ad ad

कारोबार


सूर्य नेपाल लगातार उत्कृष्ट करदाता बन्नुको रहस्य ‘कर्पोरेट सिस्टमको सर्वोच्चता’

सूर्य नेपाल लगातार उत्कृष्ट करदाता बन्नुको रहस्य ‘कर्पोरेट सिस्टमको सर्वोच्चता’

दीपक भट्ट
मंसिर ९, २०७७ मंगलबार १६:४१,

नेपालले कर दिवस मनाउन थालेको नौ वर्ष पुगेको छ। हरेक वर्ष उत्कृष्ट करदाताको नाम घोषणा गरेर सरकारले धेरै कर तिर्ने व्यक्ति तथा संस्थाहरुलाई सम्मान समेत गर्ने परिपाटी बसाएको छ।

र, ती नौ वर्षदेखि लगातार उत्कृष्टको सूचीमा पर्ने एक मात्रै कम्पनी बनेको छ, सूर्य नेपाल प्राली।

संस्थाले गर्ने व्यवसायको आकारका हिसावले यो वा त्यो ठूलो व्यावसायिक घराना भनी चर्चा भइरहने गर्छ।

त्यस्ता प्रसंगहरुमा धेरै कम्पनीहरुको नाम चर्चामा आउने गर्छ। तर बढि कर तिर्ने कम्पनीको रुपमा भने अहिलेसम्म सूर्य नेपाललाई कसैले पछि पार्न सकेको छैन।

गत आर्थिक वर्ष तिरेको करको रकमका आधारमा यो वर्ष विभिन्न विधाका १५ करदाताहरुको नाम सरकारले हालै सार्वजनिक गरेको छ।

त्यसमा सबैभन्दा धेरै आयकर तिर्नेमा बहुराष्ट्रिय कम्पनी सूर्य नेपाल प्राली रहेको छ। यो कम्पनीले गत वर्ष ५ अर्ब ३१ करोड आयकर तिरेको थियो। यहि विधामा यो कम्पनी सबैभन्दा उत्कृष्ट ठहरिएको हो।

व्यक्तिगत करतर्फ चाहिँ जावलाखेल डिष्टिलरीका सञ्चालक विजयकुमार शाह यसवर्ष सबैभन्दा बढी कर तिर्ने व्यक्ति बन्न सफल भएका छन्।

विगत नौ वर्षको तथ्याङ्क हेर्दा सूर्य नेपालले जति आयकर तिर्ने कम्पनी नेपालमा अहिलेसम्म अरु देखिएका छैनन्। त्यसो त यो कम्पनीले यतिमात्रै कर तिरेको भने हैन। यसले गत वर्ष भ्याटतर्फ पनि ३ अर्ब ८७ करोड कर तिरेको छ।

कर धेरै तिर्नुको अर्थ नै के हो भने यो कम्पनीमा कुनै किसिमको व्यावसायिक चुहावट छैन। साथसाथै व्यवसायको हिसावले उसको कारोबारको आकार अत्यन्तै ठूलो रहेको छ।

त्यही कुराले नै कम्पनीलाई माथि उठाएको सूर्य नेपाल प्रालिको भनाइ छ। 

उत्कृष्टताको रहस्य
उत्कृष्ट बन्नुमा कम्पनीको अनुशासित कार्यशैली नै प्रमुख आधार रहेको सूर्य नेपाल प्रालीका उपाध्यक्ष रवि केसी बताउँछन्। 

‘हामी आफ्नो कर्पोरेट सिस्टममा नै हिड्छौं, हामीलाई अरु कुनै मतलव छैन,’ नेपालखबरसँग केसीले भने, ‘कम्पनीको सिस्टमभन्दा बाहिर हाम्रो व्यावसायिक गतिबिधि पनि जाँदैन र यहाँका व्यक्तिहरु पनि जान सक्दैनन्।’

सूर्य नेपालले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार सो कम्पनीले अघिल्लो आर्थिक वर्षमा करिब ३८ अर्ब रुपैयाँको कारोबार गरेको थियो।

त्यसमा करिब १० अर्ब हाराहारी त करमात्रै (सबै प्रकारका राजश्वसहित) तिरेको छ र ९ अर्ब ८८ करोड रुपैयाँ नाफा गरेको छ। यो करसमेत काटेपछिको कम्पनीले गरेको खुद नाफा हो।

