ad ad

कारोबार


बैंकर अनिल शाह भन्छन्–‘नयाँ नोट दशैँ संस्कृतिको अंग हो’

बैंकर अनिल शाह भन्छन्–‘नयाँ नोट दशैँ संस्कृतिको अंग हो’

दीपक भट्ट
असोज १७, २०७६ शुक्रबार ८:१७,

नेपाली समाजमा दशैँको उल्लाससँगै फर्किएर आउने अर्को विषय हो– नयाँ नोट। सर्वसाधारणका घर परिवारमा टीकाको आर्शीवादसँगै हरेक वर्ष नयाँ नोट चलनमा आउँछन्।

दशैँमा आउने यी नयाँ नोटले अर्थतन्त्रको चक्रमा विशेष महत्व राख्दछन्। त्यसबाहेक सर्वसाधारणलाई दशैँमा नयाँ नोटको विशेष महत्व रहन्छ। वि.सं. २००२ देखि नोट निस्कासन सुरु भएको नेपालमा नयाँ नोट जारी गर्न दशैँलाई उपयुक्त समय मानिँदै आइएको छ।

यस पटक पनि केन्द्रीय बैंकले नयाँ नोट बजारमा पठाइसकेको छ। ती नोटहरु बैंक तथा वित्तीय संस्थाको च्यानलबाट सर्वसाधारणसम्म पुगेका छन्।

यो वर्ष राष्ट्र बैंकले १३ अर्ब रुपैयाँ बराबरको ५, १०, ५०, १००, ५०० र १००० दरका नयाँ नोट निष्कासन गरेको छ। दशैँसँगै यी नोट बजारमा आउँदैछन्।

जीवनको महत्वपूर्ण समय बैंकिङ करिअरमै बिताएका एक जना चर्चित बैंकर हुन्, अनिल केशरी शाह। हाल नबिल बैंकको प्रमुख कार्यकारी अधिकृत (सीइओ) उनी लामो समयदेखि नोट निस्कासन तथा त्यसको व्यवस्थापनलाई नजिकबाट हेरिरहेका छन्। करिअरसँगै उनले सर्वसाधारणको नयाँ नोट चाहनालाई राम्रोसँग बुझ्ने अवसर पाएका छन्।

‘नयाँ नोट हामी नेपालीको एउटा संस्कृति बनि सकेको छ। महान् चाड दशैँसँग जोडिएको यो संस्कृतिलाई जीवन्त राख्नुपर्छ’, नबिल बैंकका सिइओ शाह भन्छन्, ‘हरेक देशले आफ्नो मुद्रालाई नोटको रुपमा जारी गर्छन्। हाम्रो हकमा नयाँ नोट भनेको दशैँको एउटा पहिचान पनि हो। यो हाम्रो मौलिक संस्कृति हो।’ 

purano noteसुरूवाती चरणको पाँच रूपैयाँको एउटा नोट। त्यतिबेला नेपाली मुद्रालाई 'मोरू' लेख्ने चलन थियो।

तीस वर्षभन्दा लामो बैंकिङ करिअरमा शाहले नयाँ नोटका लागि झगडा गर्न आउने, भनसुन गर्न आउने, सोर्सफोर्स लगाउनेसम्मका अनुभव संगालेका छन्।

‘दशैँको बेला बैंकसँग नयाँ नोटको माग धेरै आउँछ। कतिपय आफन्तहरुले नै फोन गरेर भन्नुहुन्छ’, अनुभव सुनाउँदै उनी भन्छन्, ‘राष्ट्र बैंकले खुद्रा नोटको हकमा सीमित कोटा दिएको कारण कहिले कहीँ माग र पूर्तिको सन्तुलन नमिल्दा अप्ठ्यारो स्थिति बन्ने गर्छ।’

नयाँ नोट पूजामा प्रयोग नगरौं
‘आफ्नो बैंकसँग आबद्ध भएका साना वित्तीय कम्पनीहरुले नयाँ नोट यति चाहिँ हामीलाई है भन्छन्। त्यसले हामीलाई दबाबमा पार्छ’, उनी सुनाउँछन्, ‘यसका दुईवटा पाटा देखिन्छन्। एकातिर राष्ट्र बैंक नोट छपाउँदा हुने भारमा परिरहेको हुन्छ भने अर्कोतिर हामीले त्यसको व्यवस्थापनको चुनौती सामना गरिरहेका हुन्छौं।’

केन्द्रीय बैंकले गत वर्ष प्रतिव्यक्ति २७ हजारको दरले नयाँ नोट बाँडेको थियो। यो वर्ष त्यो घटेर प्रतिव्यक्ति १८ हजारमा झारेको छ। नोटका चुनौती हरेक वर्ष थपिँदै गएका छन्। राष्ट्र बैंक अधिकारीहरु आगामी वर्ष दशैँमा नयाँ नोट सटही गर्ने विषयमा पुनःविचार हुने बताउँछन्।

नयाँ नोट नेपालीको दशैँ संस्कृतिसँग जोडिएकाले यसलाई निरन्तरता दिनुपर्ने बैंकर शाहको बुझाइ छ।

नोटलाई सुरक्षित गर्ने बानी नहुँदा नेपालमा नोटको आयु लामो हुने गरेको छैन। छोटो अवधिमा नोट नस्ट हुँदा त्यसले राज्यलाई भार थपिरहेको छ। त्यही भएर राष्ट्र बैंकले सर्वसाधारणलाई आग्रह गरेको छः नोटलाई पुजामा प्रयोग नगरौं। पानीले नझिजाऔं। टीका अक्षतासँगै नराखौं।

अनिल शाह नोटको सामाजिक प्रयोगलाई व्यवस्थापन गर्न सकिने बताउँछन्। ‘चुनौती, समस्या त जहाँ पनि आइहाल्छ। समाधान गर्दै जानुपर्छ’, उनी भन्छन्, ‘नयाँ नोट हाम्रो दशैँ संस्कृतिको अभिन्न अंग भइसकेको छ। यसभित्र देखिने चुनौतीलाई हटाउन सकिन्छ, सहज बनाउन सकिन्छ।’

anil shah dashain1 1बुद्ध जन्मस्थल लुम्बिनीमा अनिल शाहको सेल्फी। यो दशैँमा पनि उनी त्यहाँ पुग्दैछन्।

दशैँमा घुमफिर
अनिल केशरी शाह सानो छँदा धेरैजसो मान्छेहरु पूजाआजामा तल्लिन हुन्थे। त्यसमै व्यस्त रहन्थे। उनको अनुभवमा विस्तारै यो तास खोल्ने, मदिरा सेवन गर्ने तर्फ सोझियो। ती विकृति हटाउनु पर्ने उनको बुझाइ छ। पछिल्लो समय दशैँमा घुम्ने, पुस्तक पढ्ने चलन देखिएका छन्।

‘दशैँ संस्कृतिसँग जोडिन आएका मदिरा र तासजस्ता विषय विकृति हुन्। तिनलाई हटाउनुपर्छ’, उनी भन्छन्, ‘घुमफिर, पुस्तक पढ्नेजस्ता विषय त राम्रा हुन्। आन्तरिक पर्यटकको अर्थतन्त्रमा समेत योगदान रहन्छ। यिनलाई प्रवर्द्धन गर्नुपर्छ।’

सायद त्यही भएर होला उनी आफैँ पनि यो दशैँमा आन्तरिक पर्यटकको रुपमा घुमफिरमा निस्किँदैछन्। ‘म पनि १७ गतेदेखि भरतपुर, बुटवल तथा पोखराको भ्रमणमा निस्किँदैछु। टीका लगाउने दिन मात्र फर्किने योजनामा छु।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .