ad ad

कला


‘पिम नेपाल फिल्म फेस्टिभल’मा भुवन चन्दलाई दीर्घसाधना सम्मान, ककसले पाए अवार्ड?

आर्यन र प्रमिला उत्कृष्ट अभिनेता/अभिनेत्री
‘पिम नेपाल फिल्म फेस्टिभल’मा भुवन चन्दलाई दीर्घसाधना सम्मान, ककसले पाए अवार्ड?

नेपालखबर
असार १७, २०८० आइतबार ११:५१, काठमाडौँ

पहिलो नेपाली चलचित्र ‘आमा’की अभिनेत्री भुवन चन्दलाई दीर्घसाधना सम्मान प्रदान गर्दै पाँचौँ पिम नेपाल फिल्म फेस्टिभल भव्य रूपमा सम्पन्न भएको छ।

सांस्कृतिक संस्थानमा तीन दिनसम्म चलेको फेस्टिभलको समापन समारोहमा विभिन्न विधाका उत्कृष्ट चलचित्र, कलाकार तथा प्राविधिकहरूलाई अवार्ड प्रदान गरिएको हो। जहाँ आर्यन सिग्देल र प्रमिला कार्कीले उत्कृष्ट अभिनेता/अभिनेत्रीको अवार्ड प्राप्त गरेका छन्।

फेस्टिभलमा सिग्देलले चलचित्र डिसेम्बर फल्स र कार्कीले चलचित्र ‘बगान’बाट उक्त अवार्ड प्राप्त गरेका हुन्। यस्तै चलचित्र लाखे’बाट सम्राट बस्नेतले उत्कृष्ट फिचर फिल्म निर्देशकको अवार्ड प्राप्त गरे भने सर्वोत्कृष्ट फिचर फिल्मको अवार्ड चलचित्र ‘प्रकाश’बाट निर्देशक दिनेश राउतले प्राप्त गरेका छन्।

चलचित्र ‘प्रकाश’बाटै सर्वोत्कृष्ट फिचर फिल्म लेखकको अवार्ड विकास सुवेदीले प्राप्त गरे भने सर्वोत्कृष्ट भीएफएक्स आर्टिस्टको अवार्ड समिर मियाँले प्राप्त गरे। समारोहमा फिचर फिल्मतर्फको जुरी अवार्ड चलचित्र नम्बरी सुनले पायो भने, फिचर फिल्म निर्देशकतर्फको जुरी अवार्ड चलचित्र ‘डेशान’बाट कमल एक्चै मगर र बेस्ट एक्टर जुरी अवार्ड चलचित्र ‘लाखे’बाट रोहित रुम्बाले प्राप्त गरेका छन्।

उत्कृष्ट सर्ट फिल्मको अवार्ड ऐनाले प्राप्त गर्‍यो भने बेस्ट तामाङ फिल्मको अवार्ड आप्लेङ ला नाम्साबाट शेखर लामाले प्राप्त गरे। यस्तै बेस्ट भोजपुरी फिल्मको अवार्ड मधेशी पुत्र २ ले प्राप्त गर्दा, मैथली फिल्म समय के खेलाबाट विक्रम गुप्ताले अवार्ड हात पारे। त्यसैगरी नेपाल भाषाको फिल्म अवार्ड रोजिन महर्जनले चलचित्र उच्च शिक्षाबाट प्राप्त गरेका छन्। समारोहमा उत्कृष्ट चलचित्र पत्रकारको अवार्ड कुवेर गिरी उत्कृष्ट मनोरञ्जन पत्रकारको अवार्ड कृष्ण कँडेलले प्राप्त गरेका छन्।

समारोहमा विभिन्न विधामा उत्कृष्ट योगदान दिएका कलाकर्मीहरूलाई सम्मानसमेत गरिएको छ। समारोहमा निर्देशक ऋषिराज आचार्य, अभिनेता तेज गिरी, पत्रकार दीपक विहीन, चलचित्र पत्रकार सचित खड्का, लोकगायकद्वय रामकुमार नेपाली र अमृत भारतीलाई सम्मान गरिएको हो। 

निर्देशक माधवराज खरेल संयोजक रहेको निर्णायक कमिटीमा चलचित्र पत्रकार विजय रत्न तुलाधर, चलचित्र पत्रकार विष्णु सुवेदी, लोक गायक कुलेन्द्र विश्वकर्मा, गायक शिव परियार, मेकअप आर्टिस्ट विक्रम गौतम, सञ्चारकर्मी दीर्घराज उपाध्याय, सञ्चारकर्मी कमलनाथ अधिकारी र फिल्म अर्काइभिस्ट चिरञ्जीवी गुरागाईं थिए। निर्णायक समितिले अफिसियल सेलेक्सनमा परेका चलचित्रबाट विभिन्न मापदण्डका आधारमा उत्कृष्टको टुङ्गो लगाएको संयोजक खरेलले जनाएका छन्। 

आयोजक संस्था पावर नेपाल इन्टरनेसनल मिडिया नेपालका सल्लाहकार शान्तिप्रियको अध्यक्षतामा भएको समापन समारोहमा वरिष्ठ संगीतकार शम्भुजित बाँस्कोटा, वरिष्ठ अभिनेत्री वसुन्धरा भुसाल, वरिष्ठ अभिनेत्री चैत्यदेवी सिंह, राष्ट्रिय गानका रचनाकार व्याकुल माइला, कलाकार संघका अध्यक्ष मोहन निरौला, निर्देशक समाजका अध्यक्ष जनकदीप पराजुली, चलचित्र पत्रकार संघका अध्यक्ष समीर बलामी, चलचित्र नृत्यकार संघका अध्यक्ष जनक कार्की, वरिष्ठ निर्देशक ऋषि लामिछाने, चलचित्र निर्देशक सुचित्रा श्रेष्ठ, चर्चित गायिका देविका बन्दना, गायक सीताराम पोखरेल, कलाकार रश्मि भट्ट, नृत्य निर्देशक दिनेश पाख्रिनलगायतको उपस्थिति थियो। 

कार्यक्रमलाई सम्बोधन गर्दै फेस्टिभल निर्देशक कमला जोशीले आगामी वर्षमा अझ भव्य रूपमा सम्पन्न गरिने बताइन्। अवार्डलाई निष्पक्ष बनाउन आफूहरू निकै सजग रहेको उल्लेख गर्दै उनले फेस्टिभलका हरेक संस्करणलाई सबैले स्वीकार गरेको दाबी गरिन्।

यस्तै वरिष्ठ संगीतकार शम्भुजित बाँस्कोटाले फेस्टिभलका हरेक संस्करणले आफैँ यसको गरिमा बोलको भन्दै आफूले खासै बखान गरिरहन नपर्ने टिप्पणी गरे। बुधबार गणतन्त्र नेपालका प्रथम उपराष्ट्रपति परमानन्द झाले उद्घाटन गरेको फेस्टिभलमा अफिसियल सेलेक्सनमा परेका फिचर तथा सर्टफिल्म प्रदर्शन गरिएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .