महोत्तरीको बर्दिबास नगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार प्रह्लादकुमार क्षेत्री विजयी भएका छन्।
क्षेत्री १४ हजार २१० मत ल्याएर स्वतन्त्रबाट मेयर पदमा निर्वाचित भएका हुन्। कांग्रेसबाट बागी उठेका क्षेत्रीले ४ हजार ४७४ मतअन्तरले नेकपा माओवादी केन्द्रका उम्मेदवार राजु खड्कालाई पराजित गरे। खड्काले ८ हजार ३२३ मत प्राप्त गरेका छन्।
त्यस्तै क्षेत्रीकै प्यानलबाट उपमेयर पदकी स्वतन्त्र उम्मेदवार तारादेवी महतो पनि निर्वाचित भएकी छन्। महतो ९ हजार ७३६ मत ल्याएर विजयी भएकी हुन्। महतोकी निकटतम प्रतिद्वन्दी कृष्ण माया गौतमले ८ हजार १८५ मत ल्याइन्।
क्षेत्रीकै स्वतन्त्र प्यानलबाट बर्दिबासको चारवटा वडाको वडाध्यक्ष समेत निर्वाचित भएका छन्। वडा नम्बर १ मा भोला खड्का, वडा नं ७ मा रामस्वगारथ यादव वडा नं १३ मा लक्ष्मण सिंह र वडा नं १४ मा विजयकुमार महतो वडाध्यक्ष निर्वाचित भएका हुन् ।
मनोनयन दर्ताको दिन कांग्रेस सभापति देउवाले क्षेत्रीलाई पार्टीबाट टिकट दिएनन्। चिरन्जीवी हमाललाई कांग्रेसले टिकट दिएपछि क्षेत्री पार्टीबाट विद्रोह गर्दै समूह बनाएर वडा नं १ देखि १४ सम्म स्वतन्त्र उम्मेदवारी दर्ता गराएका थिए।
क्षेत्रीको समूहले मेयर, उपमेयर र चारवटा वडाध्यक्ष जिते पनि कांग्रेसका अधिकारिक उम्मेदवार उम्मेदवार चिरञ्जीवी हमाल भने मात्र १ हजार २६३ मत पाए।
कांग्रेसबाट उपमेयरकी आधिकारिक उम्मेदवार अमिनकुमारी महतोले १७५८ मत ल्याएकी छन्।
मतपरिणाम अनुसार बर्दिबासमा माओवादी केन्द्र दोश्रो, एमाले तेश्रो र कांग्रेस चौथो भएका छन्।
बर्दिबास नगरपालिका नेकपा माओवादीको आधार क्षेत्र थियो।
Shares
प्रतिक्रिया