दुईवटा वडाको मतगणना मात्र बाँकी रहँदा जनकपुरधाम उपमहानगरपालिकामा मेयर पदका स्वतन्त्र उम्मेदवार मनोज साह जितनजिक छन्।
पछिल्लो मतगणनाअनुसार कांग्रेसका बागी एवम् स्वतन्त्र उम्मेदवार मनोजले १२ हजार २८३ मत ल्याएका हुन्।
उनलाई नेकपा एमालेका शिवशंकर साह हीराले ९ हजार ३०३ मत ल्याएर पछ्याइरहेका छन्।
२५ वटा रहेको उपमहानगरपालिकामा २३ वटा वडाको मतगणना सम्पन्न भइसकेको छ।
वडा नं. १४ र मनोजकै घर रहेको वडा नं. १५ को मतगणना जारी छ। वडा नं. १४ र १५ मा कांग्रेसको राम्रो पकड र ३ हजार मतले अगाडी रहेका कारण स्वतन्त्र उम्मेदवार जित नजिक पुगेका छन्।
हालसम्म लोकतान्त्रिक समाजवादी पार्टीका मनोज चौधरीले ५ हजार १६ मत ल्याएका हुन्।
सत्ता गठबन्धनको तर्फबाट जनता समाजवादी पार्टीबाट मेयरमा उम्मेदवारी दिएका निवर्तमान मेयर लालकिशोर साहले ४ हजार ८०६ मतसहित चौथो स्थानमा छन्।
यस्तै, स्वतन्त्र उम्मेदवार निर्माण व्यवसायी बलराम महतो ३ हजार ७३४ मत सहित पाँचौँ स्थानमा छन्।
उपमेयरतर्फ गठबन्धनको तर्फबाट कांग्रेसका उम्मेदवार किशोरी साह १४ हजार ८३२ मत पाएका हुन्। उनी पनि जित नजिक पुगेका छन्।
उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी रुना झाले १० हजार ५३४ मतसहित दोस्रो स्थानमा रहेकी छन्।
यस्तै, निवर्तमान उपमेयर लोसपाकी रीता कुमारी मिश्र ५ हजार २५४ मतसहित तेस्रो स्थानमा रहेकी छन्।
मेयर पदमा जित नजिक पुगेका मनोज काँग्रेसबाट विद्रोह गरी स्वतन्त्र उम्मेदवारी दिएका थिए।
गत २०७४ को स्थानीय निर्वाचनमा काँग्रेसबाट मेयर पदमा उम्मेदवारी दिएका उनी निकटतम प्रतिद्वन्द्वी बन्न सकेका थिए।
पाँच वर्षदेखि फेरि मेयरमा चुनाव लड्ने तयारी उनले गरिरहेका थिए।
कांग्रेस एकलै जित्न सक्ने अवस्थामा पनि देउवाले जनकपुरमा पाँच दलीय गठबन्धनको भागबण्डामा मेयर जसपाको भागमा दिएपछि मनोज विद्रोह गर्दै स्वतन्त्र उम्मेदवारी दिएका थिए।
Shares
प्रतिक्रिया