ad ad

कला


गुरुदेव कामत : जसले चार दशक संगीतलाई दिए, उपचार नपाएर ज्यान गुमाए

काठमाडौँमा बसेर उपचार गर्न नसकेपछि परिवारसहित गाउँ फर्किएका थिए
गुरुदेव कामत : जसले चार दशक संगीतलाई दिए, उपचार नपाएर ज्यान गुमाए

लक्ष्मी बलायर
साउन १७, २०८१ बिहिबार १४:११, काठमाडौँ

शास्त्रीय संगीतका गुरु गुरुदेव कामत संसारबाट बिदा भएका छन्। मिर्गौला समस्याबाट पीडित उनले आज आफ्नो जन्म दिनकै दिन ६९ वर्षको उमेरमा अन्तिम सास फेरे।

कामतको जन्म २०१२ साउन १७ गते सिराहाको पोखरभिन्डामा भएको थियो। सिराहाको लक्ष्मीपुर पतारी गाउँपालिका–२, पोखरभिन्डास्थित आफ्नै निवासमा बिहीबार बिहान करिब साढे ७ बजे उनको निधन भयो। 

काठमाडौँमा बसेर उपचार गराउन नसकेपछि उनी गएको असार २९ गते मात्रै जन्मथलो फर्किएका थिए। डाइलाइसिस गराइरहेका उनको केही समयपछि मृगौला प्रत्यारोपण गर्ने कुरा थियो। 

उनका आफन्त महेश कामतले काठमाडौँमा उपचार खर्च धान्ने अवस्था नभएपछि गाउँ फर्किएको बताए। मुलुकका लागि जीवन समर्पित गरेका व्यक्तिले उपचार खर्च धान्न नसकेर गाउँ फर्किनु दुर्भाग्यपूर्ण भएको भन्दै उनले दुःख व्यक्त गरे। 

साहित्यकार तथा लेखक रोशन जनकपुरीले पनि सामाजिक सञ्जालमार्फत् कामतको उपचारमा राज्यले यथोचित सहयोग नगरेको आरोप लगाए।

कामत ६ वर्षकै उमेरदेखि संगीतको यात्रामा लागेका थिए। भारतबाट संगीतमा स्नाकोत्तर गरेर कामत २०४६ सालमा नेपाल फर्किएर गीत संगीतमा लागे। २०४९ सालमा रेडियो नेपालद्वारा आयोजित प्रतियोगितामा उनी प्रथम भएका थिए। 

२०५० सालमा पहिलो गीत ल्याएका कामतले तीन सयभन्दा धेरै नेपाली, मैथली, भोजपुरी र हिन्दी भाषाका गीतमा स्वर दिएका थिए। दर्जन बढी संगीत कम्पोज गरेका थिए। 

प्रबल जनसेवाश्री लगायत थुप्रै सम्मान पाएका कामतलाई मैथली गीत संगीतमा विशेष योगदान दिएको भन्दै मिथिला रत्नदेखि मधेस रत्न उपाधिबाट समेत सम्मानित गरिएको थियो।
 
झण्डै ४० वर्ष लामो सांगीतिक जीवनमा उनले २५ हजार जनालाई संगीत सिकाएका छन्। उनले गुरुकुल संगीत पाठशालासमेत सञ्चालन गर्दै आएका थिए। तर, कोरोना महामारीपछि पाठशाला सञ्चालनमा कठिनाइ भएको थियो। 

काठमाडौँमै भाडाको डेरामा बसेर उनले आफूसहित परिवारको जिम्मेवारी लिएका थिए। यस क्षेत्रमा लागेपछि नाम कमाए पनि आफूले पैसा कमाउन नसकेको उनी भन्ने गर्थे। काठमाडौँ बसाइँमा कमाएको जति सबै घरधनीलाई बुझाउनुपरेको उनले एउटा टीभीको अन्तर्वार्तामा बताएका थिए।

उनले गाएका ‘उठु और मैथिल भेलै भोर’, ‘धर्ती मैया हुर्केर हरल छौ’, ‘हमर सिन्दुरक धुल उडाक’, ‘वित-वित पर लक्ष्मण रेखा’, ‘कहाँ गैले सुरमा-सल्हेश’ निकै चर्चित गीत हुन्। 

त्यसैगरी मेरो हजुरको तनमा, तिमी नै भन, प्रेमको नशा, मैले खुसी पाउँदा लगायतका गीतमा पनि उनले स्वर दिएका थिए।

कामतका तीन छोरा, एक छोरी र श्रीमती छन्।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .