पाकिस्तानमा सोमबार भएको एक बम आक्रमणमा कम्तीमा पनि ९ जना प्रहरीको ज्यान गएको छ।
देशको दक्षिण पश्चिमी क्षेत्रमा भएको उक्त आत्मघाती हमलामा ती प्रहरी मारिएका हुन्।
यो घटना बलुचिस्तान प्रान्तको बोलान शहरमा भएको हो। मारिएका प्रहरी जवान बलुचिस्तानअन्तर्गतकै थिए।
बीबीसीका अनुसार यो घटनामा १० भन्दा धेरै प्रहरी घाइते भएका छन्।
एक अधिकारीका अनुसार कम्बरी पुलमाबलुचिस्तान प्रहरीको एक गाडीलाई मोटरसाइकलले ठक्कर दिएको थियो।
गाडीमा सवार सुरक्षाकर्मी आइतवार सकिएको सिबी मेलामा ड्युटी सकेर सिबीबाट क्वेटा जाँदै थिए।
बलुचिस्तानका मुख्यमन्त्री मिर अब्दुल कुदौस बिजेन्जोले सुरक्षाकर्मीको गाडीमा भएको विस्फोटको निन्दा गरेका छन्।
उनले यसलाई आतंकवादी कृत्य बताउँदै मृतक र घाइतेका परिवारप्रति दु:ख र शोक व्यक्त गरेका छन्।
पाकिस्तानमा पछिल्लो केही समययता सुरक्षा बललाई निशाना बनाएर आक्रमण गर्ने क्रम बढेको छ।
बलुचिस्तानमा अलग्गै देश माग गरेर लामो समयदेखि आन्दोलन चलिरहेको छ।
Shares
प्रतिक्रिया