सेयरबजार पछिल्लो समय वृद्धिको लयमा देखिएको छ। अघिल्लो दिन कीर्तिमानी कारोबार गरेको सेयरबजारमा आज सोमबार पनि ८ अर्ब ८६ करोडको सेयर खरिदबिक्री भएको हो।
आज नेप्से सूचक २८.७९ अंकले बढेको थियो। नेपाल स्टक एक्सचेन्जका अनुसार सोमबार साढे २ करोड कित्ता सेयर बिक्री भएको छ। दिनभरिमा ८३ हजार ५ सय ६७ पटक किनबेच भएको छ।
नेप्सेका अनुसार आज १२ समूहका १ सय ९८ कम्पनीको कारोबार भएको छ। आज व्यापार र दुई बीमा समूहका सूचक उच्च अंकले बढेका छन्।
आज नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको ३८ करोडको, नेपाल पुनर्बीमा कम्पनीले ३७ करोडको, प्रभु बैंकको ३६ करोडको, नेपाल बंगलादेश बैंकको ३३ करोडको र ग्लोबल आईएमई बैंकको २७ करोडको सेयर कारोबार भएको छ।
त्यस्तै आजको कारोबारमा युनाइटेड मोदी हाइड्रोपावर, अप्पर तामाकोशी हाइड्रोपावर, ग्रिनडेभलपमेन्ट बैंक, नेपाल बंगलादेश बैंकलगायतको सेयरमा सर्किट लागेको छ। यी कम्पनीका लगानीकर्ताले १० प्रतिशत आम्दानी गरेका छन्। सर्वाधिक गुमाउनेमा विशालबजार कम्पनीका लगानीकर्ता छन्। कम्पनीको सेयर मूल्य १० प्रतिशतले घटेको छ।
Shares
प्रतिक्रिया