ad ad

कारोबार


दक्ष प्राविधिक नआउँदा गौतमबुद्ध विमानस्थलमा उपकरण जडानको काम ठप्प

दक्ष प्राविधिक नआउँदा गौतमबुद्ध विमानस्थलमा उपकरण जडानको काम ठप्प

प्रकाश न्यौपाने
कात्तिक १९, २०७७ बुधबार १०:२१,

कोरोना कहरका कारण बाह्य मुलुकबाट आउनुपर्ने जनशक्ति नआउँदा राष्ट्रिय गौरवको आयोजना अन्तर्गत रुपन्देहीको भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको उपकरण जडान ८ महिनादेखि रोकिएको छ। उपकरण जडान गर्न विभिन्न मुलुकबाट ६५ बढी जनशक्ति आउनु पर्छ। तर, अहिलेसम्म एक जना पनि आयोजनास्थलमा आएका छैनन्।

‘नेपालमा कोरोना बढ्दै गएका कारण आवश्यक जनशक्ति आउन मानेका छैनन्। यसले गर्दा उपकरण जडानको ठप्प छ। हामीले जनशक्ति ल्याउने कोसिस गरिरहेका छौं’, विमानस्थल निर्माण आयोजना प्रमुख इन्जिनियर प्रवेश अधिकारीले भने।

सुरुमा लामो समय विमानस्थलका लागि आवश्यक उपकरण नै ल्याउन समय लाग्यो। लामो समयपछि अहिले करिब ९८ प्रतिशत उपकरण विमानस्थलमा ल्याइसकिएको छ। अझै केही उपकरण चीनतर्फ नै रोकिएको छ। आएको उपकरण जडान गर्नसमेत जनशक्ति छैनन्।

करिब १० किसिमका उपकरण विमानस्थलमा जडान गर्नुपर्छ। यसका लागि नेपालमा जनशक्ति उपलब्ध छैनन्। सबै बाह्य मुलुकबाट ल्याउनुपर्छ।

‘जनशक्ति नआएकै कारण उपकरण जडानको काम हुनसकेको छैन। यसले काम प्रभावित भएको छ’, आयोजना प्रमुख अधिकारीले भने, ‘जनशक्ति ल्याउन नेपाल सरकारले अनुमति दिइसकेको छ। केही चिनियाँले त भिसा पाइसकेका छन् तर कोरोनाका डरले सम्बन्धित देश र परिवारले पनि नजाउ भनेका हुनसक्छन्।’

अधिकारीले प्राविधिकहरु नेपाल नआउनुको मुख्य कारण भनेकै कोरोना संक्रमणको त्रास भएको बताए। केही देशहरुमा विभिन्न चरणको कोरोनाको भ्याक्सिन लगाउने कामसमेत भइरहेकाले प्राविधिक रोकिएको अधिकारी बताउँछन्। संचार उपकरण, फर्ड लाइट, एक्सरे मेसिन, मौसम पूर्वानुमान उपकरण, सीसी टिभी, उडान जानकारी डिस्प्ले, कन्भेयर बेल्ट, धावनमार्गमा जडान गरिने लाइट, सेन्ट्रल एसी लगायत उपकरण जडान गर्न बाह्य मुलुकबाट दक्ष प्राविधिक जनशक्ति आउनुपर्ने हुन्छ।

आयोजनाकाअनुसार चीन, थाइल्याण्ड, अष्ट्रिया, अमेरिकासहित अन्य मुलुकबाट दक्ष प्राविधिक उपकरण जडानका लागि ल्याउनुपर्छ। योसँगै एक्सरे मेसिन, एप्रोनमा राख्ने फर्ड लाइटहरु र अन्य महत्वपूर्ण उपकरणहरु अझै चिनबाट ल्याउनु पर्ने छ।

‘कयौं महिना भइसक्यो रसुवागढी नाकामा उपकरण आएर रोकिएको तर भन्सार पास अझै भएको छैन’, अधिकारीले बताए।

आयोजना प्रमुख अधिकारीका अनुसार धावन मार्गको वरीपरी पेरिमिटर सडक निर्माणको काम सुरु भइसकेको छ। कोरोना कहरबीच पनि विमानस्थल निर्माणको काम तीव्ररुपमा भइरहेको छ। यद्यपि दक्ष जनशक्ति र केही महत्वपूर्ण उपकरण ल्याउनै चुनौति भएको छ। ४ महिनाभन्दा लामो समयसम्म भएको लकडाउनबीच पनि आयोजना निर्माणको काम जारी थियो। अहिले प्राविधिक नआउँदा उपकरण जडानको काम प्रभावित भइरहेको छ।

निर्माणको काम चिनियाँ ठेकेदार कम्पनी नर्थ वेस्ट सिभिल एभिएसनले गरेकाले दक्ष जनशक्ति प्रायः उतैका छन्। विमानस्थलमा अहिले कन्ट्रोल टावर, टर्मिनल भवनमा फिनिसिङ, टायल विछ्याउने र विद्युतीकरण उपकरण जडान भवनहरु फिनिसिङको काम अन्त्यतिर पुगेको छ। सबै किसिमका उपकरण जडानका लागि फाउन्डेसन तयार गरी पारिएको छ। फायर भवनको फिनिसिङको काम सकिएको छ भने जहाज र ट्याक्सी पार्किङ स्थलको सिभिलतर्फको काम सकिएर विद्युतीकरणको काम पनि अन्त्यतिर पुर्याइएको छ।

पाँचौपटक म्याद थप गरि आयोजना सम्पन्न मिति सन् २०२० डिसेम्बरसम्म पुर्याइएको छ। दक्ष प्राविधिक र अन्य काम पनि बाँकी भएकाले आयोजना अन्तिमपटक थपिएको म्यादमा पनि निर्माण सम्पन्न नहुने निश्चित भएको छ। तत्कालै दक्ष जनशक्ति आए पनि उपकरण जडानमै ३ महिना लाग्छ। त्यसपछि उडान तयारी गर्न कम्तिमा थप ३ महिना लाग्छ।

यसले गर्दा आयोजना अझै ६ महिना पर धकेलिने निश्चित भएको छ। आयोजना प्रमुख अधिकारी म्याद थपेरै भएपनि विमानस्थल निर्माण सकिने बताउँछन्। विमानस्थलमा उपकरण जडानको ठेक्का थाइल्याण्डको एरो थाई कम्पनीले लिएको छ। ३१ डिसेम्बर २०१४ मा सुरु भएको आयोजनाकोे अहिलेसम्म ९३ प्रतिशत काम सम्पन्न भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .