ad ad

कारोबार


फूलमा आत्मनिर्भर बन्दैः यस वर्ष आयातित फूलमा कमी

फूलमा आत्मनिर्भर बन्दैः यस वर्ष आयातित फूलमा कमी

नेपालखबर
असोज २७, २०७६ सोमबार १०:४९,

विगतका वर्षमा भन्दा यस वर्षको तिहारमा भारतबाट ल्याइने फूलको संख्यामा कमी आउने भएको छ। पछिल्लो समय व्यावसायिकरूपमा फूल खेती गर्नेको सङख्या बढेको र यस वर्ष ठीक समयमा नै तिहार पर्व परेकाले आयात गरिने फूलको संख्यामा कमी आउने भएको हो। गत वर्ष भारतबाट रु ३० लाख बराबरको तीन लाख सयपत्री फूलको माला ल्याइएको थियो।

यस वर्षको तिहारका लागि कति फूल ल्याउने भन्ने विषय यकिन नभए पनि खपत हुने फूलको बढीमा सात प्रतिशत मात्रै फूल ल्याइने फ्लोरीकल्चर एसोसिएशनले जनाएको छ। गत वर्ष १७ लाख माला खपत भएको थियो। सोमध्ये २० प्रतिशत भारतबाट ल्याइएको हो भने बाँकी स्वदेशी उत्पादन हो। तिहारमा प्रयोग हुने सयपत्री, मखमली र गोदावरी फूलमध्ये सयपत्री मात्रै भारतबाट ल्याउनुपर्ने अवस्था छ। यस वर्ष पनि गत वर्षकै हाराहारीमा फूलको माला खपत हुने एसोसिएशनको अनुमान छ।

व्यावसायिकरूपमा फूल खेती गर्नेको सङ्ख्या बढेकाले हरेक वर्ष १० देखि १५ प्रतिशत स्वदेशी फूल उत्पादनमा वृद्धि हुने गरेको एशोसिएशनका अध्यक्ष कुमार कसजु श्रेष्ठले जानकारी दिए। फूल उत्पादनको वृद्धिसँगै उपभोक्ताको माग पनि बढेको छ। यस वर्ष उपभोक्ताले एउटा सयपत्री मालाको मूल्य रु ६० देखि ७० सम्म बढी तिर्नुपर्ने देखिन्छ।

स्वदेश र विदेशमा गरी वार्षिकरूपमा रु एक अर्ब ८५ करोडको फूलको कारोवार हुँदा तिहारमा मात्रै रु एक करोड फूलको कारोबार हुन्छ। तिहार आउनुभन्दा एक साता अघिबाट मात्रै आयातीत फूल ल्याउन शुरु गरिन्छ।

६० प्रतिशत माला उपत्यकामा खपत

चाडबाड र अन्य समयमा पनि काठमाडौँ उपत्यकामा सबैभन्दा बढी ६० प्रतिशत माला खपत भएको छ। तिहार र अन्य मौसममा गरी रु ११ करोड बराबरको फूल वार्षिकरूपमा विदेशबाट आयात गरिँदै आएको छ। मुख्यगरी कात्तिकदेखि फागुनसम्म विभिन्न चाडबाड र विवाहको मौसम पर्ने हुँदा फूल बढी प्रयोग हुने गरेको छ।

तिहारमा सयपत्री र प्रणय दिवसमा रातो गुलाब आयात गर्नुपरे पनि मखमली र गोदावरी फूलमा नेपाल आत्मनिर्भर बनिसकेको अवस्था छ। अष्टे«लिया र मलेसियामा धेरै नेपालीले बसोबास गर्ने गरेकाले तिहारमा ती देशमा मखमली फूल निर्यातसमेत हुन थालेको अध्यक्ष श्रेष्ठले बताए।

विशेषगरी तिहारका लागि सयपत्री र अन्य समयमा सजावटका लागि केही फूल भारतबाट आयात हुने गरेको छ। व्यावसायिकरूपमा ४५० प्रजातिका फूल नेपालमा उत्पादन हुँदै आएको छ। यस व्यवसायबाट ४१ हजारभन्दा बढी व्यक्तिले प्रत्यक्ष वा अप्रत्यक्षरूपमा लाभ लिएका छन्। नेपालमा लगभग १५७ हेक्टर क्षेत्रफलमा ७०० व्यवसायीले यसको व्यावसायिक खेती गर्दै आएका छन्।

नेपालमा विसं २००७ देखि शुरु भएको पुष्प व्यवसाय शहरीकरणको विकास तथा विस्तारसँगै फस्टाउँदै गएको छ। फूलको मागमा आएको वृद्धिसँगै विशेषगरी काठमाडौँ, ललितपुर, भक्तपुर, कास्की, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, गुल्मी, पाल्पा, धादिङ, मोरङलगायत ४१ जिल्लामा लगभग ६७५ पुष्पखेती तथा नर्सरी विस्तार भइसकेको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .