बंगलादेशमा गुडिरहेको रेलमा आगलागी भएको छ।
र्यापिड एक्सन बटालियनका मिडिया निर्देशक अल मोइनका अनुसार अहिलेसम्म रेलबाट चार शव निकालिएको छ।
शुक्रबार राति बेनापोलबाट ढाका जाँदै गरेको रेलमा आगलागी भएको बंगलादेशको दमकल सेवाले जनाएको छ।
ढाकाको कमलापुर रेलवे स्टेसन पुग्नुअघि राति करिब ९ः३० बजे गोपीबाग खाचा बजार क्षेत्रमा रेलमा आगलागी भएको अग्नि नियन्त्रण कक्षले जनाएको छ।
रेलका केही डिब्बामा आगो देखिएपछि रेल रोकिएको र त्यसपछि स्थानीयले आगो निभाउने प्रयास थालेको बताइएको छ। केही समयमै दमकलका धेरै टोली त्यहाँ पुगेका थिए।
यो घटना देशमा आम निर्वाचनको मतदान सुरु हुनुभन्दा करिब ३५ घण्टा अगाडि भएको हो।
कसरी लाग्यो रेलमा आगो?
ढाका महानगरीय प्रहरी अतिरिक्त आयुक्त महेदुद्दीनका अनुसार आगलागीबाट रेलका तीनवटा डिब्बामा क्षति पुगेको छ।
र्यापिड एक्सन बटालियनका मिडिया निर्देशक अल मोइनले शुक्रबार राति कसैले यो घटना गराएको आशंका गरेका छन्।
उनले पत्रकारसँग भनेका छन्, ‘यस घटनाको उद्देश्य मानिसलाई त्रसित पार्ने र सामान्य जीवनमा खलल पुर्याउने देखिन्छ। जसले यस्तो गरेको छ, उसलाई कानुनको दायरामा ल्याइनेछ।’
उनले यस घटनाको रेलवे अधिकारी र गुप्तचर निकायले अनुसन्धान गरिरहेको जानकारी दिएका छन्।
Shares
प्रतिक्रिया