ad ad

कारोबार


प्रभाकर शमशेरले स्थापना गरेको निक्कीमा युवा नेतृत्व, निर्यात बढाउने र भारतीय लगानी भित्र्याउने केसीको प्राथमिकता

प्रभाकर शमशेरले स्थापना गरेको निक्कीमा युवा नेतृत्व, निर्यात बढाउने र भारतीय लगानी भित्र्याउने केसीको प्राथमिकता

नेपाल–भारत उद्योग वाणिज्य संघ (निक्की)का नवनिर्वाचित अध्यक्ष सुनिल केसी (तस्बिर : सरोज नेपाल)


नेपालखबर
असोज ९, २०८१ बुधबार ९:५७, काठमाडौँ

नेपाल–भारत उद्योग वाणिज्य संघ (निक्की)को नेतृत्व युवा व्यवसायी तथा लगानीकर्ता सुनिल केसीको काँधमा आएको छ। ३४ वर्षका यी युवा व्यवसायी निक्कीको अध्यक्षमा सर्वसम्मत चयन भएका हुन्। उनी हालसम्म उपाध्यक्ष थिए। 

व्यवसायीहरुको विभिन्न छाता संगठनमा काम गरिसकेका अनुभवी केसी नेपाल उद्योग वाणिज्य महासंघको कार्यसमिति सदस्य पनि हुन्। मुख्यतः उनी नेपाल र भारतका व्यवसायीबीच सम्बन्ध बढाउने र सहजीकरण गर्ने व्यवसायीमा पर्छन्। नेपालको ऊर्जा क्षेत्रमा लगानी गरेका केसीलाई अध्यक्ष भएसँगै दुई देशका निजी क्षेत्रको पुलका रुपमा काम गर्ने थप जिम्मेवारी आएको छ।

संघले नेपाल र भारतका व्यवसायीहरुबीच द्विदेशीय संस्थाको रुपमा काम गर्दै आएको छ। निक्कीले मुख्यतः नेपाली र भारतीय संयुक्त उपक्रमका लगानीलाई प्रवर्द्धन गर्छ। भारतीय कम्पनीहरुलाई नेपालमा व्यावसायिक साझेदार खोज्न सहयोग गर्छ।

भारतमा समेत लगानी वा व्यापार गर्ने नेपाली संस्था र नेपालमा पनि लगानी वा व्यापार गर्ने भारतीय व्यावसायिक संस्था मात्रै निक्कीको सदस्य बन्न सक्छन्। 

संस्थापक अध्यक्षका रुपमा स्वर्गीय प्रभाकर शमशेर राणादेखि रुक्म शमशेर राणा, सूर्य शमशेर राणा, सीजी होल्डिङका अरुण चौधरी र सृजना राणासम्मले नेतृत्व गरेको संस्थामा केसी नयाँ अध्यक्ष चुनिएका हुन्।

बुधबार काठमाडौंमा साधारणसभा गरेर संघले नयाँ अध्यक्षसहित पदाधिकारीको घोषणा गर्दैछ।

भारतीय लगानी प्राथमिकता
अध्यक्ष बनेसँगै केसीले आगामी दिनमा गर्ने कामको प्राथमिकता छुट्याएका छन्। 

‘नेपाली निर्यातको संरक्षणसँगै यसलाई कसरी बढाउँदै लैजाने भन्नेमा मुख्य ध्यान हुन्छ’, नवनिर्वाचित अध्यक्ष केसी भन्छन्, ‘अहिले नै तयारी जुत्ता निर्यात लगायतका वस्तुमा समस्या छन्। नेपाली वस्तु निर्यात बढाउनु पहिलो प्राथमिकता हुन्छ।’

ऊर्जा र पूर्वाधार क्षेत्रमा भारतीय लगानी नेपाल भित्र्याउन पहल गर्ने उनको दोस्रो प्राथमिकता छ। 

पछिल्लो समय अरुण तेस्रो लगायतमा भारतीय सरकारी लगानी आएको छ तर भारतको निजी क्षेत्रका ठूला घरानाले नेपालमा लगानी ल्याएका छैनन्। सन् १९९० को दशकपछि भारतीय लगानी नेपालमा बढ्नसकेको छैन।

‘भारतीय निजी कम्पनीहरुको नेपालमा लगानीको ग्याप (अन्तर) छ। त्यसलाई कसरी पूर्ति गर्नेतर्फ ध्यान हुन्छ’, केसी भन्छन्, ‘हरेक वर्ष लगानीलाई केन्द्रित गरेर नेपाल–भारत पार्टनरसिप समिट गर्छौँ।’

त्यसबाहेक नेपाली उत्पादन भारतमा र भारतीय उत्पादन नेपालमा प्रदर्शनीको वातावरण बनाउन प्रयास गर्ने उनको योजना छ। 

२ वर्षमा केसीले वीरगन्ज र विराटनगरमा निक्कीको च्याप्टर विस्तार गर्ने, भारतको राजधानी दिल्लीमा निक्कीको कार्यालय खोल्ने योजना बनाएका छन्। 

त्यस्तै दुई देशबीच स्टार्टअपलाई प्रवद्र्धन गर्न निक्कीको सब्सिडरी संस्था स्थापना गर्ने उनको भनाइ छ। जसमा भारतीय सरकार, निजी क्षेत्रको सामाजिक उत्तरदायित्वको रकम प्रयोग गरी स्टार्टअप प्रवद्र्धन गर्नेमा केन्द्रित हुने केसी बताउँछन्। 

नेपाल–भारत उद्योग वाणिज्य संघ २०५१ सालमा काठमाडौं जिल्ला प्रशासन कार्यालयमा दर्ता भएको थियो। हाल यो संस्थामा १६७ सदस्य छन्। जसमा नेपाली र भारतीय व्यवसायीसँगै संयुक्त उपक्रम कम्पनी समेत छन्।

ऊर्जा क्षेत्रका अनुभवी
नेपालको जलविद्युतको सबैभन्दा ठूलो बजार नै भारत हो। यो क्षेत्रमा भारतीय लगानी भित्र्याउनेसँगै उत्पादित विद्युत भारतीय बजारमा नै गइरहेको छ। नेपाल र भारतबीच १० हजार मेगावाट विद्युत् नेपालले निर्यात गर्न सम्झौता भइसकेको छ।

केसी सिंगटी हाइड्रो इनर्जी लिमिटेड, हाई हिमाल हाइड्रो कन्स्ट्रक्सनको निर्देशक र माउन्टेन इन्फ्रा कम्पनी लिमिटेडको कार्यकारी निर्देशक रहेका छन्।  

यस्तोमा केसी नेपालका ठूला आयोजनामा भारतीय लगानी ल्याउने र विद्युत् निर्यातबाट व्यापार घाटा कम गराउने मुख्य लक्ष्य रहेको सुनाउँछन्। 

‘भारतीय अदानी ग्रुप, अम्बानी, टाटालगायतका घराना नेपालमा टेन्डरमार्फत लाइसेन्स लिन चाहँदैनन्’, केसी भन्छन्, ‘ठूला लगानीकर्ता ल्याउन दुई पक्षीय छलफलबाट मात्रै सम्भव छ। २५ वर्षपछि नेपालकै स्वामित्व हुने भएकाले उनीहरुलाई सहज वातावरण बनाउनुपर्छ।’

भारतमा सहजै लगानीको अवसर भएका कम्पनीलाई नेपालमा ल्याउन गाह्रो भए पनि आवश्यक र केही सहज वातावरणको पहल गर्नुपर्ने उनको भनाइ छ।  

‘सरकारी कम्पनी र निजी क्षेत्रलाई जोडेर सँगै काम गर भन्न सक्छौँ। तर टेन्डरको लफडामा पर्न चाहँदैनन्’, उनको अनुभव छ, ‘संयुक्त उपक्रममा काम गर्ने व्यवस्था गरी हाइड्रोको लाइसेन्स दिनुपर्छ।’

निक्कीको संरक्षकमा काठमाडौँस्थित भारतीय राजदूत हुने भएकाले भारतीय व्यवसायीसँग सिधा पहुँच राख्न सक्ने र सहजीकरण गर्न सक्ने अवस्था रहेको उनी बताउँछन्। नेपाल, भारत र बंगालदेशबीच त्रिदेशीय कम्पनी स्थापना गरी नेपालको जलविद्युत् उत्पादन गर्न सकिने केसीको सोच छ।

स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था इप्पानमा सल्लाहकारको भूमिका निभाउँदै आएका उनले २५ मेगावाटको सिंगटी हाइड्रो र ८६ मेगावाटको लान्द्रुक मोदीमा लगानी गरेका छन्। 

१३ वर्षको उमेरबाटै करिअर
दाङमा जन्मिएका केसीले आफ्नो करिअर १३ वर्षको उमेरमै मिडियाबाट सुरु गरेका थिए। उनी तुल्सिपुर एफएमका सहसंस्थापक समेत हुन्। 

सन् २०१४ मा उनले थिंक ट्यांक संस्थाको रुपमा एसियन इन्स्टिच्युड अफ डिप्लोमेसी एन्ड इन्टरनेसनल अफेयर (आईडिया) स्थापना गरेका छन्। उनको व्यावसायिक यात्रा एसिया कर्पोरेसन स्थापनासँगै सन् २०१६ बाट सुरु भएको हो। सोसँगै उनले सरकारी बोलपत्रमा सहभागी र बहुराष्ट्रिय कम्पनीसँग सहकार्य गर्न पाए। 

एसिया कर्पोरेसन प्रा.लिको प्रबन्धनिर्देशक समेत छन् केसी। एसिया कर्पले नेपालमा व्यवसाय र लगानीको लागि परामर्शदाताको रुपमा काम गर्छ। यसले बजार प्रवेशका रणनीति, व्यवसाय विकासमा काम गर्दै आएको छ। 

उक्त कम्पनीले नेपालका बोलपत्रमा सहभागी हुने अन्तर्राष्ट्रिय कम्पनीहरुलाई प्राविधिक सहयोगसँगै डकुमेन्टेसनको काम समेत गर्छ। 

उनी ट्रेडिङ व्यवसायमा पनि सक्रिय छन्। कच्चापदार्थदेखि तयारी वस्तुको बिक्रीवितरणसम्ममा एसिया कर्पको सक्रियता छ। 

नेपालमा व्यापार व्यवसाय गर्ने, नेपालमा नयाँ क्षेत्रमा लगानी गर्ने, सरकारी र निजी क्षेत्रसँग समन्वय गर्न खोज्नेका लागि एसिया कर्पले पुलको रुपमा काम गर्छ। 

कम्पनीले हाइड्रोपावर, शिक्षा, हार्डवेयर र टेक्नोलोजी, ई गभर्नेन्स सोलुसन, नेपालका उत्पादिन औषधिजन्य वस्तु विदेशमा निर्यात र कृषि उत्पादनमा चाहिने रासानियक मलको सप्लाई समेत गर्छ।

भारतको बीएसएस मेटेरियल कोनकास्ट, हिल इन्डिया लिमिटेड, इमानी ग्रुप, पीएमआई, मेट्रिक्स मेडिकेट, एनबीजी, भारत इलेक्ट्रोनिक्स लिमिटेडसँग कम्पनीले सहकार्य गरेको जनाएको छ। त्यसबाहेक बंगलादेशको सिटी ग्रुप र कन्फिडेन्स ग्रुप, जर्जियाको डेल्टा इन्टरनेसनल, टर्कीको एसपिलसान इनर्जी, अजरबैजानको सिनम एलएलसीसँग समेत कम्पनीको सहकार्य छ। 

केसीले नेपालको तर्फबाट विदेशका विभिन्न ठाउँमा प्रतिनिधित्व गर्दै आएका छन्। अजरबैजानको एडीए युनिभर्सिटीको पोलिसी फोरम, इन्स्टिच्युड अफ डिफेन्स एन्ड स्ट्राटेजिक एनालाइसिसको साउथ एसिया कन्फरेन्स, इन्डिया काउन्सिल फर वर्ल्ड अफेयर्स, विवेकानन्द इन्टरनेसनल फाउन्डेसन लगायतका संस्थामा उनी आबद्ध छन्। 

निर्माता र निर्देशकको रुपमा आईडिया डाइलग सञ्चालन गर्दै आएका सुनिल केसीले भारतको नयाँ दिल्लीबाट राजनीति विज्ञानमा उच्च शिक्षा हासिल गरेका छन्। उनी आईडियाका संस्थापक हुन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .