ad ad

कारोबार


सगरमाथाले पायो नयाँ उचाइ : पुरानो उचाइमा बनेका थिए यी कीर्तिमान

सगरमाथाले पायो नयाँ उचाइ : पुरानो उचाइमा बनेका थिए यी कीर्तिमान

वसन्त अर्याल
मंसिर २३, २०७७ मंगलबार ८:५२,

नेपालले आज विश्वकै अग्लो शिखर सगरमाथाको उचाइ मापन गरी नयाँ उचाइ सार्वजनिक गरेको छ।

नेपाल र चीनद्वारा संयुक्त रुपमा सार्वजनिक उचाइअनुसार सगरमाथाको नयाँ उचाइ ८ हजार ८ सय ४८.८६ मिटर रहेको पाइएको हो।

विशेषगरी २०७२ को भूकम्पपछि यसको उचाइ घटबढ भएको हुनसक्ने अनुमानका बीच नयाँ उचाइ सार्वजनिक गरिएको हो।

विश्वकै अग्लो शिखरका रुपमा परिचित सगरमाथामा सन् १९५३ यता विभिन्न कीर्तिमानहरु बनेका छन्।

समुद्री सतहबाट ८ हजार ८ सय ४८.८६ मिटर उचाइमा रहेको सगरमाथाको शिखरमा पहिलोपटक पुग्ने कीर्तिमान नेपालकै तेन्जिङ नोर्गे शेर्पा र न्युजिल्यान्डका सर एडमन्ड हिलारीको नाममा छ।

नेपालको सोलुखुम्बु जिल्लामा रहेको सगरमाथामा सन् १९५३ को वसन्त ऋतुमा उनीहरुले सफल रुपमा पहिलो आरोहण गरेका थिए।

त्यसअघि सन् १९२२ मा ७ जना शेर्पा आरोही हिमाल आरोहणका रुपमा आभलन्च (हिम पहिरो)का कारण मृत्यु हुँदा सगरमाथा शिखर चुम्न नसकेको बताइन्छ।

शेर्पा र हिलारीले दक्षिण पूर्वी भागबाट पहिलोपटक हिमाल आरोहण गरेका थिए।

यो पनि–
८६ सेन्टिमिटर अग्लियो सगरमाथा, सर्वोच्च शिखरको नयाँ उचाइ ८८४८.८६ मिटर

त्यसपछि सन् १९७५ मे मा जापानकी जुनको तावेईले सफल आरोहण गरी सगरमाथा चढ्ने विश्वकै पहिलो महिलाको कीर्तिमान बनाइन् भने सन् १९९३ अप्रिलमा नेपाली महिला पासाङलामु शेर्पाले सगरमाथाको शिखर चुम्ने पहिलो नेपाली महिलाको कीर्तिमान बनाइन्।

तर सगरमाथा आरोहण गरी फर्किँदै गर्दा दुर्घटनावश उनको ज्यान गएको थियो। त्यसपछि सन् २००० लाक्पा शेर्पा (दोस्रो नेपाली महिला)ले सगरमाथा आरोहण गरेकी हुन्।

साढे ६ हजार बढीले चढिसके सगरमाथा
हालसम्म ४ सय ७१ महिलाले सगरमाथा आरोहण गरेको पर्यटन विभागको तथ्यांकमा उल्लेख छ। २४ पटक सगरमाथा ओरोहण गरी कामीरिता शेर्पाले विश्व कीर्तिमान कायम राखेका छन्।

विश्वकै अग्लो शिखर भएकाले सगरमाथा आरोहण गरी आफ्नो कीर्तिमान कायम राख्न साहसिक पर्यटकबीच प्रतिस्पर्धा हुँदै आएको छ। २०१९ को डिसेम्बरसम्म ६ हजार ५०७ जनाले सगरमाथाको आरोहण गरिसकेका छन्।

सन् २०२० मा पर्यटन विभागले एउटा टोलीलाई पनि अनुमति जारी गरेको छैन।

‘२०२० मा सिजन सुरु हुनेबित्तिकै कोरोना महामारीको अवस्था आयो। बाध्यात्मक अवस्थाका कारण एउटा पनि परमिट जारी भएन’, मिरा आचार्यले भनिन्।

२०२० अघि सगरमाथा आरोहण सुरु भएपछि २०१५ अर्थात् पाँच वर्षअघिको भूकम्पका बेला शून्य आरोही रहेका थिए।

२०७२ वैशाख १२ गते नेपालमा ठूलै भूकम्प गएको थियो। सोही कारण त्यो वर्ष कोही पनि सगरमाथा चढ्न सकेनन्।

पर्यटन विभागकी निर्देशक मिरा आचार्यका अनुसार २०१५ मा परमिट जारी भए पनि भूकम्पका कारण बेसक्याम्पभन्दा माथि गएका आरोहीलाई पनि फर्काइएको थियो।

पछिल्लो १० वर्षको अवधिमा २ वर्ष सगरमाथाको शिखरमा आरोही पुग्न सकेनन्। २०१५ मा भूकम्पको कारण र २०२० मा कोभिड महामारीका कारण। त्यसैगरी २०१४ मा सगरमाथामा हिउँको पहिरो गएसँगै त्यो वर्ष ६ जनाले मात्रै आरोहण गरेको विभागले जनाएको छ।

२०७२ सालकै भूकम्पका कारण सगरमाथाको उचाइ घटबढ भएको हुनसक्ने भुगोलविद्को भनाइ रहेको थियो। भूकम्पपछि काठमाडौं आसपासका क्षेत्रको नाप गर्दा १२ सेन्टिमिटरसम्म उचाइ बढेकाले सगरमाथाको उचाइ पनि बढेको हुनसक्ने भन्दै मापन गर्नुपर्ने आवाज उठेको थियो।

त्यसअघि नेपालले कहिल्यै आफैँले आफ्नो सगरमाथाको उचाइ नाप्न सकेको थिएन। नापी विभागको टोलीले पहिलोपटक आफ्नै स्रोत साधनमा सगरमाथाको उचाइ मापन गरेको हो।

भारतले सन् १९५५ मा मापन गरेको आधारमा सगरमाथाको उचाइ ८ हजार ८ सय ४८ मिटर मानिँदै आएको छ। नेपालले त्यसलाई आधिकारिक मान्यता दिएको थियो।

सगरमाथाको उचाइ भने ११ पटक मापन गरिसकिएको छ। भारतले मात्रै ३ पटक मापन गरेको छ। त्यस्तै चीन र इटालीले २–२ पटक मापन गरेका छन्। अमेरिका, डेनमार्क लगायतका देशले पनि सगरमाथाको उचाइ मापन गरिसकेका छन्। ती मापनमा उचाइ फरक फरक थियो। त्यही कारण नेपाल आफैँले उचाइ मापन गरेको हो।

१५ करोड खर्चमा नापी विभागले अत्याधुनिक प्रविधिसहित ४ वटा प्राविधिक टोली परिचालन गरी २ वर्ष बढी समय लगाएर नापेको जानकारी दिएको छ।

छिमेकी मुलुक चीनले पनि उत्तरतर्फबाट सगरमाथाको उचाइ मापन गरिसकेको छ। सगरमाथाको उचाइमा फरक नआओस् भनेर दुवै देशले संयुक्त रुपमा सगरमाथाको उचाइ सार्वजनिक गरेका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .