पछिल्लो समय नोटको समग्र फ्लो (प्रवाह) बजारमा कमी हुँदै गइरहेको नेपाल राष्ट्र बैंकले जनाएको छ।
नोट भुक्तानीमा नै ह्रास हुँदै गएकोले यसको बजारमा फ्लो कम भएको हो।
केन्द्रीय बैंकका अनुसार एक वर्ष अवधिमा ११ दशमलव ६ प्रतिशतले बजारमा नोट घटेको छ।
अहिले बजारमा ५ खर्ब ५ अर्ब ९० करोड रुपैयाँबराबरका नोटहरु बजारमा रहेका छन्। तर गत वर्ष सम्ममा ५ खर्ब ७१ अर्ब ९६ करोड रुपैयाँबराबरको नोट बजारमा थिए।
आर्थिक वर्ष २०७७/०७८को तुलनामा आर्थिक वर्ष २०७८/०७९मा ६६ अर्ब ६ करोड रुपैयाँ बराबरको नोट घटेको छ।
यसरी नोटको फ्लो बजारमा कमाी आउनुको कारण डिजिटल भुक्तानीलाई मानिएको छ।
राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले पछिल्लो समय डिजिटल भुक्तानीलाई प्राथमिकतामा राख्नथालेको बताए।
उनले भने, ‘राष्ट्र बैंकको नीति पनि डिजिटल भुक्तानीलाई प्राथमिकतामा राख्ने भन्ने नै हो। सोहीअनुसार यसको प्रयोग पनि बढिरहेको छ।’
नेपाल राष्ट्र बैंक आफैँले गर्ने भुक्तानी तथा कारोबारलाई समेत डिजिटल प्रणालीमा लाने प्रयास भइरहेको उनले जानाकारी दिए।
राष्ट्र बैंकले भुक्तानी प्रणालीलाई डिजिटल बनाउने भने पनि यही भदौ अन्तिमदेखि बजारमा १० अर्ब रुपैयाँ पठाउँदै छ।
साना दरका १० अर्ब नोट दसैँ तिहारलाई लक्ष्य गरी बजारमा पठाउन लागेको केन्द्रीय बैंकले जनाएको छ।
दसैँ तिहारमा सर्वसाधारणले नयाँ नोट चाहन्छन्। त्यही कारण बजारमा उक्त परिमाणको रकम पठाउन लागिएको हो। त्यसमा ५, १०, २०, ५०, १००को नोट हुने राष्ट्र बैंकले जनाएको छ। सर्वसाधारणले दसैँमा १८ हजार ५ सय प्रतिव्यक्तिको दरले नयाँ नोटको सटही पाउनेछन्।
४ खर्ब ३० अर्बको हजारको नोट छापिँदै
त्यति मात्रै नभएर राष्ट्र बैंकले एक हजार दरको नोट छपाइको प्रक्रिया समेत अघि बढाएको छ। राष्ट्र बैंकले एक हजार दरको ४ खर्ब ३० अर्ब रुपैयाँबराबरको ४३ करोड नोट छाप्न लागेको हो।
बैंकर मनोज ज्ञवाली भने दसैँ र तिहारमा नयाँ नोट सटही गर्ने काम सधैँको लागि बन्द गरिनुपर्ने बताउँछन्।
एकातर्फ बैंकिङ क्षेत्रलाई डिजिटल हुन प्रोत्साहन गर्ने अर्कोतर्फ दक्षिणा दिने भन्दै खुद्रा नोटहरु चाड पर्वमा सटही गर्न नहुने उनको तर्क छ।
अब डिजिटललाई प्राथमकिता राख्दै नयाँ नोट साट्ने काम बन्द गर्नुपर्ने उनको मत छ।
यसै वर्षदेखि सटही रोकेर डिजिटल दक्षिणा वर्ष मनाउनुपर्ने उनले बताए। दक्षिणा खातामा रकमान्तर गरेर दिँदा पैसाको बचत हुने, नोटको आयु बढ्ने, नोट छपाइ खर्च बच्ने, बैंकिङ क्षेत्रलाई खुद्रा नोट व्यवस्थापनको टाउको दुःखाइ पनि नहुने जस्ता फाइदा हुने उनको भनाइ छ।
डेपुटी गभर्नर मिश्र भने अब जसरी पनि डिजिटल हुने र त्यसको लागि केही समय लाग्ने बताउँछन्।
अहिले डिजिल भुक्तानीको अवस्था कस्तो छ?
नेपाल राष्ट्र बैंकका अनुसार अहिले डिजिटल भुक्तानीको माध्यम १५ वटा रहेका छन्। ती १५ माध्यममध्ये पेमेन्ट सिस्टम अप्रेसन (पीएसओ) महत्वपूर्ण भुक्तानी माध्यम हो।
यसमा १० वटा फरक फरक कम्पनीहरु छन्। त्यस्तै पेमेन्ट सर्भिर प्रोभाइडर २७ वटा छन्। पीएसपी एजेन्ट प्रयोगकर्ता १२ हजार ६ सय रहेका छन्। वालेट युजर १ करोड ३६ लाख रहेका छन्।
एटीएम मेसिन ४ हजार ६ सय रहेका छन् भने डेबिट कार्ड युजर १ करोड ८ लाख छन्।
त्यस्तै क्रेडिट कार्ड युजर २ लाख ३८ लाख छन्। प्रिपेड कार्ड युजरको संख्या १ लाख ८ हजार छ।
मोबाइल बैंकिङ कस्टुमर १ करोड ८३ छ। इन्टरनेट बैंकिङ ग्राहक १६ लाख छन्। त्यस्तै आरटीजीएस भुक्तानीमा सहभागी हुने ४९ वटा छन् भने कनेक्ट आइपीएसमा सहभागी हुनेको संख्या ८ लाख ९६ हजार छ।
त्यस्तै ईसीसी मेम्बर ५९ र आईपीएस मेम्बर भएर डिजिटल भुक्तानी गर्नेको संख्या १ सय ११ छन्।
डिजिटल भुक्तानी कुन प्रणालीबाट कति हुन्छ?
नेपाल राष्ट्र बैंकले उपलब्ध गराएको तथ्याङ्कअनुसार असार महिनामा सबैभन्दा धेरै भुक्तानी भने आरटीजीएस (रियल टाइम ग्रस सेटलमेन्ट) प्रणालीबाट भएको छ।
यो प्रणाली भनेको एक बैंक खाताबाट अर्को बैंक खातामा वास्तविक समयमा रकमान्तर अर्थात् फण्ड टान्सफर गर्ने स्वचालित विद्युतीय भुक्तानी प्रणाली हो।
यस प्रणालीबाट असार महिनामा मात्रै ४३ खर्ब रुपैयाँको कारोबार भएको छ। ईसीसी प्रणालीबाट ८ खर्ब, आईपीएसबाट २ खर्ब कनेक्ट आईपीएसबाट ३ खर्ब इनटरनेट बैंकिङबाट १५ अर्ब, मोबाइल बैंकिङबाट १ खर्ब ६३ अर्ब रुपैयाँ कारोबार भएको छ।
पछिल्लो समय इनटरनेट भुक्तानीको रुपमा विभिन्न कम्पनीहरु खडा भइरहेका छन्। त्यस्तो वालेट कम्पनीबाट असार महिनामा १७ अर्ब रुपैयाँको कारोबार भएको राष्ट्र बैंकले बताएको छ। डेबिट कार्डबाट ८३ अर्ब र के्रडिट कार्डबाट १ अर्ब कारोबार भएको छ।
Shares
प्रतिक्रिया