मिथिला नगरपालिकामा नेकपा (एमाले) भित्र विवाद भएको छ।
आइतबार लालगढस्थित पुकार होटेलमा बसेको चुनाव परिचालन मूल कमिटीको बैठकमा अचानक एमाले केन्द्रीय सचिव रघुवीर महासेठ पुगेपछि विवाद भएको हो।
नेता महासेठ पुगेपछि निवर्तमान मेयर हरिनारायण महतो पक्षका असन्तुष्ट कार्यकर्ता चर्को विरोध गर्दै कालोमोसो दल्नेसम्मको हुलहुज्जत गरेपछि विवाद भएको बैठकमा सहभागी एक नेताले बताए।
विवादमा हातहालाहालको अवस्था सृजना भएपछि बैठक स्थगित गरिएको छ। बाहिरबाट हरिनारायण पक्षका समर्थकहरू पुगेपछि सो स्थलमा तनाव सिर्जना भएको थियो। इलाका प्रहरी कार्यालय ढल्केबरबाट प्रहरी बैठक स्थलमा पुगेको थियो।
‘टिकटमा चलखेल गर्ने रघुवीर महासेठ किन कमिटीको बैठकमा आए, कालोमोसो दल्नुपर्छ लगायतका गालीफजिती गर्न थालेपछि विवाद भयो। हात हालाहालको अवस्था सिर्जना भएपछि बैठक स्थगित भयो’ ती नेताले नेपालखबरसँग भने।
एमाले नगर कमिटी, प्रदेश क्षेत्रले प्रमुख पदको उम्मेदवारका लागि हरिनारायणको एकल सिफारिस गरेको थियो। तर हरिनारायणलाई पाखा लगाएर मनोनयन दर्ताको अन्तिम दिन टिकट राजाराम महतोलाई दिएको थियो।
हरिनारायणले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका थिए। पछि केपी शर्मा ओलीले व्यवस्थापन गर्ने आश्वासन दिएपछि उनले शुक्रबार उम्मेदवारी फिर्ता लिएका थिए।
हरिनारायणको भएको सिफारिस निर्णयलाई राजारामको नाम राखेर पुरानै मितिमा निर्णय गर्न खोजेपछि विवाद भएको नगर कमिटी सदस्य कामेश्वर महतोले बताए।
चुनावको तयारीका लागि रामकुमार महतोको संयोजकत्वमा एमालेले मिथिला नगरपालिकामा ५०१ सदस्यीय चुनाव परिचालन मूल समिति गठन गरिसकेको छ।
विवादस्थलमा हरिनारायण पनि पुगेका थिए।
Shares
प्रतिक्रिया