ad ad

कारोबार


अब राजनीतिक दबाबको आधारमा नयाँ विमानस्थल बन्दैनन् : पर्यटनमन्त्री ढकाल

अब राजनीतिक दबाबको आधारमा नयाँ विमानस्थल बन्दैनन् : पर्यटनमन्त्री ढकाल

नेपालखबर
पुस १६, २०७७ बिहिबार ११:४९,

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले राजनीतिक दबाबको आधारमा विमानस्थल नबन्ने बताएका छन्।

नागरिक उड्डयन प्राधिकरणको २२औँ वार्षिक उत्सवलाई सम्बोधन गर्दै मन्त्री ढकालले अहिले भएका विमानस्थल समेत चल्न नसकेको अवस्थामा थप नयाँ विमानस्थल नबन्ने बताएका हुन्।

५४ वटा विमानस्थलमध्ये ३५ वटा मात्रै सञ्चालनमा रहेको र बाँकी १९ विमानस्थल सञ्चालन गर्न नसकिएको उनले बताए।

‘हरेक संसद् वा मन्त्रीले आफ्नो क्षेत्रमा विमानस्थल घोषणा गरेर वा नागरिक उड्डयन प्राधिकरणलाई दबाब दिएर विमानस्थल बन्दैन’, ढकालले कार्यक्रममा भने, ‘आवश्यकताको आधारमा जहाँ यात्रुको चाप बढी छ, त्यहाँ विमानस्थल बन्छ।’

नेपालमा हरेक पर्यटनमन्त्रीले आफ्नो निर्वाचन क्षेत्र वा जिल्लामा विमानस्थल सञ्चालन गर्ने बताउँदै प्राधिकरण तथा अर्थ मन्त्रालयलाई दबाब दिँदै आएका छन्।

‘पहिला दुर्गम ठाउँमा सडक नपुगेको अवस्था थियो, त्यसैले हरेक जिल्लामा एउटा विमानस्थल बनाउनुपर्ने आवश्यकता रह्यो’, मन्त्री ढकालले भने, ‘अब हरेक जिल्लामा सडक सञ्जाल पुगेको छ। यातायातकै लागि हवाइजहाज मात्रै विकल्प छैन।’

यो पनि –
भोट माग्ने भाँडो बने विमानस्थल : पूर्वप्रधानमन्त्रीदेखि मन्त्री र सांसदसम्मले दिन्छन् दबाब

मन्त्री ढकालले व्यावसायिकताको आधारमा मात्रै विमानस्थल निर्माण हुने बताए। ‘पहिला निर्माण भएका अधिकांश विमानस्थल अहिले गाई चराउनुपर्ने अवस्थामा छन्’, उनले भने, ‘लामो समय विमानस्थल नचल्दा विमानस्थलकै बदनाम भएको छ।’

उनले नचलेका विमानस्थलको विकल्प खोजिने बताए।

No description available.

कुन विमानस्थलको अवस्था के छ?
नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेलका अनुसार ५४ विमानस्थलमध्ये ३७ वटा विमानस्थल कालोपत्रे भएको छ भने डोल्पा र कालिकोटका दुई विमानस्थलमा कालोपत्रे भइरहेको छ।

अहिले ८ वटा विमानस्थलमा रातिको समयमा समेत जहाज अवतरण गर्नसकिने भएको छ। यसमा विराटनगर, चन्द्रगढी, धनगढी, गौतमबुद्ध, जनकपुर, नेपालगञ्ज, सिमरा र त्रिभुवन विमानस्थल छन्।

अहिले अन्तर्राष्ट्रिय विमानस्थलको रुपमा त्रिभुवन विमानस्थल मात्रै छ भने विराटनगर, भैरहवा, नेपालगञ्ज र पोखरालाई हब एयरपोर्टको रुपमा विकास भइरहेका छन्। यीमध्ये भैरहवा र पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको रुपमा निर्माणको अन्तिम चरणमा छन्।

‘अहिले हामीसँग एउटा मात्रै अन्तर्राष्ट्रिय विमानस्थल छ। त्यसको विकल्प निजगढ विमानस्थल हो’, महानिर्देशक पोखरेलले भने, ‘त्यो विमानस्थल नबन्दासम्म त्रिभुवन विमानस्थलबाटै काम चलाउनुपर्ने अवस्था छ।’

निजगढ विमानस्थलमा निर्माणका लागि लगानीबोर्डले जुरिच इन्टरनेश्नललाई छाने पनि उसले समयमा सम्झौता गर्न नआउँदा अन्योल बढेको छ।

प्राधिकरणले करिब ३० करोडमा निजगढ विमानस्थलको गुरुयोजना बनाउने सम्झौता गरिसकेको छ। निजगढमा रुख गणना र बस्ती व्यवस्थापनको विषय अगाडि बढेको छ।

यो पनि –
हचुवामै बनिरहेका छन् विमानस्थल, कहाँ कति कति पाेखिँदै छ बजेट?

पोखरेलले त्रिभुवन विमानस्थल गुरुयोजनाअनुसार थप विस्तारको काम भइरहेको बताउँदै आन्तरिक र अन्तर्राष्ट्रिय टर्मिनल भवन ठूलो बनाउन आवश्यक रहेको बताए। त्यसका लागि धावनमार्ग विस्तार, एप्रोन, ह्याङगर, पार्किङलगायतको काम भइरहेको उनको भनाइ छ।

आर्थिक वर्ष २०७६÷०७७ मा प्राधिकरणको आय ५ अर्ब ६२ करोड र विमानस्थल विकास शुल्क १ अर्ब ३७ आम्दानी गरेको छ। कोभिडको प्रभावको कारण पहिलाको वर्षको तुलनामा आम्दानी घटेको हो।

त्यसैगरी पुँजीगत खर्च १५ अर्ब ४२ करोड र चालू खर्च २ अर्ब ९५ करोड रहेको प्राधिकरणले उल्लेख गरेको छ।

प्राधिकरणले चालू आर्थिक वर्षको लागि २८ अर्ब ९२ करोड पुँजीगत र ३ अर्ब ६६ करोड चालू खर्च छुट्याएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .