विदेशी लगानीकर्ताले नेपालमा गरेको लगानीबाट पाउने प्रतिफलले उनीहरुको थप लगानीलाई प्रोत्साहन गर्छ।
नेपालले विदेशी लगानी आकर्षण गर्न भरपूर प्रयास गरिरहेको छ। त्यसको लागि नेपालमा पटक–पटक लगानी सम्मेलन समेत भइसकेको छ।
विदेशी लगानीकर्ता आकर्षण गराउने प्रमुख सूचक भनेको यहाँबाट पाउने प्रतिफल नै हो। तर विदेशी लगानीकर्ताहरुले नेपालबाट पाउने प्रतिफलमा भने उच्च गिरावट आएको देखिएको छ। नेपालबाट अघिल्लो वर्षको तुलनामा गत आर्थिक वर्ष १० अर्ब रुपैयाँ रकम कम विदेश गएको हो।
नेपालबाट अघिल्लो आर्थिक वर्षमा २८ अर्ब रुपैयाँ विदेश गएको थियो। तर गत वर्ष भने जम्मा १८ अर्ब रुपैयाँ हाराहारीमा गएको देखिएको छ। नेपालबाट विदेश जाँदा भने विदेशी मुद्रामा नै जाने गरेको छ। उक्त रकम नेपाली मुद्रामा मूल्याङ्कन गर्दा १८ अर्ब रुपैयाँ हाराहारीमा गएको देखिएको हो।
गत आवमा १३ अर्ब ६६ करोड रुपैयाँ लाभांशबापत गएको देखिएको छ। त्यस्तै रोयल्टीमार्फत भने ४ अर्ब ६४ करोड रुपैयाँ गएको देखिएको हो। गत आर्थिक वर्षभरिमा नेपाल राष्ट्र बैंकले १८ अर्ब ३० करोड रुपैयाँ स्वीकृत गरेको हो। अघिल्लो आर्थिक वर्षमा भने उनीहरुले २८ अर्ब ३ करोड रुपैयाँ लगेका थिए।
नेपाल राष्ट्र बैंकबाट नेपालखबरलाई उपलब्ध तथ्याङ्कअनुसार गत आर्थिक वर्षमा १ सय २१ पटक रोयल्टी लगेका छन्। १ सय १२ पटक राष्ट्र बैंकले रोयल्टी रकम स्वीकृत गर्दा ४ अर्ब ६४ करोड रुपैयाँ देखिएको हो।
त्यस्तै लाभांश विभिन्न कम्पनी गरेर २८ पटक लगेको देखिएको हो। २८ पटकमा १३ अर्ब ६६ करोड रुपैयाँ देखिएको हो।
विदेशी लगानीकर्ताले कमाउने नाफा घटेको हो?
विदेशी लगानीकर्ताले कम प्रतिफल लगेको आधारमा उनीहरुले यहाँ आर्जन गर्ने नाफा घटेको भन्ने नभएको राष्ट्र बैंकले बताएको छ।
राष्ट्र बैंकका एक अधिकारी विदेशी लगानीकर्ताले विदेश रकम लगेको कम नै देखिने बताउँछन्।
उनले भने, ‘विगतमा लगेका विवरणहरु समेत मूल्याङ्कन गर्ने हो भनेचाहिँ यहाँ रोकिएको पनि हुनसक्छ। त्यस्तै उनीहरुलाई जहिले जुन अवस्थामा पनि पैसा लान पाउने छुट छ।’
त्यसकारण नाफा नै कम भएको भन्न नमिल्ने उनको भनाइ छ।
तर विगतमा उनीहरुले जति पटक लान्थे र गत आर्थिक वर्षमा जति पटक लगेको देखिन्छ। त्यसले भने नाफा नै गिरावट भएको हुनसक्ने देखिन्छ।
ती अधिकारीका अनुसार अघिल्लो वर्ष रोयल्टी र लाभांश गरेर ७९ पटक लगेको देखिन्छ। तर गत आर्थिक वर्षमा १ सय ५९ पटक पैसा लगेका छन्।
‘त्यसले भने नेपालबाट उनीहरुले पाउने प्रतिफलमा केही कमी भएको भन्नेचाहि देखाउँछ’, उनले भने।
राष्ट्र बैंकले स्वीकृत गरेको आधारमा अघिल्लो आर्थिक वर्ष र यो वर्ष उस्तै प्रकारबाट विदेशमा रकम गएको छ। अघिल्लो आर्थिक वर्षमा एनसेल, सूर्य नेपाल, गोर्खा ब्रुअरीजस्ता कम्पनीहरुले धेरै रोयल्टी लगेका थिए। यो वर्ष पनि सोही कम्पनीले धेरै रकम विदेश लगेको देखिएको हो।
त्यस्तै लाभांश धेरै लानेमा डाबर नेपाल, युनिलिभरजस्ता कम्पनी छन्।
यस्तो छ नाफा लैजाने व्यवस्था
विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन २०५७ को दफा २० को उपदफा २ बमोजिम कम्पनीको साधारणसभाले गरेको लाभांश वितरण गर्ने निर्णयको प्रतिलिपि, सञ्चालक समितिको निर्णयको प्रतिलिपि, लेखापरीक्षण प्रतिवेदन, करचुक्ता, कर कार्यालयमा पुँजीगत लाभकर तिरेको रसिद, लाभांश लैजाँदा लाग्ने कर तिरेको रसिद, सञ्चालक लागतको विवरण, कम्पनी दर्ता, नियमावली, प्रबन्धपत्र पेश गरेको खण्डमा उद्योग विभागले विदेशी लगानीकर्तालाई रकम लैजान स्वीकृति प्रदान गर्छ।
सोबमोजिम नेपाल राष्ट्र बैंकसँग जुन मुद्रामा विदेश रकम जाने हो, त्यसको सहमति लिएर विदेश पैसा लाने प्रक्रिया अपनाउन सकिन्छ। त्यस्तै सेयर बिक्रीमार्फतको रकम लानको लागि कम्पनीको कर्जा कालोसूचीमा नरहेको प्रमाणपत्र समेत आवश्यक पर्छ। लाभांश रकम विदेश लाँदा २५ प्रतिशत कर तिर्नुपर्ने व्यवस्था छ।
Shares
प्रतिक्रिया