ad ad

कला


उप्रेतीको हंसलाई पद्मश्री साहित्य पुरस्कार र प्रश्रितलाई पद्मश्री साधना सम्मान

उप्रेतीको हंसलाई पद्मश्री साहित्य पुरस्कार र प्रश्रितलाई पद्मश्री साधना सम्मान

नेपालखबर
असोज ११, २०७७ आइतबार ६:२६,

वि.सं. २०७६ सालको पद्मश्री साहित्य पुरस्कार समालोचक तथा उपन्यासकार सञ्जीव उप्रेतीको उपन्यास ‘हंस’ लाई प्रदान गरिने भएको छ।

त्यस्तै यस वर्षको पद्मश्री साधना सम्मान साहित्यकार मोदनाथ प्रश्रितलाई प्रदान गरिने भएको छ।

खेमलाल–हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानद्वारा प्रदान गरिने पद्मश्री साहित्य पुरस्कार र पद्मश्री साधना सम्मानको राशी रु. तीन लाख रहेको प्रतिष्ठानका अध्यक्ष जीवा लामिछानेले जनाएका छन्।

‘हंस’ उपन्यासमा लेखकद्वारा मानिसद्वारा निर्मित देश, कानुन तथा संस्कारले प्रेम र सम्बन्धमा बनाएको जटिलता अनि त्यसले मानिसलाई नै कसरी थिचिरहेछ र बोझ बनाइरहेछ भन्ने कुरा प्रकृति तथा हाँसको कथासँग जोडेर स्वैरकाल्पनिक शैलीका माध्यमबाट प्रस्तुत गरिएको प्रतिष्ठानले जनाएको छ।

‘छ दशकदेखि नेपाली काव्य, निबन्ध, नाटक, आख्यान, समालोचना तथा संस्कृति लेखनका माध्यमबाट समाज रुपान्तरण तथा राष्ट्रिय एकतामा महत्वपूर्ण योगदान पुर्‍याएका साहित्यकार मोदनाथ प्रश्रितलाई अर्पण गर्ने निर्णय गरिएको छ,’ अध्यक्ष लामिछानेद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘उनी पूर्वीय दर्शन तथा माक्र्सवादी विचारलाई वैज्ञानिक र वस्तुवादी ढङ्गले विश्लेषण गरी विश्व मानवता र बन्धुत्व जगाउने लेखक हुन्’ लामिछानेले भनेका छन्।

वि.स. २०६३ सालदेखि खेमलाल–हरिकला लामिछाने प्रतिष्ठान चितवनले नेपाली साहित्यका वर्षभरि प्रकाशित पुस्तकमध्ये निर्णायक मण्डलले उत्कृष्ट ठहर्‍याएको पुस्तकलाई प्रत्येक वर्ष पद्मश्री साहित्य पुरस्कार अर्पण गर्दै आएको प्रतिष्ठानले जनाएको छ।

त्यस्तै वि.सं. २०६७ सालदेखि प्रतिष्ठानले साहित्य, कला, सङगीत, अभिनय आदि क्षेत्रमा दीर्घ साधना गर्नुहुने वरिष्ठ साधकलाई पद्मश्री साधना सम्मान अर्पण गर्दै आएको छ।

लामिछानेका अनुसार दुवै सम्मान तथा पुरस्कार प्रत्येक वर्ष कोजाग्रत पूर्णिमाको दिन अर्पण गरिँदै आएकोमा यस पटक विषम परिस्थितिका कारण यसै वर्षभित्र अनुकूल समयमा अर्पण गरिनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .