गजल र आधुनिक संगीतमा नाम कमाएका गायक राज सागरले विभेदविरुद्धको सांगीतिक कोशेली ’ए... मान्छे’ सार्वजनिक गरेका छन्।
५६औँ अन्तर्राष्ट्रिय रङ्गभेद तथा सबैखाले जातीय विभेद उन्मूलन दिवस २१ मार्चको सन्दर्भ पारेर गायक राज सागरले सन्देशमूलक सांगीतिक भिडिओ सार्वजनिक गरेका हुन्।
चर्चित लेखक आहूतिको शब्द रहेको ’ए...मान्छे’ २१औँ शताब्दीमा मान्छेले व्यहोर्नुपरिरहेको विभेदविरुद्धको रचनात्मक आवाज रहेको गायक राज सागरको ठम्याइ छ।
मर्यादा मिडियाको प्रस्तुति रहेको सांगीतिक भिडियो राजसागरकै संगीतमा तयार कोशेली हो। अझै पनि जातले नेपाली समाजमा मानिसको सामाजिक हैसियत नाप्ने तुलोको काम गर्दै आईरहेको सन्दर्भमा असमानता र अन्यायको जरो–जातलाई हल्लाउने र उखेलेर फाल्ने प्रयास स्वरुप गीति कोशेली ल्याएको गायक राज सागर बताउँछन्।
‘माया पिरतीका धेरै गीत गाईयो, ताली पनि पाइयो नाम र दाम सबै पाईयो तर समाजलाई के दिन सकियो भन्ने आफै भित्रको प्रश्नको उत्तर हो यो मेरो ए ...मान्छे’, गायक राज सागरले भने, ‘मान्छेहरु जातकै कारण मारिनेक्रम नरोकिँदा आफूले सांगीतिक क्षेत्रवाट सानो प्रयास किन नगर्ने भन्ने हुटहुटीले आज पूर्णता पाएको छ।’
संजीब बराइलीको संगीत संयोजनमा प्रस्तुत गीत भ्वाईस अफ नेपालमा रेकर्ड गरिएको हो। भिडियोको निर्देशन श्याम नेपालले गरेका हुन् भने सम्पादन युसब सापकोटाले गरेका हुन्।
Shares
प्रतिक्रिया