भैरहवास्थित निर्माण सम्पन्न हुन लागेको गौतमबुद्ध क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल विश्वको दोस्रो पूर्ण सौर्य उर्जा सञ्चालित विमानस्थल हुने भएको छ।
नेपालको एउटा मुख्य विकास साझेदार एशियाली विकास बैंक विमानस्थलमा सौर्य उर्जा प्रणाली स्थापनाका लागि अनुदान सहयोग उपलब्ध गराउन इच्छुक भएसँगै यससम्बन्धी प्रक्रिया अघि बढेको हो।
भारतको केरालास्थित कोची अन्तर्राष्ट्रिय विमानस्थल विश्वको पहिलो पूर्ण सौर्य उर्जा सञ्चालित विमानस्थल हो। यो सन् २०१५ अगस्टदेखि सञ्चालनमा छ।
विश्वभरि नै हरित र वातावरणमैत्री विमानस्थलबारे बहस भइरहँदा नेपालको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण सौर्य उर्जा सञ्चालित प्रणालीमा लैजान लागिएको हो।
एशियाली विकास बैंक नेपाल कार्यालयका यातायात परियोजना हेर्ने अधिकृत नरेश श्रेष्ठकाअनुसार यो विषयमा नेपाल सरकारका अधिकारीहरुसँग श्रृंखलाबद्ध छलफल भएको छ। सबै पक्ष सकारात्मक छन्।
‘गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण सौर्य उर्जाबाट सञ्चालन गर्ने प्रणाली स्थापना गर्नेबारे अर्थमन्त्रालय, नेपाल नागरिक उड्डयन प्राधिकरण, नेपाल विद्युत् प्राधिकरणसहितका निकायहरुसँग छलफल भएको छ’, श्रेष्ठ भन्छन्, ‘यसको प्राविधिक र अरु केही मोडालिटीका विषयहरु तय हुन बाँकी छन्। हामी छलफल चरणमा छौं। केही अध्ययन बाँकी छ।’
पूर्ण सौर्य उर्जा सञ्चालन हुनुको मतलब विमानस्थलका सम्पूर्ण पक्षका लागि आवश्यक सबै उर्जा सौर्य प्रणालीबाट प्राप्त गर्नु हो। एयर ट्राफिक कन्ट्रोल, ब्यागेज क्लेम, धावनमार्ग कन्ट्रोल रुम, यात्रु टर्मिनलसहित विमानस्थलका सबै कक्षहरू तथा विमानस्थलभित्र सञ्चालन हुने सबै खाले व्यवसाय समेत सौर्य उर्जाबाट सञ्चालित हुनु हो।
खपत नभएको बिद्युत् बिक्री
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका लागि लागि सौर्य उर्जाबाट दैनिक १० मेगावाट उर्जा उत्पादन गर्ने लक्ष्य राखिएको छ। ‘सोलार इनर्जी बढी हुँदा विद्युत् प्राधिकरणको राष्ट्रिय प्रसारण लाइनमा जानेगरी व्यवस्था गर्न खोजेका छौं’, श्रेष्ठले नेपालखबरसँग भने, ‘अहिलेको मोडालिटीअनुसार विमानस्थलले दैनिक उर्जा खपतका लागि एक रुपैयाँ पनि तिर्दैन। धेरै भएको उर्जा बिक्री गर्छ।’
सौर्य उर्जा प्रणाली स्थापनाका लागि करिब १ अर्ब १० करोड रुपैयाँ (१ करोड अमेरिकी डलर) लागत अनुमान गरिएको छ। यही गतिमा सबै विषय मिल्दै गए आगामी ६ महिनाभित्र सौर्य प्रणाली स्थापना हुनेछ।
‘हरित विमानस्थल वातावरण संरक्षणको दिशामा विश्वकै लागि एउटा नयाँ उदाहरण हो। आगामी ६ महिनाभित्र विमानस्थल सञ्चालनमा आइसक्दा यसलाई कार्यान्वयन गरिसक्नु पर्ने चुनौती पनि छ’, उनी भन्छन्।
एडिबीले ‘ग्रीन एयरपोर्ट प्रजेक्ट’ अन्तर्गत अनुदान सहयोगमा सौर्य उर्जा प्रणाली स्थापना गर्न चाहेको हो। सौर्य उर्जा प्रणालीका लागि प्रदान गरिने आर्थिक सहयोग अहिले गौतम बुद्ध विमानस्थल निर्माणमा भइरहेको सहयोगभन्दा अलग्गै हो।
पछिल्लो समय हरित विमानस्थल र स्वच्छ उर्जाको विषय वातावरणमैत्री मात्र नभएर पर्यटन प्रवर्द्धनसँग पनि जोडिने गरेको छ।
पर्यटन मन्त्रालय स्रोतका अनुसार यो विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले समेत चासो देखाएका छन्। उनले अधिकारीहरू समक्ष यो परियोजनाको काम समयमै अघि बढाउन निर्देशन दिएका छन्। तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीको हेलिकोप्टर दुर्घटनामा मृत्यु भएपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री स्वयंले सम्हाल्दै आएका छन्।
प्रशस्त छ जग्गा
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल परियोजना प्रमुख प्रवेश अधिकारीका अनुसार विमानस्थलसँग प्रशस्त उपयोग नभएको जग्गा छ। सो खाली जग्गा सौर्य प्रणाली स्थापनाका लागि उपयोग गर्न सकिने अवस्था छ।
‘विमानस्थलसँग ८१० विघा जग्गा छ’, अधिकारले टेलिफोनमा भने, ‘मन्त्रालय, प्राधिकरणले निर्णय गरेको खण्डमा सौर्य उर्जा प्रणाली स्थापना गर्न ठाउँको अभाव छैन।’
विमानस्थलमा हाल भइरहेको निमार्ण कार्य २०१९ जुन २८ सम्पन्न गर्ने कार्यतालिका रहेको छ। केही दिन अगाडि ३ किमी धावनमार्ग निर्माणको काम सम्पन्न भएको छ। हाल भइरहेका काम ठेक्काको आइसिबी ०१ अन्तर्गतको हो। सो कार्य अन्तर्गत धावमाग, टर्मीनल भवन, ट्याक्सी बे, पार्किङ लगायतका कार्य पर्दछन्।
यी बाहेक नेभिगेसन, फाएर भेकल लागएतका काम समयमा नै सम्पनन गरी सन २०१९ मा नै विमानस्थल सञ्चालनमा ल्याउने तयारीमा नेपाल नागरिक उड्डयन प्राधिकरणा प्राधिकरण रहेको छ।
सन् २०१५ जनवरी १५ मा शिलान्यास हुँदा विमानस्थल निर्माणको काम २०१७ डिसेम्बरमा निर्माण सक्ने लक्ष्य रहेको थियो। ठेकेदा विववाद एवं भारतीय नाकाबन्दीका कारण ढिलोगरी निर्माण सम्पन्न हुन लागेको हो।
निमार्ण सम्पन्न भएपछि विमानस्थल ३ हजार मिटर लम्बाई र ४५ मिटर चौडाइको धावनमार्ग, १ हजार ९ सय मिटर लम्बाइ र २३ मिटर चौडाइमा ट्याक्सी बे बन्नेछ। विमानस्थल अन्तर्गत १५ हजार एक सय ६९ वर्ग मिटरको टर्मिनल भवन र व्यवस्थापकीय र कन्ट्रोल टावर अप्रेसन भवन २ हजार एक सय ४१ वर्ग मिटरको हुनेछ।
प्रतिक्रिया