ad ad

कारोबार


२२औँ स्थापना दिवसमा यती एयरलाइन्सले ल्यायो आकर्षक भ्रमण प्याकेज

२२औँ स्थापना दिवसमा यती एयरलाइन्सले ल्यायो आकर्षक भ्रमण प्याकेज

नेपालखबर
असोज ५, २०७७ सोमबार ९:१९,

यती एयरलाइन्सले आन्तरिक पर्यटन प्रवद्र्धनका लागि आकर्षक भ्रमण प्याकेज सार्वजनिक गरेको छ। एयरलाइन्सले २२औं स्थापना दिवसका अवसरमा प्याकेज सार्वजनिक गरेको हो।

कोभिडका कारण ठप्प भएको पर्यटन क्षेत्रलाई आन्तरिक उडानबाटै चलायमान बनाउन सकिने भन्दै एयरलाइन्सले १६ वटा प्याकेज सार्वजनिक गरेको छ। एयरलाइन्सले होटल, ट्राभल्स, ट्रेकिङ कम्पनीहरुसँगको सहकार्यमा सहुलियत दरमा भ्रमण प्याकेज ल्याएको छ।

आफ्नो २२औँ स्थापना दिवसको अवसरमा सोमबार पत्रकार सम्मेलन आयोजना गरी पर्यटन उद्योगलाई बचाउन तथा आन्तरिक पर्यटनलाई चलायमान बनाउन ‘आन्तरिक पर्यटनका लागि सँगसँगै’ भन्ने नारासहित सहुलियत दरमा प्याकेज सार्वजनिक गरेको बताएको हो।

yeti airlines plane

एयरलाइन्सका प्रमुख कार्यकारी अधिकृत अनोज रिमालले कोभिड १९का कारण ठप्प भएको पर्यटन उद्योगलाई चलायमान बनाउन सहुलियत दरको भ्रमण प्याकेज ल्याइएको बताए।

उनले प्याकेजमा पोखरा, एभरेस्ट ट्रेल, मुक्तिनाथ, घान्द्रुक, जंगल सफारी चितवन र रारा भ्रमण, काठमाडौँ आउनेका लागि पोखरा, विराटनगर, नेपालगञ्ज, भरतपुर, जनकपुर, भद्रपुर, भैरहवा, तुम्लिङटारबाट दुईतर्फी हवाइ टिकटसहित बस्ने होटलको व्यवस्था मिलाइएको जानकारी दिए।

‘अब एयरलाइन्स उड्नमात्र होइन, घुम्न पनि’ भन्ने सन्देश दिने उद्देश्यले कुनै पनि भ्रमण प्याकेज खरिद गर्ने पहिलो १ सय जना यात्रुलाई आकर्षक उपहारको व्यवस्था गरिएको पनि एयरलाइन्सले जानकारी दिएको छ।

भ्रमण प्याकेज खरिदकर्ता यात्रुले हरेक साता ‘लक्की ड्र’मार्फत आकर्षक उपहार प्राप्त गर्नसक्ने प्रमुख कार्यकारी अधिकृत रिमालले बताए।

एयरलाइन्सको २२औँ स्थापना दिवसको अवसरमा नाट्टाका अध्यक्ष अच्युत गुरागाईंले ट्राभल एजेन्सीले एयरलाइन्सको सहकार्य गरी अघि बढ्नुपर्ने बताए।

‘अब हामी घरभित्र बसेर होइन बाहिर निस्की स्वास्थ्य प्रोटोकल पालना गरी काम अघि बढाउनुपर्छ’, गुरागाईंले भने, ‘पर्यटक भनेको विदेशी मात्रै हुन् भन्ने सोच त्यागी आन्तरिक पर्यटन प्रवर्द्धनमा विशेष ध्यान दिनुपर्छ।’

उनले एयरलाइन्सहरुले प्याकेज बिक्री गर्दा ट्राभल एजेन्सीसंग सहकार्य गरी कम्तीमा १० प्रतिशत कमिसन दिने गरी व्यवस्था गर्न समेत सुझाव दिए।

यति एयरलाइन्सलाई शुभकामना दिँदै टानका अध्यक्ष खुम बहादुर सुवेदीले पदयात्रा र पर्वतारोहणमा पर्यटक बढिरहेको बताए।

‘पदयात्रा र पर्वतारोहणमा आउने पर्यटकका लागि पीसीआर नेगेटिभ भए बढीमा ३ दिन क्वारेन्टिन राखी घुम्न दिनुपर्छ’, सुवेदीले भने, ‘केन्द्रले पर्यटक खोल्ने स्थानीय तहले रोक्ने काम गर्नुहुँदैन। नभए पर्यटक नेपाल आएर दुःख पाउने सम्भावना हुन्छ।’

yeti airlines in airport

‘यती एअरलाइन्स मोबाइल एप्स’ समेत सञ्चालनमा
२२औँ स्थापना दिवसका अवसर पारेर आजैदेखि ‘यती एअरलाइन्स मोबाइल एप्स’ समेत सञ्चालनमा आएको छ। मोबाइल एप्सको माध्यमबाट टिकट बुकिङ गरेमा विशेष छुट दिने व्यवस्था गरिएको पनि प्रमुख कार्यकारी अधिकृत रिमालले बताए।

यस्तै यती एयरलाइन्सले उच्च सतर्कता अपनाएर सोमबारदेखि हवाइ उडान सुचारु गरेको पनि बताएको छ। नेपालको आन्तरिक उडान गत चैत महिनायता कोभिड संक्रमणको उच्च जोखिम रहेपछि बन्द अवस्थामा थियो।

सरकारले असोज ५ गतेदेखि आन्तरिक उडानलाई सुचारु गर्ने निर्णय गरेको थियो। प्रमुख कार्यकारी अधिकृत रिमालले चालकदल, यात्रु र कर्मचारीको स्वास्थ्य सुरक्षालाई ध्यानमा राखी विश्व स्वास्थ्य संगठन, नेपाल नागरिक उड्डयन प्राधिकरण र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयको निर्देशिकाअनुरुप यती एयरलाइन्स र तारा एयरलाइन्सको छुट्टाछुट्टै कार्यविधि बनाई जहाज सञ्चालन गरेको बताए।

के छन् प्याकेजमा ?
यतिले एभरेष्ट ट्रायलको लागि ४ रात ५ दिनको प्याकेज ल्याएको छ। यसको लागि १३ हजार नौ सय ९९ रुपैयाँ तिर्नुपर्छ। यसमा यात्रुले आउजाउको टिकट, होटलमा बस्ने व्यवस्था, खाने व्यवस्था र टेकिङमा गाइडको समेत व्यवस्था छ।

त्यसैगरी २ रात ३ दिनको रारा प्याकजेज २४ हजार नौ सय ९९ रुपैयाँ रहेको छ। पोखरा २ रात ३ दिनको ५ हजार ९९९ देखि ७ हजार ९९९ रुपैयाँसम्मको प्याकेज रहेको छ। होटलअनुसार दर फरक रहेको छ।

त्यस्तै चितवन जंगल सफारी, मुक्तिनाथ दर्शन, जोमसोम, अन्नपूर्ण पदयात्रा, विराटनगर, भैरहवा, भद्रपुर, नेपालगञ्ज, जनकपुर, तुम्लिङटार गन्तव्यमा प्याकेज समावेश गरिएको छ। प्याकेजअनुसार यी गन्तव्यमा जाने जोडीलाई सस्तो पर्ने र सिंगललाई थप शुल्क लाग्ने यति एयरलाइन्सले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .