मिस नेपाल भएको दुई वर्षपछि विवाह गरेँ। विवाह गर्दा मैले मिस नेपालको क्राउण्ड ह्यान्डओभर गरिसकेको थिइनँ।
मैले विवाह गरिसकेपछि सन् २००२ मा माल्भिका मिस नेपाल हुनुभयो। सायद म पहिलो विवाहित मिस नेपाल होला, जसले विवाहपछि आफ्नो क्राउन ह्यान्डओभर गरेकी थिएँ।
धेरैले क्राउनिङ पिरियडमा हुँदाहुँदै उषाले विवाह गरेको भन्नु हुन्छ। यो चाहिँ होइन। २००० को मिस नेपाल म, २००१ म दरबार हत्याकाण्ड भएकाले प्रतियोगिता हुन सकेन।
२००२ मा मैले विवाह गरेपछि बल्ल मिस नेपाल भयो। अनि मैले मेरो क्राउन माल्भिकालाई ह्यान्डओभर गरेँ।
मैले २२ वर्षको उमेरमा विवाह गरेँ। धेरैले यति छिट्टै किन विवाह पनि भनेर सोध्नु भयो। विवाहपछिको जर्नीको कुरा गर्दा हामी श्रीमान् श्रीमती मिलेर एउटै जान्थ्यौँ। त्यो अफिस उहाँको पहिलाबाटै थियो।
त्यो अफिसलाई इलाबे्रट गरेर त्यहाँबाट हामीले कामहरु गर्न थाल्यौँ। त्यो प्रोडक्सन हाउस हो। हामीले २००४ मा अफिस सेटअप गरेर अगाडि बढ्यौँ।
त्यसबाट हामीले आफ्नो प्रोडक्सनको काम, बाहिरको काम गथ्र्यौँ। म्यूजिक भिडिओभन्दा पनि टेलिभिजन कर्मसियलहरु बढी बनाउँथ्यौँ।
इभेन्ट म्यानेजमेन्ट कम्पनिको रुपमा स्थापित गर्यौँ। त्यसरी नै दुईजनाले काम गरेर अगाडि बढ्यौँ। २००९ पछि चाहिँ मैले सक्रिय रुपमा म्युजिक भिडिआो र टेलिभिजन कमर्सियलमा काम गर्न थालेँ।
प्रेमपछि अरेन्ज म्यारिज
मेरो लभ प्लस अरेन्ज म्यारिज हो। उहाँले मन पराएर प्रपोज गर्नु भइसकेपछि मैले मेरो परिवारमा कुरा राख्नु भने। उहाँले मेरो परिवारमा कुरा राखेपछि त्यसको झण्डै एक वर्षपछि हाम्रो विवाह भयो।
विवाह वैशाखमा भएको हो। हाम्रो विवाह साधारण भएको हो। त्यसमाथि ब्राह्मण र नेवार परिवारमा विवाह गर्दा सानातिना कठिनाई त आएका थिए।
त्यसका बावजुद सबै कुरा मिलाएर विवाह भयो। विवाहको १७ वर्षपछि अलग भइसकेका छौँ। अहिले छोरी १५ वर्ष र छोरा ६ वर्षका छन्। छोराछोरीहरु आमा र बुवा दुवैसँग राम्रो कम्युनिकेशनमा छन्।
डिभोर्सपछि प्रश्न
धेरैले मलाई अहिले प्रश्न गरिरहनु भएको छ, किन १७ वर्ष पछाडि डिभोर्स? किनभने लाइफ हो, हामीले कोशिश गर्दै जानुपर्छ भन्ने लाग्यो। त्यही कोशिशका क्रममा वैवाहिक जीवनलाई राम्रो गर्न अगाडि बढ्दै गयौँ।
कति ठाउँमा मेरै गल्ती हो कि, कति ठाउँमा मैले केही चिज त्यागिदिनाले अथवा मैले केही चिज सहिदिँदा राम्रो हुन्छ भने किन नगर्ने भनेर अगाडि बढ्दै गइयो।
जीवनमा जब तपाईंमाथि सानो पनि मेन्टल हिंसा अथवा शारीरिक हिंसा हुन्छ भने त्यो बेला नै हामीले स्टेप चाल्नु पर्दो रहेछ, जुन मैले गरिनँ।
र, त्यो क्रम पछि बढ्दै गइसकेपछि धेरै ठूलो रुप लियो। यहाँसम्म कि हात नै उठाउनेसम्म अवस्था आयो। त्यसपछि अब सकिन्न भन्ने भयो। किनभने हातै उठाइसकेपछि रिलेसनसिपमा सायदै केही बाँकी हुँदैन जस्तो लाग्छ मलाई। त्यसपछि मैले डिसिजन लिनु पर्यो, लिएँ।
छिटै बिहे नगर्नु
धेरै लामो कुरा नगरी अनुभवको आधारमा भन्नु पर्दा, यो दुई वर्ष डिभोर्सपछिको जर्नी भयो। यसमा धेरै उतारचढाव आए। धेरै कुरा आफ्नोबारे सुनियो। धेरै तँछाड–मछाड पनि भयो। सबै कुरालाई एकातिर राख्दा मलाई अब के लाग्छ भन्दा ‘जीवन हो भोग्नुपर्ने थियो भोगियो।’
तर म सधैँ भन्छु जोड्नभन्दा छुट्टिन धेरै गाह्रो हुने रहेछ। अर्को कुरा उहाँको र मेरो जीवन आफ्नो आफ्नो हिसावले अगाडि बढिरहेको छ। राम्रो होस्, भविष्य दुवैजनाको त्यही नै हो मैले भन्ने। मैले नयाँ पुस्तालाई सानो उमेरमा विवाह नगर्नु भन्छु। अर्को कुरा आफ्नो रिलेसनसिपलाई टाइम दिएर त्यो व्यक्ति र आफूलाई अनि आफ्नो रिलेसनसिपलाई बुझेर मात्रै विवाह गर्नु पर्छ या त्यसलाई अगाडी बढाउनुपर्छ जस्तो लाग्छ। मेरो अनुभवमा जम्मा एक/डेढ वर्षको हाम्रो चिनजान र एकदमै काँचो उमेरमा विवाह भयो।
सायद त्यो कारण नहुन पनि सक्छ, हुन पनि सक्छ। त्यो पनि हो जस्तो मलाई लाग्छ। र अर्को कुरा एक–अर्कामा रेस्पेक्ट हुनु पर्छ। हामीले एक–अर्कालाई रेस्पेक्ट गर्न नसक्दा सम्बन्धमा समस्या आउँछ।
एउटाले मात्रै कोसिस गरेर अर्कोले नगर्दा पनि समस्या आउँछ। अर्को कुरा कम्प्लेन धेरै गर्दिनाले पनि मान्छेमा समस्या आउँछ। आफू चाहिँ सुपिरियर, अगाडिको मान्छेमा मात्रै खोट निकालेर मात्रै जीवन अगाडि बढ्दैन। सम्बन्ध अगाडि बढ्दैन।
हामी सबै मान्छे हौँ, हामी सबै सतप्रतिशत कोही छैनौँ। सबैमा सानातिना कमजोरी छन्। एकजनाले आफूलाई सुपिरियर ठानिरह्यो, अर्कोले दोषी ठानिरह्यो भने रिजल्ट राम्रो हुँदैन। यसमा मलाई लामो भन्नु छैन। सम्बन्ध सक्किएको छ। जीवनमा राम्रो होस् भन्ने मात्रै सोच छ मेरो।
बुटिक छोडेको छैन
बुटिक खोलेको १० वर्ष भयो। सन् २०११ मा बुटिक सुरु गर्दा सानो थियो। मेरो व्यस्तताले समय दिन पाएको थिइनँ। त्यो कारणले सुरुमा पार्टरसिपमा काम गर्यौँ। पार्टनरसिपमा काम गर्दा गाह्रो, सजिलो दुबै भयो। तर मेरो विचारमा गाह्रो अवस्थालाई नजरअन्दाज गर्दै बुटिकको बेस्टको लागि, आफ्नो बेस्टको लागि अनि परिवारको लागि समय दिने गरी अगाडि बढिरहेँ। तर दुई वर्षअगाडि बुटिकको पार्टनरसिप छोडेर एक्लै सञ्चालन गरिरहेको छु।
धेरैले मलाई डिभोर्सपछि बुटिक छोड्नु भएको हो भनेर प्रश्न गरिरहनु भएको छ। पक्कै पनि होइन, मेरो बुटिक त्यहीँ छ। मात्रै नाम परिवर्तन भएको हो। पहिला युआर स्टाइलिस्ट थियो। अहिले उषा स्टाइलिस्ट राखेको छु।
किन डिभोर्स?
डिभोर्सपछिका दिनमा धेरैले प्रश्न गर्नुहुन्छ, मलाई कत्तिको गाह्रो भयो, कत्तिको सजिलो भयो? बच्चालाई लिएर हिँड्न भनेर गाह्रो त आफ्नो ठाउँमा छ। सजिलो पनि आफ्नो ठाउँमा छ। गाह्रो–सजिलो भन्दा पनि पिस लाइफका लागि अगाडि बढेको हो।
आर्थिक रुपमा गाह्रो भएको थियो। हुन्छ पनि। धेरैले रिलेट गर्न सक्नु हुन्छ। त्यो क्रममा मेरो विजनेश पनि छ। जे जति छ त्यसमा पहिलाको जति खर्च नगरेर साधारण किसिमले बढ्न सकिन्छ। केही समयपछि सामान्य हुन्छ भनेर अगाडि बढेँ। दुवैको पढाईका लागि उहाँले हेर्नु हुन्छ, मैले पालनपोषण हेर्छु, त्यसमा बच्चाहरुको ड्याडी र ममा समझदारी छ। सुरुमा इगो क्लास, अथवा कसैले कान भरेर पनि होला अलिकति आर्थिक गाह्रो भएको थियो। कोर्टको पुलिस स्टेजन गर्दा मानसिक तनाव भएको थियो। तर केही समयदेखि नर्मल छ।
बच्चाहरुको रेखदेख, बुटिकको समयसँगै मिडिया मानेजमेन्टमा पुनः फर्केको छु। टेलिभिजनमा अन्तरवार्ताको एउटा कार्यक्रम गर्न खोजिरहेको छु। सँगसँगै म्यूजिक भिडियोमा एक्टिभिली काम गरिरहेको छु। केही समयमै मेरो दुईवटा म्यूजिक भिडियो रिलिज हुँदैछ।
फर्किएर हेर्दा
पछाडि फर्किएर जीवनलाई हेर्दा रोलर कस्टड जस्तो रहेछ। कहिले स्मुथ हुने, कहिले ह्वात्तै तल जाने, कहिले ह्वात्तै माथि आउने। र, मैले सधैँ मोटिभेट लाइन लिएर हिँडेको छु, जे हुन्छ राम्रोका लागि हुन्छ, आफ्नो अडानमा बस्न जरुरी छ। त्यसैले अब जे भयो, राम्रो भयो, जे भैरहेछ राम्रो भैरहेछ, जे हुन्छ, राम्रो हुन्छ। र, जीवन एकदमै राम्रो छ।
एकपटक पाइने जीवन हो, खुशी भएर, दुःखी भएर, रोएर होइन जसरी पनि बाँच्नै पर्छ जस्तो लाग्छ। अर्को जुनी कसैले पनि देखेको छैन। अर्को जुनी हुन्छ, हुँदैन पनि थाहा छैन। म यो जीवनमा अर्को जुनीका लागि भनेर दुःख खेपेर बाँच्न तयार छैन। जीवन सुन्दर छ। यसलाई हामीले बाँच्नै पर्छ। र, खुशीका साथ बाँच्नु पर्छ।
अनि रोएँ...
म जीवनमा त्यत्ति रुने मान्छे होइन। एकदमै गाह्रो भएपछि मात्रै म रुने हो। र, एकदमै धेरै खुशी भएपछि पनि रुन्छु। म मिस नेपाल जस्तो ताज जित्दा त नरोएको मान्छे। डिभोर्सपछि धेरै रोएँ।
डिभोर्सको डिसिजन लिँदा, त्यो डिसिजनसम्म आइपुग्दाको क्षणमा धेरै रोएँ। सन् २००९ मा म सुसाइड अटेम पनि गरेको मान्छे हो। मैले सम्बन्ध अगाडि लान सक्दिनँ, मलाई एकदमै गाह्रो भयो भन्ने हिसावले मैले त्यो प्रयास गरेँ।
म सायद बेवकुफ थिएँ, या मैले आफ्नो इमोशन कन्ट्रोल गर्न सकिन थाहा छैन। तर त्यो गलत डिसिजन पनि मैले लिएको थिएँ। धन्न मलाई केही भएन। त्यसपछि चाहिँ मैले बाँच्नुपर्छ भन्ने हिसावले जीवनलाई स्ट्रोङ बनाएर अगाडि बढाउँदै यहाँसम्म ल्याएँ। म स्ट्रोङ पनि धेरै भएँ।
मलाई अब सानोतिनो कुराले केही हुँदैन भन्ने भयो। र, जीवनमा रोएको भनेको नै त्यो डिसिजन लिने समय र डिसिजन लिनु अघिका केही वर्ष थियो। बच्चाहरुको कुराले आमा हुँ रुन आउँछ। नत्र खासै रुने मान्छे चाहिँ म होइन।
डिभोर्सको डिसिजन साधारण मान्छे भएको भए छिट्टो लिन्थेँ जस्तो महसुस भयो। किनभने म मिस नेपाल हो, मलाई नेपाल र नेपालबाहिर धेरैले चिन्नु हुन्छ। सबैले गरेको नकारात्मक कमेन्टलाई सायद म खप्न सक्दिनँ की भन्ने डर मनमा थियो।
त्यो समय आफूलाई काउन्सिलिङ गर्न एकदमै गाह्रो भएको थियो। मैले यो सोचिनँ की मेरो जीवन बाँच्नु पर्छ, मेरो लागि मैले गर्नु पर्छ, छोराछोरीका लागि मैले गर्नु पर्छ भनेर। मलाई समाज र दुनियाँको धेरै डर लाग्यो, सायद त्यो कारणले पनि दुईचार वर्ष रोकिएको हो। त्यतिबेला चाहिँ मलाई महसुस हुन्थ्यो, म मिस नेपाल नभएको भए डिसिजन लिसक्थेँ। अति भइसकेपछि जसले जेसुकै भनोस्, अब सकिन्न भनेर म अगाडि बढेको हो।
कुरा गर्दा ममीबुवाले एउटै भन्नुहुन्थ्यो ‘मिस नेपाल हो दुनियाँले चिन्छ, दुईचारजनाले चिने पो तिमीले सबैलाई जवाफ दिन सक्छौ, साराले चिन्छ, सबै सेलिब्रेटी उस्तै हो भनेर तैँले पनि सुन्नु पर्छ, हामीले पनि सुन्नु पर्छ भन्दा असाध्यै गाह्रो भएको थियो।
तर पछि मैले आफूलाई एउटै कुराले मोटिभेट गरेँ, म मिस नेपाल भन्दा पहिला व्यक्ति हो। म व्यक्ति हो, म महिला हो, म मान्छे हो, मेरो फिलिङस हो। भोलि म नै बाँचिन भने मिस नेपाल कता गयो? आमा बुवाको छोरी कता गयो?, त्यो सबै सेकेन्ड कुरा हो। मैले चाहिँ मभित्रको मलाई पहिला हेर्नुपर्छ अनि मात्रै उषा खड्गी, मिस नेपाल, उत्तम खड्गी र उर्मिला खड्गीको छोरी हेर्नुपर्छ जस्तो लाग्यो।
त्यही कारणले अगाडी बढे। मैले अहिले माया पाइरहेको छु। कसैले हेट गर्छन् भने पनि स्वीकार गरेर अगाडि बढ्छु। सके स्पष्टीकरण दिन्छु नसके जरुरी छैन। जतिले माया गर्नुहुन्छ उहाँहरुले सायद सधैं गर्नुहुन्छ। नगर्नु हुनेले सधैँ गर्नु हुन्न। त्यो सोचेर अगाडि बढेको छु। डिसिजनपछि जसन माया सम्मान, सपोर्ट पाए त्यसको लागि दोष कसैको छैन। मेरो जीवनको भोगाइ यस्तै रहेछ। यहाँहरु सबैले कुरालाई बुझिदिनु भयो। खुशी लाग्छ।
पूर्व मिस खड्गीले ओके छ नेपालसँग गरेको कुराकानीको भावानुवाद
Shares
प्रतिक्रिया