सजाउने प्रचलनलाई कसरी लिनुहन्छ?
किताब सजाउने एकजनाले पनि किताब पढ्दैनन्। तर, साँच्चैको अध्येताले कभर मात्र राख्दैन, कभर राखेर केही न केही लेखेकै हुन्छ । बाँकी पढ्नेलाई गाइडलाइन होस् न यो किताबमा यस्तो छ, यो कारणले यो किताब पढ्नुपर्छ भन्ने।
फेसबुकमा एउटा पुस्ता यस्तो छ, जसले कभर हालेको हाल्यै गर्छ, पढ्दैन । पढ्नेले दुई लाइन भए पनि त्यहाँ दृष्टि दिन्छ । किताब सजाउने भनेको सो हो, देखाउन मात्रै ।
पढेको किताब सेयर पनि गर्नुपर्छ । पढेको मान्छेले अरुलाई पनि पढ्नका लागि सिफारिस गर्छ।
Shares
प्रतिक्रिया