ad ad

कारोबार


काममा नजाने श्रमिकले चैतको पुरै, वैशाख-जेठको आधा तलब पाउने

काममा नजाने श्रमिकले चैतको पुरै, वैशाख-जेठको आधा तलब पाउने

नेपालखबर
साउन १३, २०७७ मंगलबार १४:१६,

काममा नजाने श्रमिकले चैतको पुरा तथा वैशाख र जेठ महिनाको आधा तलव पाउने भएका छन्। नेपाल रोजगारदाता परिषद र श्रमिक संगठनहरुबीच भएको ७ बुँदे सहमति अनुसार लकडाउनको अवधिमा काममा नगएका श्रमिकहरुलाई तलब उपलब्ध गराइने भएको हो।

रोजगारदाताको तर्फबाट नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्स, नेपाल उद्योग परिसंघ र नेपाल घरेलु तथा साना उद्योग महासंघ तथा श्रमिकका तर्फबाट संयुक्त ट्रेड युनियन सहित ८ वटा मजदूर संगठनले सम्झौतामा हस्ताक्षर गरेका छन्।

उद्योग व्यवसाय क्षेत्रको प्रकृति फरकफरक हुने भएकोले व्यवसायको प्रकृति र अवस्था अनुसार उद्योग प्रतिष्ठानको सहज सञ्चालन, लकडाउन अवधिको पारिश्रमिक भुक्तानी र श्रमिकलाई आलोपालो गरी काममा लगाउने लगायतका विषयमा सम्बन्धित वस्तुगत संघ तथा सो क्षेत्रसँग सम्बन्धित उद्योग प्रतिष्ठानका रोजगारदाता र प्रतिष्ठानस्तरका ट्रेड युनियनले छलफल गरी सहमती गर्न सक्ने परिषदले जानकारी दिएको छ।

यस्तै पछिल्लो समय उद्योगधन्दाहरु आंशिक रुपमा मात्रै सञ्चालनमा आएकाले सबै कामदारलाई सिफ्ट अनुसार काममा लगाउनुपर्ने समेत परिषदले निर्णय गरेको छ। लकडाउन खुलेपनि माग र आपुर्तिका कारण उद्योगधन्दाहरु पुर्ण रुपमा सञ्चालनमा आउन सकेका छैनन।

तर यस्तो बेला आंशिक रुपमा खुलेका उद्योगधन्दाहरुका लागि भने सबै कामदारको रोजगारीको सुनिश्चितता गरी काममा लगाउन परिषदले निर्देशन दिएको छ। सोही अनुसार कर्मचारी/श्रमिकलाई आलोपालोको व्यवस्था गरी पारिश्रमिक दिनसमेत परिषदले निर्देशन दिएको छ।

लकडाउनका कारण सबैजसो उद्योग व्यवसाय बन्द रहेकोले उद्योगी व्यवसायीले लकडाउनको अवधिको पुरै तलब दिन नसक्ने अवस्था रहेको र श्रमिकहरुले पुरै तलब दावी गर्दा औद्योगिक वातावरण विग्रिएको थियो।

यसले गर्दा तत्काल उद्योग व्यवसाय सञ्चालन गर्ने वातावरण पनि रहेको थिएन। निरन्तरको वार्ता, छलफल र नेगोसियसनबाट यो समझदारी गर्न सफल भएको परिषदले जानकारी दिएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .