ad ad

कारोबार


चाडपर्वले बजार चलायमान, ५० प्रतिशतले बढ्यो व्यापार

चाडपर्वले बजार चलायमान, ५० प्रतिशतले बढ्यो व्यापार

सन्तोष न्यौपाने
कात्तिक २७, २०७७ बिहिबार १०:०,

कोरोना भाइरस संक्रमण फैलिएसँगै ठप्पप्रायः भएको बजार चाडपर्वको सिजनसँगै चलायमान हुनथालेको छ।

दसैँमा केही आशा जगाएको बजारमा तिहार लागेसँगै केही बढेको छ। लगत्तै तराई क्षेत्रको महान् पर्व छठ र नेपाल संवतको नयाँ वर्ष न्हु दया आउँदै छ।

जस्तो परिस्थिति भए पनि चाडपर्व मनाउने नेपालीको चलनले कोरोनाबाट थलिएको बजारलाई राहत मिलेको सम्बन्धित व्यवसायी बताउँछन्।

नेपाल राष्ट्रिय व्यवसायी महासंघको अध्यक्ष नरेश कटुवालले दसैँ तिहारले बजारलाई केही चहलपहल गराएको बताए।

‘जस्तोसुकै परिस्थितिमा पनि नेपालीको चाडपर्व मनाउने चलन छ’, कटुवालले भने, ‘यसले बजारलाई सहयोग गरेको छ।’

दसैैँमा केही आशा जगाएको बजार तिहारले थप बल पु¥याएको छ। पछिल्लो समय समग्र व्यापार ५० प्रतिशतबाट माथि लागेको व्यवसायीहरुको भनाइ छ।

अहिलेको व्यापार गत वर्षको तुलनामा ५० देखि ७५ प्रतिशतसम्म भइरहेको कटुवालले बताए।

तिहार लागेसँगै यस सम्बन्धित सामानहरुको बिक्री बढेको छ। भाइ मसला, झिलीमिली र अन्य सामग्रीको व्यापार बढेको छ। गत वर्षको जस्तो व्यापार छैन तर ५० प्रतिशतभन्दा लागेको छ’, खिचापोखरी न्युरोड व्यापार संघका अध्यक्ष गणेश कुमार न्यौपानेले भने।

सरकारले पनि चाडपर्वलाई भीडभाड कम गरेर मनाउने भनेको छ। यसले गर्दा पनि यसपालि जमघट भएर दाजुभाइलाई टीका लगाउने, देउसी खेल्ने, हर्षउल्लास गर्ने काम नहुने भएकाले बजारलाई असर गरेको व्यवसायी बताउँछन्।

इन्द्रचोक, असनमा व्यापार बढेको छ भने होलसेल व्यापार पनि बढेको न्यौपानेले बताए।

‘दसैँको बेलामा म आफैँ दैनिक २–३ लाखको व्यापार गर्थेँ, अहिले त्यसको आधा छ’, उनले भने।

नेपालमा चाडपर्व लक्षित सामान धेरै आउने गर्छ। यसपालि तिहारलाई भनेर सामान आइरहेको छ तर गत वर्षको जस्तो परिमाणमा भने नआएको व्यवसायीको भनाइ छ।

कोरोना संकटसँगै चीनतिरको आयातमा अवरोध हुँदा पनि नेपालको बजारलाई असर गरेको छ। कोरोना संक्रमण भएसँगै चीनतिरको नाकाबाट सहज रुपमा सामान आउनसकेको छैन।

त्यसले गर्दा दसैँ तिहारमा बढी प्रयोग हुने लत्ताकपडा प्रशस्त आउन सकेनन्। भारततिरबाट समुद्रको बाटो प्रयोग गरेर सामान आइरहेको छ।

‘चीनतिरबाट पनि दिनको एक÷दुई कन्टेनर आइरहेको छ’, कटुवालले भने, ‘सामान आउनुपर्छ भनेर सरकारलाई कूटनीतिक पहल गर्न दबाब दिइरहेका छौँ।’

यस्तै अवस्था रहिरहेमा छठ पर्वपछि चीनको सीमा क्षेत्रमा गएर धर्ना दिने भन्दै विज्ञप्ति जारी गरेको उनले बताए।

नेपालमा लकडाउनभन्दा अगाडि चीनको चाडपर्वले सामान आउन सकेको थिएन। त्यसपछि त कारोनो संकट सुरु भयो। चाहेर पनि सामान ल्याउनसक्ने अवस्था थिएन।

त्यस्तै, इलेक्ट्रोनिक्स सामानको व्यापारमा पनि ५० प्रतिशत सुधार भएको छ। मोबाइलको व्यापार गत वर्षको तुलनामा आधा मात्र भइरहेको ताम्राकार हाउस मोबाइल व्यापार संघका सचिव गुरुदत्त शर्माले बताए।

‘मोबाइलको बिक्रीवितरण सामान्य छ’, शर्माले भने, ‘गत वर्षको तुलनामा आधा मात्र छ।’

लामो समयदेखि निराश रहेको बजार दसैँमा केही बढेको थियो। त्यसले बजार चलायमान हुने आशा जगाए पनि त्यसपछि भने त्यसैअनुसार बढ्न सकेन।

दसैँ, तिहारजस्ता चाडवाडले मोबाइल बिक्री बढाएको छ। त्यस्तै, लकडाउनको बेलामा सञ्चालन भएका अनलाइन कक्षाले मोबाइल व्यापार बढाएको थियो।

लामा समयको लकडाउन र कोरोना संकटले धेरैको आम्दानीको स्रोत खुम्चिएको र कतिपयको गुमेको छ। यसले उपभोक्तासँग क्रयशक्ति क्षमता घटेको छ।

न्यूनतम आवश्यकता पूरा गर्न नै गाह्रो परेको अवस्थामा बजारको माग बढ्न सक्दैन। तर, मुलुकमा कोरोना संक्रमण भइरहेको अवस्थामा सरकारले लकडाउन हटाएसँगै उद्योग व्यवसाय चल्न थालेका छन्।

बजारमा आर्थिक गतिविधि बढ्न थालेपछि यसले बजार चलायमान भइरहेको छ भने व्यापार पनि बढ्नथालेको छ। गत वर्षजस्तो हुन नसके पनि बजारमा आर्थिक गतिविधि भने क्रमशः बढ्दै गएको व्यवसायीको भनाइ छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .