ad ad

कारोबार


महिना दिन नपुग्दै नबिल बैंकले जारी गर्‍यो हजार आई–कार्ड, नयाँ वर्षमा एक महिनालाई विशेष छुट

महिना दिन नपुग्दै नबिल बैंकले जारी गर्‍यो हजार आई–कार्ड, नयाँ वर्षमा एक महिनालाई विशेष छुट

नेपालखबर
बैशाख ५, २०७८ आइतबार ७:५१,

नेपाल राष्ट्र बैंकले अन्तर्राष्ट्रिय प्रिपेड कार्ड जारी गर्नसक्ने अनुमति दिएसँगै कार्ड लिनेको संख्या उत्साहजनक छ।

आफ्ना सम्पूर्ण शाखाबाट अमेरिकी डलर आई–कार्ड जारी गरेको नबिल बैंकमा एक महिना नपुग्दै एक हजार कार्ड उपभोक्ताले लिइसकेका छन्। आई–कार्डमा औसत २ सयदेखि ३ सय डलर लोड भइरहेको नबिल बैंकले जनाएको छ।

‘अहिलेसम्म मोटामोटी एक हजार थान कार्ड जारी भइसकेको छ’, नबिल बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुजित कुमार शाक्यले भने, ‘कार्डको बारेमा जानकारी लिनेको संख्या उत्साहजनक छ।’

यही कार्डको लागि बैंक खाता खोल्ने र प्यान कार्ड लिनेको संख्या पनि बढेको उनले जानकारी दिए।

यो कार्डमा अधिकतम ५ सय डलरसम्म लोड गर्न पाइन्छ। नबिल बैंकबाट जारी भएका कार्डमा सरदर २ सयदेखि ३ सय डलरसम्म लोड भइरहेको शाक्यले बताए।

नबिल बैंकले नयाँ वर्ष २०७८ को अवसर पारेर एक महिनाको लागि स्किम पनि ल्याएको छ।

यो अफरमा लोड गरेको रकमको आधारमा ग्राहकलाई विशेष छुटको व्यवस्था गरेको उनले बताए।

यसअनुसार नबिलको आई–कार्ड लिन एक हजार रुपैयाँ शुल्क लाग्ने गरेकोमा पाँच सय डलर लोड गर्नेलाई उक्त शुल्कमा ७५ प्रतिशत छुट दिएको छ।

साथै, तीनभन्दा माथि लोड गर्नेलाई ५० प्रतिशत र तीनसयभन्दा तल लोड गर्नेलाई २५ प्रतिशत छुटको व्यवस्था छ।

यो अफरले आई–कार्ड लिनेको संख्या ह्वात्तै बढ्ने नबिलले जनाएको छ।

यो कार्ड प्रयोग गरेर विदेशमा सानोतिनो कारोबार पनि गर्न सकिने भएकाले उपभोक्ताहरुले यसमा तानिएका छन्।

यसबाट नेटफ्लिक्सका शुल्क तिर्न, म्यागजिन, सानो तालिम वा अनलाइन ग्राहक बन्न यो कार्डको प्रयोग भइरहेको छ।

‘यो सेवाबाट ग्राहकहरु धेरै नै खुसी छन्’, शाक्यले भने, ‘राष्ट्र बैंकले ल्याइदिएको सेवालाई ग्राहकले धेरै धन्यवाद दिएका छन्। हामीले पनि धन्यवाद दिनैपर्छ।’

यसअघि नेपालबाट विदेशमा सानोतिनो भुक्तानी गर्नको लागि पनि विदेशकै साथीभाइसँग निर्भर हुनुपर्ने अवस्था थियो।

यसले व्यक्तिगत रुपमा विदेशमा गरिने स–साना भुक्तानीलाई सहज बनाएको छ।

यो पनि–
नबिल बैंकले ल्यायो अन्तर्राष्ट्रिय भुक्तानी गर्न मिल्ने ‘नबिल आईकार्ड’

उदाहरणका लागि कसैले नेपालबाट न्युयोर्क टाइम्सको अनलाइन संस्करणको ग्राहक बन्न वा नेटफ्लिक्सको ग्राहक बन्नलाई विदेशकै साथीभाइमार्फत भुक्तानी गर्नुपर्ने बाध्यता थियो।

तर अब राष्ट्र बैंकले प्रिपेड कार्ड जारी गर्नसक्ने अधिकार दिएपछि बैंक र ग्राहक दुवैलाई सहज भएको छ। यो सेवा भारतबाहेकका अन्य देशमा भुक्तानी गर्न सकिनेछ।

नबिल बैंकले यसको सेवा सुरु गर्दै हरेक शाखाबाट यो कार्ड लिन सकिने जनाएको छ।

राष्ट्र बैंकले अन्तर्राष्ट्रिय प्रिपेड कार्डसम्बन्धी परिपत्र ल्याएसँगै नबिल बैंकले यो सेवा सुरु गरेको थियो।

यो कार्डबाट एक वर्षमा अधिकतम पाँच सय डलरसम्म खर्च गर्न पाइनेछ। खर्च गर्न सुरुमा यस कार्डमा डलर लोड गर्नुपर्छ।

आफूलाई आवश्यकताअनुसार एक सय, दुई सयदेखि अधिकतम पाँच सयसम्म लोड गर्न सकिनेछ।

यदि कसैले सुरुमा २ सय डलर राख्छु र ६ महिनापछि ३ सय डलर राख्छु भन्यो भने त्यसरी पनि राख्नसक्ने शाक्यले बताए।

यदि कुनै ग्राहकले ५ सय डलर लोड गरेको छ र वर्षभरिमा ३ सयमात्र डलर खर्च भएको छ भने बाँकी २ सयलाई अर्को वर्ष खर्च गर्न पनि पाइनेछ। अर्को वर्ष उसले थप ३ सय थपेर ५ सयर डलर खर्च गर्न सक्ने उनको भनाइ छ।

प्रिपेड डलर कार्ड लिनको लागि सबैभन्दा पहिला बैंक खाता अनिवार्य चाहिन्छ। यदि बैंक खाता छ भने त्यसको केवाईसी अपडेट भएको हुनुपर्छ।

बैंक खातापछि राष्ट्र बैंकले प्यान कार्ड पनि अनिवार्य गरेको छ।

ग्राहकले यस्तो डलर कार्ड एउटा मात्र लिन सक्नेछन्। अर्थात दुईवटा बैंकबाट दुईवटा लिन्छु भनेर पाइँदैन। यस्तो कार्ड व्यक्ति र संस्थागत रुपमा पनि लिन पाइनेछ।

राष्ट्र बैंकले यो कार्ड प्रयोग गरेर वस्तु र सेवाको भुक्तानी गर्न सकिने भनेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .