पर्यटनमन्त्री योगेश भट्टराईले नेपालमा पर्यटक नआउँदैमा आफ्नो र सरकारको दालभात नरोकिने टिप्पणी गरेका छन्।
पोखरामा पर्यटन व्यवसायीहरुले सरकारले गरेको तयारीले सन् २०२० मा २० लाख पर्यटक भित्रनेमा आशंका जनाएपछि मन्त्री भट्टराईले पर्यटक नआउँदा पर्यटन व्यवसायीलाई मात्रै घाटा हुने जिकिर पनि गरे। ‘२० लाख नआएपनि त सरकारको मन्त्रीको दालभात चलिहाल्छ नि, तपाईंको पो चल्दैन’,बुधबार पोखरामा पर्यटन व्यवसायीहरुसँगको छलफलमा उनले भने,‘ अनि आफ्नो दालभात बन्द गर्ने वक्तव्य दिने? आफ्नै दालभात बन्द गर्ने काम, यस्ता वक्तव्य नदिनुस्।’
मन्त्रीको टिप्पणीपछि पर्यटन व्यवसायीहरुले मुखामुख गरे। केही खासखुस पनि सुनियो। पर्यटक आउँदा त्यसले देशको समग्र अर्थतन्त्रलाई दिने योगदानलाई बिर्सेर मन्त्रीले दिएको ओठे जवाफको उनीहरुले सुनिनेगरी प्रतिक्रिया चाहिँ जनाएनन्। आवेशमा आएका मन्त्री केही सच्चिए र थपे,‘ आइराख्या छन्, १२/१५ लाख त। अर्को ५ लाख थप्ने भन्ने त हो नि। ठूलो कुरा ग¥या छौँ हामीले! अर्को ५ लाख थप्ने कुरा ग-यो हो।’
उनले नेपालमा धुवाँ, धुलो छ भन्ने, बाटो भत्केको कुरा गर्दा पर्यटक नआउने भएकाले घरका कुरालाई घरमै राख्न र बाहिर प्रचार नगर्न पनि आग्रह गरे। ‘एउटा कुरा भन्छु है म, पोखरेली साथीहरु। यता ध्वस्त छ, उता ध्वस्त छ, यो बिग्रियो, त्यो बिग्रियो भन्नुहुन्छ, त्यतिसाह्रो बिग्रेको चाहिँ छैन है’, उनले भने,‘ केही केही पर्यटन व्यवसायी साथीहरुको २०२० मा २० लाख पर्यटक आउन सम्भवै छैन्, भनेर भन्नुहुन्छ, किन भन्नुप-यो? त्यो भनेर के तपाई हिरो हुनुहुन्छ, नेता हुनुहुन्छ?’
उनले राजधानीमा चल्ने ट्याक्सीमा जपीीएस जोड्ने, ड्राइभरलाई अंग्रेजी सिकाउने योजना पनि सुनाए। ‘एयरपोर्टको ट्याक्सीवालालाई स्पेशल ड्रेसकोड हुन्छ, दुईचार दिन खर्च गरेरै भएतापनि अंग्रेजी तालीम दिऊँ’,उनले भने,‘ हामी सबै काम प्याकेजमा गर्दैछौँ।’
उनले नेपाल एयरलाइन्सलाई नाफामा लैजाने योजना बनाउँदै गरेको सुनाए। ‘नेपाल एयरलाईन्सका दुई विकल्प छन्। कि यसको मृत्यु हुन्छ, हामी सबै मलामी जाउँ,, कि यसको जयजयकार हुन्छ, हामीले उत्सव मनाऔँ’, उनले थपे, ‘म जयजयकारको पक्षमा छु।’
उनले फेवातालको अतिक्रमण गर्नेहरुले आफैले सरकारलाई लालपूर्जा बुझाउन आग्रह गरे। ‘२/४ पैसाको लोभले फेवाकिनारमा भवन नबनाउनुस, किन बनाएको? किन बनाउन दिएको?’ उनले प्रश्न गरे।
फेवाताल अतिक्रमण गर्दा व्यक्तिलाई फाईदा भएतापनि देशलाई भने नोक्सान भएको हुँदा ताल अतिक्रमण गर्ने आफैले सरकारलाई लालपूर्जा बुझाउन उनले आग्रह गरे। ‘आज म यही कार्यक्रमबाट भनेको छु, आफैले लगेर लालपूर्जा बुझाऔँ, किनभने त्यसले जिन्दगी चल्दैन, खान दिँदैन्।’
पोखराका पर्यटन व्यवसायीहरुले मन्त्री समक्ष पोखराको पर्यटन व्यवसाय र सरकारले गर्नुपर्ने विषयमा विभिन्न १२ बुँदे माग बुझाएका थिए। यसअघि मन्त्री भट्टराईले बिहान पोखरामा निर्माणाधीन क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको अवलोकन गरेका थिए। उनले अवलोकनको क्रममा समयमै काम सक्न निर्देशन दिँदै समयअघि काम सके निर्माण कम्पनीलाई रथारोहण गराउने उद्घोष पनि गरे।
Shares
प्रतिक्रिया