खोटाङको हलेसीका कृषकले १५ वर्षदेखि बाँझिएको जमिनमा सामुहिक खेती सुरु गरेका छन्।
कोरोना संक्रमणको जोखिमसँगै गाउँबाहिर रहेका सबै फर्किएपछि बाँझिएको जमिन जगाउन लकडाउनको समयमा जुटेको समूहका अध्यक्ष राजेश राईले बताए।
हलेसी तुवाचुङ नगरपालिका ८ का २५ घर मिलेर २०० रोपनी जग्गामा लिच्ची रोप्ने तयारी गरेका छन् । युवाहरु विदेश जान थालेपछि जग्गा बाँझिनेक्रम बढेको थियो। बाँझिएर झाडी बनेको जमिन अहिले स्थानीयले फाँड्न थालेका हुन्।
यो जमिनमा २ हजार लिच्चीका विरुवा रोप्ने तयारी भएको बरबोटे बिच बृद्धि कृषक समूहले जनाएको छ। उनको अनुसार समूहले सामुहिक खेतीका लागि ५० प्रतिशत लगानी गर्ने र बाँकी ५० प्रतिशत सरकारले अनुदान दिनेछ। १६ लाख रुपैयाँ जति लगानी आवश्यक पर्ने अनुमान गरिएको छ।
कृषि ज्ञान केन्द्रले यो क्षेत्रलाई लिच्चीको पकेट क्षेत्रका रुपमा घोषणा गरेको छ। समूहले लगानीकर्ता, जग्गा धनी र श्रमिकलाई तीन भागमा आम्दानी बाँड्ने निर्णय गरेको अध्यक्ष राईले बताए।
यो जग्गामा असारभित्रैमा विरुवा रोप्ने तयारी गरिएको छ। यसका लागि आकाशे सिंचाईको तयारी पनि गरेका छन्। जग्गाको ठाउँठाउँमा आकाशे पानी जमाएर सिंचाई गर्न पोखरी खनिएको छ। खोटाङको यो क्षेत्र सुक्खाग्रस्त क्षेत्रमा पर्छ।
प्रतिक्रिया