यसरी कारोबार गर्ने सूर्य नेपालको प्रमुख उत्पादन चुरोट नै हो। त्यसबाहेक यसले अगरबत्ति र सलाई पनि उत्पादन गर्छ। यो कम्पनी विदेशी तथा स्वदेशीहरुको संयुक्त लगानीमा संचालित छ।

आईटीसी लिमिटेड इन्डियाको ५९ प्रतिशत र नेपाली लगानीकर्ताको ३९ प्रतिशत लगानी रहेको यो कम्पनीमा २ प्रतिशत सेयर लगानी भने ब्रिटिश अमेरिकन टोबाको इन्भेष्टमेन्टको रहेको छ।

त्यसो त नेपालमा स्वदेशी तथा विदेशी साझेदारीमा अन्य कम्पनी पनि सञ्चालित छन्, जसले यत्तिको फलता हासिल गर्न सकेको देखिँदैन।

सूर्य नेपाल चाहिँ आफ्नै व्यवस्थित र अनुशासित व्यावसायिक तथा वित्तीय सिस्टमका कारण हरेक क्षेत्रमा उत्कृष्ट हुन सफल भएको कम्पनीका अधिकारीहरुको भनाइ छ।

यो कम्पनी अन्य क्षेत्रमा पनि उत्कृष्ट रहेका उदाहरण पाउन सकिन्छ। यो वर्ष अधिकांश कम्पनी तथा व्यवसायहरु कोरोना महामारीको मारमा परे। चुरोट उत्पादन गर्ने सूर्य नेपाल अत्यावश्यक सेवामा नपरेका कारण लकडाउनको लामो अवधिमा व्यवसाय बन्द गरेर बस्नुपरेको थियो।

यसको असर व्यवसायमा तत्काल नदेखिने कुरै भएन। त्यसपछि कम्पनीले बैंकबाट ५ अर्ब ७५ करोड रुपैंया ऋण लिएको छ।

तर सूर्य नेपाल आफूले लिएको ऋण उपयुक्त ढंगले तिरेर ऋणको रेटिङमा समेत उत्कृष्ट ठहरियो। कम्पनी संचालनको लागि लिएको ऋण अरु ऋणीले भन्दा राम्रोसँग तिरेर अब्बल नम्बर प्राप्त गर्न सफल भएको हो।

केयर रेटिङ नेपालका अनुसार सूर्य नेपालको ऋण चुक्ताको रेटिङ सबैभन्दा उत्कृष्ट रहेको छ। त्यसैले उसले केयर एनपी ए वन प्लस प्राप्त गरेको छ। रेटिङमध्ये यो सबैभन्दा उत्कृष्ट हो।

यस्तो रेटिङ कमैमात्रै ऋणीहरुले पाउने गर्छन्, जुन सूर्य नेपालले पाएको केयर रेटिङ नेपालले जनाएको छ।

‘सरकारले तोकेको नीतिनियम भन्दा बाहिर गएर हामी काम गर्दैनौं। त्यसरी जानु हुँदैन भन्ने हाम्रो कम्पनीको मुख्य मान्यता हो’, उपाध्यक्ष केसी भन्छने, ‘जतिसम्म कानुनी दायरा छ, त्यसैआधारमा व्यवसाय विस्तार गर्ने हो।’

अरुसँग बिभिन्न काम गर्दा पनि जस्तो खालको व्यावसायिक सम्झौता भएको छ त्यसकै पूर्ण पालना गर्नु नै कम्पनीले आफ्नो मुल मर्म ठानेको केसीको भनाइ छ।

‘त्यसले पनि हामीप्रति सबैको विश्वास रहेको मैले देखेको छु’, केसीले भने।

सूर्य नेपालका सेयरधनीहरु पनि ‘भाग्यमानी’ रहँदै आएका छन्। कम्पनीले गत आर्थिक वर्षमात्रै ९ अर्ब ८५ करोड रुपैयाँ लाभांश वितरण गरेको छ। चालू आर्थिक वर्ष पनि सोहि बराबरको लाभांश वितरणको तयारीमा कम्पनी रहेको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .