प्रतिनिधिसभा समानुपातिकतर्फ अहिलेसम्म कूल ११ लाख ६२ हजार १ सय २४ मत पाएको नेकपा माओवादी केन्द्रले जिल्लागत रूपमा सबैभन्दा धेरै मत सर्लाहीबाट प्राप्त गरेको छ।
देशका ७७ जिल्लामध्ये सबैभन्दा धेरै मत सर्लाहीबाट पाएको माओवादी केन्द्रले सबैभन्दा कम मत मनाङमा पाएको छ। मनाङबाट माओवादी केन्द्रले १ सय ३३ मत मात्रै प्राप्त गरेको छ।
सर्लाहीमा समानुपातिकतर्फ माओवादी केन्द्रले एमालेले भन्दा धेरै मत प्राप्त गरेको हो।
पहिलो स्थानमा रहेको कांग्रेसले सर्लाहीमा ४८ हजार ३ सय ३७ समानुपातिक मत पाउँदा दोस्रो स्थानमा रहेको माओवादी केन्द्रले ४५ हजार ६ सय २६ मत पाएको छ। एमालेले सर्लाहीमा माओवादीको भन्दा ७ हजार कम मत पाएको छ। एमालले सर्लाहीबाट ३८ हजार ३ सय १३ मत मात्रै प्राप्त गरेको हो।
गोरखा, रुकुम पश्चिम, कालिकोट र रोल्पा जिल्लामा समानुपातिकतर्फ माओवादी केन्द्रले पहिलो मत पाए पनि ती जिल्लामा मतदाता नै कम छन्। मतदाता नै कम भएका कारण ती जिल्लामा मतदान पनि कम भएको हो।
माओवादीले सर्लाहीमा प्राप्त गरेको मत काठमाडौं उपत्यकाका तीन जिल्ला (काठमाडौं, ललितपुर र भक्तपुर) उसले पाएको भन्दा झण्डै १० हजार बढी छ।
काठमाडौंबाट माओवादीले १७ हजार ७ सय ५२ मत पाएको छ भने ललितपुरबाट १४ हजार ८३ र भक्तपुरबाट ४ हजार १ सय ३५ मत पाएको छ।
मधेश प्रदेशमा प्रतिनिधिसभाको समानुपातिकतर्फ सबैभन्दा धेरै मत कांग्रेसले पाएको छ। कांग्रेसले मधेशबाट ४ लाख ३४ हजार ९ सय ७१ मत प्राप्त गर्दा एमालेले ३ लाख ७१ हजार ७ सय ९ मत पाएको छ।
त्यसैगरी मधेश प्रदेशबाट जसपाले २ लाख ९८ हजार ३ सय ४४, जनमत पार्टीले २ लाख ९६ हजार ४ सय ४८, माओवादी केन्द्रले १ लाख ७९ हजार ८ सय ७०, लोसपाले १ लाख ९ हजार ३ सय ९०, एकीकृत समाजवादीले १ लाख ७ हजार ८४ मत प्राप्त गरेका छन्।
माओवादी केन्द्रले गोरखाबाट ३७ हजार ४ सय ७१, कालिकोटबाट १४ हजार २ सय २९, रुकुम पश्चिमबाट ३४ हजार ३ सय ४७ र रोल्पाबाट २८ हजार १ सय ५९ मत प्राप्त गरेको छ।
Shares
प्रतिक्रिया