ad ad

कारोबार


संसारकै सबैभन्दा ठूलो होलसेल बजारमा नेपाल चेम्बर अफ कमर्सको शाखा

संसारकै सबैभन्दा ठूलो होलसेल बजारमा नेपाल चेम्बर अफ कमर्सको शाखा

चेतनाथ आचार्य
कात्तिक २७, २०७७ बिहिबार १०:१८,

चीनको चच्याङ प्रान्तको यियुमा नेपाल चीन चेम्बर अफ कमर्सको शाखा खुलेको छ।

बिहीबार चीनका लागि नेपाली राजदूत महेन्द्रबहादुर पाण्डेले नेपाल चीन चेम्बर अफ कमर्स यियु शाखा कार्यालयको उद्घाटन गरेका हुन्। सो अवसरमा यियु नगरका चिनियाँ अधकारीहरुको पनि उपस्थिति थियो।

यियु संसारकै सबैभन्दा ठूलो थोक बिक्री 'होलसेल' बजार हो। यहाँबाट युरोपको स्पेनसम्म सोझो मालबाहक रेस सेवा सञ्चालनमा छ।

यो मालबाहक रेल सेवा संसारकै सबैभन्दा लामो दुरीमा चल्ने मालबाहक रेल सेवा हो। युरोपदेखि अफ्रिका तथा अमेरिका जाने सामानहरु यही बजारमा अर्डर हुने गर्दछन्। हिजोआज नेपाल जाने चिनियाँ समान पनि धेरैजसो यही बजारबाट अर्डर हुन थालेको छ।

पहिले क्वाङचौलाई होलसेल बजार भनेर चिनिन्थ्यो। नेपालमा जाने चिनियाँ समान पनि प्रायः क्वाङचौबाटै जाने गर्दथ्यो। तर पछिल्लो समय यियुको विकास दिन दुगुना रात चौगुनाका दर भएपछि विश्वकै सबैभन्दा ठूलो होलसेल बजारका रुपमा यियुले पहिचान बनाएको छ।

शाङहाईको नजिकै रहेको चच्याङ प्रान्तको केन्द्रमा रहेको यियुको विकास भएको दुई दसक मात्र भएको छ। सन् २०१३ मा चीनले यियुलाई विशेष आर्थिक क्षेत्र घोषणा गरेपछि यसले विकासमा फड्को मारेको हो। हाल चीन सरकारले यियुलाई स्वतन्त्र व्यापार क्षेत्रमा परिणत गरेको छ। चीनले घोषणा गरेको स्वतन्त्र व्यापार क्षेत्रमा चीन सरकारद्वारा विदेशी लगानीलाई विशेष सहुलियत दिइने र आयात निर्यातलाई उच्च प्राथमिकतामा राख्ने गरिएको छ।

यियुमा स्थापित नेपाल चीन चेम्बर अफ कमर्सको कार्यालय ७ सय वर्गफिटको भएको यसका संयोजक विष्णुप्रसाद दुमरुले नेपालखबरलाई बताए। स्थापित नेपाल चीन चेम्बर अफ कमर्सले नेपाली उत्पादनलाई चीनमा सहज बजार विस्तार गर्ने, यियुमा रहेका नेपाली व्यवसायीका कठिनाइको समाधानमा सहयोग गर्ने, यियुदेखि नेपालसम्मको पारवहन क्षेत्रमा सहजता सिर्जना गर्ने, नेपालमा लगानी गर्न चाहने चिनियाँलाई प्रोत्साहित गर्ने, सांस्कृतिक आदानप्रदान गर्ने, नेपालको पर्यटन प्रवर्द्धन गर्ने जस्ता काम गर्ने दुमरुले बताए।

Yiyu_2_1.jpg

नेपालले चीनबाट आयात गर्ने सामग्रीमा नाका नियमित नखुल्ने मुख्य समस्या रहँदै आएको छ। पाँच वर्ष अगाडिको भूकम्पपछि तातोपानी नाका लामो समय बन्द रहेको थियो। केरुङ नाका पनि बाढी पहिरोले बीचमा अवरोध हुँदै आएको छ। पछिल्लो समय कोरोना महामारीका कारण दुवै नाका बन्द रहेकाले नेपाली व्यवसायीले समस्या भोग्दै आएका छन्।

यियुमा खुलेको नेपाल चीन चेम्बर अफ कर्मसले यस्ता समस्या समाधान गर्नका लागि प्रभावकारी काम गर्न सक्ने ठानिएको छ। किनभने यसलाई चीनको स्थानीय सरकारले मान्यता दिएको छ र नेपाली व्यवसायीहरुले चीनका स्थानीय सरकारलाई समस्याको जानकारी गराएर सहजताको काम गर्न सक्ने दुमरुले बताए। उनका अनुसार यस अगाडि पनि नेपाली व्यवसायीका सामान ढुवानीमा हुने विविध समस्यामा आफूहरुले चीन सरकारका विभिन्न स्थानीय निकायसँग कुरा गरेर सहजताको काम गरेको उनले दाबी गरे।

नेपाल चीन चेम्बर्स अफ कमर्स यियु शाखा सञ्चालनमा आए पनि यसले पूर्णता पाउन भने केही महिना लाग्नेछ। कोरोना महामारीका कारण धेरैजसो नेपाली व्यवसायीहरु नेपाल फर्किएकाले उनीहरु आएपछि मात्र पूर्ण समिति गठन गरिने दुमरुले बताए।

संसारकै सबैभन्दा ठूलो होलसेल बजार क्षेत्रमा नेपाल चीन चेम्बर्स अफ कमर्स गठन हुनु भनेको नेपालले चीनसँगको व्यापारलाई अझै सहज र अझै सुव्यवस्थित बनाउने कामको एक फड्को भएको बेइजिङस्थित नेपाली दूतबासका इकोनोमिक्स मिनिष्टर छबीन्द्र पराजुलीले बताए।

पराजुलीका अनुसार निकट भविष्यमै हुनान प्रान्त र कान्सु प्रान्तमा पनि यस प्रकारका नेपाल चीन चेम्बर्स अफ कमर्स गठन हुनेछन्। यसरी गठन हुने संयन्त्रले निजी क्षेत्रबाट पनि दुई देशबीचको सम्बन्धलाई जनस्तरमा पुर्‍याउने कार्य भएर नेपाललाई थप लाभ हुने उनले औँल्याए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .