धेरैजसो शेर्पा र हिमालबीचको सम्बन्ध बाल्यावस्थाबाटै सुरु हुन्छ।
म किशोरावस्थामै टुहुरो भएँ। मेरो गाउँ खुम्बुमा त्यतिबेला कम आम्दानी हुने कृषि नै हाम्रो जिविकोपार्जनको पूरक थियो।
त्यो अवस्थाका कारण परिवारको जिम्मेवारीको काँध थाप्दै मैले पर्वतारोहण पेशा अँगाल्नु पर्यो।
१५ वर्षको उमेरमै मैले पर्वतारोहण सुरु गरेँ। त्यसबेला म भरियाको काम गर्थें। याक चराएर, दैनिक उपभोग्य सामग्री बोकेर र त्यसलाई तिब्बत लगेर बेचेर, अनि कृषिकर्ममा साथ दिएर मेरो बाल्यकाल बित्यो।
धौलागिरी हिमाल आरोहणमा मलाई पहिलोपटक कम उचाइमा काम गर्ने भरियाको रुपमा भाडामा लिइएको म अझै सम्झन्छु। तर सोही क्रममा मलाई धेरै उचाइसम्म भारी बोक्ने जिम्मेवारी पनि दिइएको थियो। तेस्रो क्याम्पसम्म पुग्नका लागि त्यसबेला मसँग जुत्ता थिएन र अन्य पर्वतारोहणका सामग्री पनि थिएनन्।
त्यतिबेलै पर्वतारोहण गर्ने टोलीले मेरो क्षमता पहिचान गरेको हो। मैले उनीहरुका लागि गरेको कामबाट निकै प्रशंसा पाएको थिएँ।
मेरो स्थिति देखेर त्यो आरोहण टोलीले मुख्य शेर्पा गाइड (सरदार) सँग मेरा लागि जुत्ता र हिमाल चढ्दा लगाइने पोशाकको व्यवस्था गर्न भन्यो। त्यो जुत्ता र लुगा त मलाई मिलेन तर मैले आफू अब ठूला हिमाल चढ्न पनि तयार भएको महशुस गरेँ।
धौलागिरीको क्याम्प तेस्रोमा पुग्नुको सफलताले मलाई भविष्यमा पर्वतारोहण मेरो पेशा बनाउसक्छु भन्ने आँट आयो।
तर केही समयका लागि मैले उच्च स्थानमा भारी बोक्ने धेरै मौका पाइनँ। त्यो समयमा आइल्याण्ड पिक, लोबुचे, टुक्चेजस्ता स्थानमा साना ट्रेकिङको काम गरेँ।
ठूला हिमालका मुख्य आरोहणहरुमा काम गर्ने केहि सम्भावनाहरु हुँदा पनि सरदारले मलाई त्यस्तो अनुभव नभएकाले उचाइका क्याम्पमा काम गर्न दिएनन्।मलाई भने मेरो बल र क्षमताप्रति विश्वास थियो। तर परिस्थितिहरुले मलाई सधैं निराश तुल्यायो। पर्वतारोहणको कामको क्रममा मैले धेरैपटक अपमान सहनुपर्यो।
तर अन्ततः मैले आफ्नो चाहना र सपनाअनुरुप उच्च उचाइ भएका हिमाल आरोहणमा शेर्पाको रुपमा काम गर्ने मौका पाएँ। धौलागिरीमा स्विस अभियान अन्तर्गत त्यसबेला मैले पर्वतारोहीका दुई समूहलाई पालैपालो शिखरसम्म पुर्याएँ।
पर्वतारोहण पेशामा त्यो क्षण मेरा लागि ठूलो उपलब्धि थियो, जसले मलाई भविष्यको लागि आशाको किरण प्रदान गर्यो।
समय अगाडि बढ्दै जाँदा मैले सर्वोच्च शिखर सगरमाथाको सानो उचाइका क्षेत्रमा धेरै आरोहण अभियानहरुमा भरियाको काम गरेँ। तर ब्रिटिश आर्मीको अभियानका लागि क्याम्प चौथोसम्म काम गर्ने मौका पाउनु सगरमाथा सफलताको लागि मेरो कोशेढुंगा भएको म ठान्छु।
विश्वकै सर्वोच्च शिखर सगरमाथाको चुचुरामा पाइला टेक्ने मेरो पहिलो पटक सपना सन् १९८३ को मे ७ मा पूरा भयो। मैलै त्यसबेला जर्मन–अमेरिकी अभियानका पर्वतारोहीलाई सहयोग गरेको थिएँ।
अक्सिजनको बोतलबिनै जब मैले सगरमाथा चढेँ, त्यसपछि पर्वतारोहण पेशामा मेरो भविष्य सुरक्षित हुन्छ भन्ने आत्मविश्वास ममा बढ्यो।
सन् १९८४ को शरद ऋतुमा सगरमाथा आरोहण गरेर फर्कँदै गर्दा मेरा सहकर्मी जोसेफ डेमजानको मृत्यु भयो। शरद ऋतुमा मैले सगरमाथा आरोहण गरेको त्यो नै पहिलो पटक थियो।
मैले जीवनमा आरोहणका क्रममा धेरै दुखदायी घटनाहरु देखे भोगेको छु, पीडादायी पलहरुको आभास गरेको छु। तर पर्वतारोहीको जीवन यस्तै रहेछ भन्दै मैले जहिल्यै आफुलाई सान्त्वना दिएँ र अघि बढेँ।
यहि दृष्टिकोणका कारण मैले बिभिन्न दुर्घटना हुँदा पनि हिमाल आरोहण गर्ने आफ्नो चाहनालाई निरुत्साहित हुन दिइनँ। जोसेफको ज्यान गएको ६ महिनापछि अर्थात् सन् १९८५ को अप्रिल २९ मा मैले अर्कोपटक सगरमाथा आरोहण गरेँ।
पहिलो नर्वेजियन अभियानको नेतृत्व गरिरहेका आर्न नेइसलाई मैले खराब मौसममा पनि सहयोग गरेको थिएँ। त्यसबेला सगरमाथामा हुरी बतास चलेको थियो।
ठूला हिमाल चढ्ने मेरो कला सिक्न र अनुभव सुन्न साथै विश्वकै सर्वोच्च शिखर चढ्ने सपनाका कारण पर्वतारोहीहरु यतिबेला मलाई भेट्न खोज्छन्।
पर्वतारोहणको कुनै औपचारिक शिक्षा र प्रशिक्षण नभएको एक गरीब शेर्पा भएर पनि मैले अन्तर्राष्ट्रिय सेलिब्रिटीहरुलाई आरोहणबारे गाइड गर्न थालेँ। म भरिया हुँदादेखि नै यस कार्यमा पोख्त भइसकेको थिएँ।
मैले सन् १९८६ र १९८७ मा अमेरिकन, स्पेनिस, जर्मन र चिलीका टोलीसँग सफलतापूर्वक चो यु, कन्चनजंघा र मकालु दोस्रो हिमाल चढेको थिएँ।
सन् १९८७–१९८८ को हिउँदको आरोहण समयमा म दक्षिण कोरियाली अभियानलाई सहयोग गरिरहेको थिएँ। त्यतिबेला मैले र कोरियाली पर्वतारोहीले खराब मौसमका कारण बाटो बिराएको म अहिले पनि सम्झिन्छु।
त्यसबेला हामीले रातभर पसिना निस्कने शारीरिक व्यायाम मात्र गर्यौं किनभने त्यो चिसोमा जीवितै रहने त्यहीमात्र उपाय थियो।
त्यसको दश महिनापछि फेरि सन् १९८८ अक्टोबर १० मा मैले स्पेनको क्याटलान टोलीसँग सगरमाथा आरोहण गरेँ। यस्तै सन् १९९० मा छैटौंपटक सगरमाथा चढ्दा मैले नेपाली सेनाको पहिलो अभियानलाई सहयोग गरेँ।
सन् १९९२ मा मैले चिलीको पहिलो सगरमाथा अभियानमा सहयोग गरें, साथै सन् १९९३ मा स्पेनिस टोलीलाई पनि सगरमाथाको शिखरमा पुग्न सहयोग गरेँ।
सन् १९९५ को स्प्रिङमा रसियन–इन्गोस्थिएनको सगरमाथा आरोहण अभियानलाई सहयोग गर्दा म पहिलोपटक उत्तरको तिब्बती क्षेत्रबाट सगरमाथा चढेको हुँ।
मैले सन् १९९६ को स्वीडेनको सगरमाथा अभियानलाई शिखरमा पुर्याउँदा दशपटक अक्सिजनको बोतलबिनै सगरमाथा आरोहण गरेको थिएँ।
अहिले लाग्छ, अब म सक्रियरुपमा पर्वतारोहीको जीवन बिताउन सक्दिनँ। १५ वर्ष अगाडिको जस्तो काम मैले अहिले गर्न सक्दिनँ। तर यदि सगरमाथा आरोहणका लागि कुनै विशेष टोलीले आग्रह गरे मेरो स्वास्थ्यले साथ दिएछ भने अन्तिमपटक सगरमाथा चढ्ने मेरो इच्छा छ।
मेरा दुई छोरा कारसाङ र छिह्वाङ शेर्पाले मेरै बाटोलाई निरन्तरता दिएका छन्। मैले व्यक्तिगत रुपमा उनीहरुलाई प्रशिक्षण दिएको छु र उनीहरुले सगरमाथा, चो ओयु, सिसापाङमा हिमाल चढिसकेका छन्।
गएको २० वर्षसम्म मैले डोरी र हिउँ बन्चरो बोकेको छु, हिउँमा हिँडेको छु र पर्वतारोहीलाई शिखरमा पुग्न सहयोग गरेको छु।
यस दौरान मैले पर्वतारोहणको व्यवसायिक सिप र अनुभव कमाएको छु, जुन म पर्वतारोहीहरुसँग बाँड्न चाहन्छु।
(विश्वभर ‘हिउँ चितुवा’ को उपनामले चिनिने आङरिता शेर्पाको ७२ वर्षको उमेरमा आज सोमबार निजी निवास काठमाडौंंको जोरपाटीमा निधन भएको छ। उनको यो आत्मकथा हामीले एभरेष्टहिस्ट्री डट कमबाट भावानुवाद गरेका हौं।)
प्रतिक्रिया