युवा उद्यमीको नेतृत्व विकास, सृजनशीलता, सामाजिक उद्यमशीलतालाई प्रोत्साहन गर्ने गरी काठमाडौंमा तेस्रो युथ कोःल्याब र चौथो राष्ट्रिय सामाजिक उद्यम प्रतियोगिता सुरु भएको छ।
युएनडीपी नेपालको सहयोगमा नेपाल युवा संस्था संजाल (आयोन), राष्ट्रिय युवा परिषद् र युनुस सोसियल विजनेस सेन्टर किङ्स कलेजको आयोजना बुधबारबाट प्रतियोगिता सुरु भएको हो। कार्यक्रम श्रम तथा सामाजिक सुरक्षामन्त्री गाेकर्ण बिष्टले नेपालजस्तो विकासोन्मुख राष्ट्रमा युवाहरुको व्यवसायिक कृयाशिलता बिना देश विकास सम्भव नहुने बताए। ‘युवालाई व्यवसाय गर्न सहज बातावरण बनाउन सरकार प्रतिवद्ध छ,’ उनले भने, युवाहरुका नविनतम सोचलाई सरकारले सहयोग गर्छ।’
राष्ट्रिय युवा परिषदका उपाध्यक्ष माधव ढुंगेलले वाध्यताका कारणले विदेश जाने युवालाई देशमै काम गर्ने वातावरण सिर्जना गर्न सरकार क्रियाशील रहेको उल्लेख गरे। आज वाध्यताका कारण युवाहरु विदेशिएका छन्, उनीहरुलाई आफ्नै देशमा काम गर्ने वातावरण बनाउन र यहीँ रोजगारीको सुनिश्चिताका लागि सरकार गम्भीर छ,’ उनले भने, ‘युवाका समस्यामा काम गर्न युवा परिषद पनि कृयाशील छ।’
उद्यमशीलतालाई लैंगिकमैत्री बनाउनु पर्नेमा वियोन्ड बेइजिङ कमिटिका अध्यक्ष शान्ता लक्ष्मी श्रेष्ठले जोड दिइन्।
नेपालका लागि युएनडीपीका निमित्त आवाशीय प्रतिनिधि बर्नार्डाे कोकोले युवालाई उद्यमशीलतासँग जोड्ने कार्यक्रमको प्रसंशा गरे। ‘यस्ता कार्यक्रमले उद्यमी युवालाई एकै ठाउँमा जम्मा गरी नविन सोच, चूनौती र समाधानका बाटाहरु पहिल्याउन सहयोगी भूमिका निर्वाह गर्छ,’ उनले भने, ‘युएनडीपी सदैव युवाका मुद्दा सम्वोधन गर्न तत्पर छ।’
आयोनका अध्यक्ष जगदीश ऐरले नेपालमा युवाहरुका नविन सोचहरुलाई व्यवसायिक बाटो देखाउन कार्यक्रम आयोजना गरिएको बताए। ‘मुलुकका विभिन्न क्षेत्रमा छरिएर रहेका उद्यम गर्न इच्छुक युवाहरुलाई एकै ठाउँमा ल्याएर छलफल गर्ने र उहाँहरुका समस्या बुझ्ने एउटा प्रयास हो,’ उनले भने, यहाँ आएका उद्यम गरिरहेका साथीहरु मध्ये उत्कृष्टलाई अन्तर्राष्ट्रिय मञ्चमा जाने अवसर पनि हामीले जुटाइदिन्छौं।’ आयोनले सातवटै प्रदेशबाट सात सय भन्दा बढी युवाहरुलाई तालिममा सहभागि गराई उत्कृष्ट दश युवा उद्यमीको छनोट गरेको थियो।
युवा उद्यमीको नेतृत्व विकास, सृजनशीलता, सामाजिक उद्यमशीलतालाई प्रोत्साहन गर्ने गरी कार्यक्रम आयोजना गरिएको आयोनले जनाएको छ। कार्यक्रमले सृजनशीलता र उद्यमशीलतामार्फत् दीगो विकासका लक्ष्य प्राप्तिमा योगदान दिने आयोजको विश्वास छ। कार्यक्रम विहीबार सम्पन्न हुनेछ।
Shares
प्रतिक्रिया