अञ्जना बराइली– बक्स अफिसमा राम्रो कमाइका साथ प्रदर्शन भैरहेको फिल्म ‘महापुरुष’मा देखिएको नयाँ अनुहार हुन्। उनले यही फिल्मबाट रंगीन दुनियाँमा पाइला राखेकी हुन्। ठीकैको अभिनय गरेकी अञ्जनाको डेब्यु फिल्म नै बक्स अफिसमा हिट भैदियो। यसले उनको करिअरलाई पक्कै प्लस गर्नेछ।
भर्खर उद्योगमा देखिएकी अञ्जना करिअरमा सिरियस छिन्। करिअरमा जस्तै पहिरनमा पनि उनी सिरियस नै देखिन्छिन्। उनी फिल्म, म्युजिक भिडिओ तथा कार्यक्रमहरूमा जाँदा फेसन डिजाइनरले तयार पारेका कपडा लगाउँछिन्।
फिल्म तथा म्यूजिक भिडिओमा पात्र अनुसारको पहिरन लगाउनुपर्छ। पात्रलाई न्याय दिन पहिरनले ठूलो भूमिका खेल्ने भएकाले उनी फेसन डिजाइनरकै सल्लाहमा कपडा तयार पार्छिन्। घरमा बस्दा र घुमफिर गर्दा भने उनी आफूलाई सजिलो लाग्ने पहिरन लगाउँछिन्।
भन्छिन्, ‘म प्रायः ट्रयाकसुटमा आफूलाई सहज महसुस गर्छु । किनकि ट्रयाकसुटमा हिँड्न सजिलो हुन्छ। कहिलेकाहीँ पाइन्ट–टिसर्ट, कुर्था पनि लगाउँछु। ठाउँ र समय हेरेर पहिरन हेर्ने कुरा त छँदै छ।’
कम्फर्टेबल कपडाले कन्फिडेन्ट समेत बढाउने अञ्जनाको तर्क छ। त्यसैले उनी पहिरन छनोटमा विशेष ध्यान दिन्छिन्। कपडा छान्दा उनी बजारमा चलेको ट्रेन्डको पछि त्यति धेरै लाग्दिनन्। भन्छिन्, ‘अरुलाई सुहाएको कपडा मलाई नसुहाउन सक्छ।’
Shares
प्रतिक्रिया