वायु प्रदूषणको औसतको आधारमा विश्वका सबैभन्दा प्रदूषित १० मा भारतका ९ वटा सहर परेका छन्। वायु गुणस्तर मापक आईक्युएयरका अनुसार सन् २०२० को वर्षभरिको औसत प्रदूषणको आधारमा यो तथ्यांक निकालिएको हो।
जसअनुसार विश्वका सबैभन्दा प्रदूषित एक सय सहरमा भारतका ४६ वटा सहर छन्। त्यस्तै चीनका ४२ वटा सहर यसमा परेका छन् भने पाकिस्तानका ६ वटा, बंगलादेशका चारवटा, इन्डोनेसियाको एउटा र थाइल्याण्डको एउटा सहर परेका छन्।
चीनको पश्चिमी प्रान्त सिन्चियाङको होटान सबैभन्दा प्रदूषित सहर बनेको छ । पीएम२.५ को आधारमा गरिएको मापन अनुसार विश्वका सबैभन्दा बढी प्रदूषित १०० सहरमा पीएम२.५ को मान ५० भन्दा धेरै छ।
विश्व स्वास्थ्य संगठनका अनुसार यो प्रदूषण बसोबासका लागि अस्वस्थकर हो। डब्ल्यूएचओका अनुसार पीएम२.५ को मान १० भन्दा कम हुनुलाई राम्रो मानिन्छ। १२ सम्म पुग्नुलाई ठिकै मानिन्छ भने ३५ सम्म पुग्नुलाई त्यति धेरै हानिकारक मानिँदैन।
ल्यान्सेट जर्नलका अनुसार सन् २०१९ मा भारतमा १६ लाख ७० हजार मानिसको मृत्यु प्रदूषणको कारण उत्पन्न भएको समस्याले भएको थियो। डब्ल्यूएचओका अनुसार विश्वभर प्रदूषणसम्बन्धी समस्याको कारण ७० लाख मानिसको मृत्यु हुने गरेको छ। प्रदूषणले मानिसको मस्तिष्क, फोक्सो, आँखा, मुटु र प्यांक्रियाजमा असर पुर्याउँछ।
आईक्युएयरको यो तथ्यांकले आगामी दिनमा भारत तथा चिनियाँ सहरमा बसोबास गर्ने मानिसको चुनौती बढ्दै जान सक्ने देखाएको छ।
प्रदूषण नियन्त्रणको लागि भन्दै चीन र भारतका केही सहरमा स्मोग टावर राखिएको छ। यसले करिब एक किलोमिटरभित्रको हावालाई फिल्टर गरेर प्रदूषण आधासम्म घटाउन सक्छ।
Shares
प्रतिक्रिया