गायिका समीक्षा अधिकारीले सोमबार राति मन दुखाएर स्टाटस लेखिन्। जहाँ उनले बाँच्न गाह्रो भएको निराशा व्यक्त गरिन्। तर लेखेको केही मिनेटमै उनले त्यो स्टाटस हटाइन्। तर त्यसको स्क्रिनसर्ट सामाजिक सञ्जालमा अहिले पनि भाइरल भइरहेको छ।
समीक्षाले उक्त स्टाटस लेखेको अघिल्लो दिन मात्रै एउटा दोहोरी गीत सार्वजनिक भएको थियो। जसमा समीक्षाले पछिल्लो समय भोगेका कुरालाई नकारात्मक रुपमा टुक्का बनाएर गाइएको छ। अहिले सामाजिक सञ्जालमा बालगायिका कमला घिमिरेले गाएको उक्त गीत र समीक्षाको स्टाटसको स्क्रिनसर्ट जोडेर चर्चा भइरहेको छ।
कमलाको उक्त गीतलाई समाजिक सञ्जालमा बहिष्कार गरिएको छ। ‘छहारी’नामक युट्युब च्यानलमा सार्वजनिक लाइभ दोहोरीका कतिपय टुक्काप्रति नाम चलेका मान्छेले नै प्रश्न गरिरहेका छन्। लोकदोहोरी क्षेत्रका कलाकारहरूले सानो उमेरमै त्यो खालको दोहोरी गाउनु र गाउन लगाउनु गलत भएको प्रतिक्रिया दिएका छन्।
डलरको लोभमा लाइभ दोहोरीमा कलिलो उमेरका बालकलाकारको प्रयोग बढेको भन्दै कतिपयले चिन्तासमेत व्यक्त गरेका छन्।
लोक गायक राजु ढकालले उक्त दोहोरी हेरेपछि सामाजिक सञ्जालमा लेखेका छन्, ‘त्यो कमला घिमिरे नानुले गाएको शब्द कुनै विद्वान्ले सिकाइदिएको होला कि आफैँ भनेकी होलिन् भनेर सोच्दासोच्दै निन्द्रै लागेन। डलरको लागि ती कलिला मुनाहरुलाइ प्रयोग गरेर उनीहरुको सोचाइभन्दा परको कुरा स्क्रिप्ट बनाई गाउन लगाउनी सबैलाइ हार्दिक श्रद्धाञ्जली।’
गायिका जमुना सनमले उक्त दोहोरी हेरेर आफूलाई लाज लागेको बताएकी छन्। अर्का लाइभ दोहोरी गायका रविन लामिछानेले दोहोरीलाई मजाक बनाउन नहुने टिप्पणी गरेका छन्।
यता राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका अध्यक्ष रमेश बिजीले घुमाउरो शैलीमा लेखेका छन्, ‘अमर श्रष्टा कल्याण शेरचन दाइ भन्नुहुन्थ्यो – संगीत भनेको संगत हो। संगत भएन भने पनि संगीत वितरा पर्न सक्छ।’
अर्का स्रष्टा नकुल ढकाल लेख्छन्, ‘प्रिय बहिनी कमला तिमीलाई समीक्षाले बोकेको पीडा बोक्न नपरोस्। समीक्षा गलत होलिन्, तर उनी उमेरले नादान थिइन्, पल शाहा त्यति माथि पुगेको मान्छेले कानुन नबुझ्नु पलको कमजोरी हो।’
सार्वजनिक उक्त गीत कमला घिमिरे र सुमन परियारले गाएका हुन्।
Shares
प्रतिक्रिया