क्यानडाले एक चिनियाँ कूटनीतिज्ञलाई देशनिकाला गरेपछि बेइजिङले पनि त्यसको बदला लिएको छ। चीनले सांघाइस्थित एक क्यानडेली कूटनीतिज्ञलाई मे १३ भित्र देश छाड्न भनेको छ।
यसअघि सोमबार क्यानडाले टोरन्टोमा रहेका चिनियाँ कूटनीतिज्ञ चाओ वेइले एक क्यानडेली सांसद र उनको परिवारलाई सताएको आरोप लगाउँदै उनलाई देश छाड्न भनेको थियो।
‘क्यानडाको अविवेकी कार्यको जवाफमा चीनले समान प्रकृतिको कारबाही गर्ने निर्णय गरेको छ,’ चिनियाँ विदेश मन्त्रालयले मंगलबार भनेको छ।
चीनले सांघाइस्थित क्यानडेली महावाणिज्यदूतावासमा कार्यरत जेनिफर लालोन्डेलाई निकाला गरेको हो।
चाओले क्यानडाका सांसद माइकल चोङ र हङकङस्थित उनको परिवारबारे गुप्त सूचना प्राप्त गर्न खोजेको बताउँदै स्थानीय सञ्चारमाध्यमले रिपोर्ट प्रकाशित गरेपछि क्यानडा सरकारले चाओलाई ‘पर्सोना नन ग्राटा’ घोषणा गरेको थियो।
सो आरोपलाई चिनियाँ दूतावासले आधारहीन भनेको छ। एजेन्सी
Shares
प्रतिक्रिया