पछिल्लो समय युट्युब, टिकटकदेखि सामाजिक सञ्जालमा सर्वत्र रूचाइएको देउडा शैलीको गीत ‘पियारी’को फिमेल भर्सन सार्वजनिक भएको छ।
लाइमलाइट नेपाल युट्टुब च्यानलबाट बिहीबार गीतको भिडिओ सार्वजनिक गरिएको हो।
प्रतिभावान् नवगायिका विशाखा शाही ठकुरीको गायकीमा गीत वास्तवमै हृदयस्पर्शी बनेको छ।
जोसेफ शाही ठकुरीको स्वरमा रहेको ओरिजिनल गीतमा घरमा जहान सम्हालिरहेकी ‘पियारी’लाई परदेशमा दुःख गरिरहेको श्रीमानले सम्झाइरहेको भाव भेटिन्छ।
विशाखाको स्वरमा रहेको यो गीतमा भने पियारीले परदेशमा रहेका पियारालाई आफू कस्तो अवस्थामा जिवन गुजारीरहेकी छु भन्दै जवाफ दिएको भाव छ।
जोसेफ शाहीको शब्दमा कोशिस क्षेत्रीको संगीत र उदयराज पौडेलको संगीत संयोजन छ। ए–वन म्यूजिसियन स्टुडियोमा रेकर्ड गरिएको गीतको ध्वनि सम्पादन भने किशोर थापाले गरेका हुन्।
फिमेल भर्सनमा स्वरमात्रै होइन गायिका विशाखाको अभिनय समेत हेर्न सकिन्छ।
भिडिओमा विशाखासँगै पशुपति खनाल र अस्मिता सेन्चुरीको समेत अभिनय छ। राज पोखरेलको छायाँकन रहेको भिडिओको सम्पादन र निर्देशन समेत टेकेन्द्र शाहले गरेका हुन्।
रियालिटी गायन प्रतिस्पर्धा ‘भ्वाईस अफ नेपाल सिजन–३’ मा बाजुराका प्रतिभा धर्मेन्द्र सुनारले ‘पियारी’ गीत गाएर चार वटै निर्णायकको मन जित्न सफल भएपछि गीत सर्वत्र रूचाइएको थियो।
त्यसपछि ओरिजिनल गीतलाई पनि उत्तिकै रूचाइएको छ। हालसम्म युट्युवमा १८ लाख बढी दर्शकले गीतको भिडियो हेरिसकेका छन्।
प्रतिक्रिया