ad ad

कारोबार


मल्होत्राले ल्याएको मेसिनले मास्क उत्पादन थाल्यो, सरकारले खरिद गर्ने

मल्होत्राले ल्याएको मेसिनले मास्क उत्पादन थाल्यो, सरकारले खरिद गर्ने

नेपालखबर
चैत ११, २०७६ मंगलबार ८:३१,

नेपाल चेम्बर अफ कमर्सको सहकार्यमा व्यवसायी दीपक मल्होत्राले ल्याएको मेसिनबाट मास्क उत्पादन सुरु भएको छ। उक्त मास्कहरु सरकारी अस्पतालमा वितरण गर्न सरकारले खरिद गर्ने भएको छ।

भारतको चेन्नाईबाट ल्याइएको उक्त मेसिनले सोमबार बेलुकादेखि मास्क उत्पादन सुरु गरेको मल्होत्राले बताए।

‘हिजो बेलुका र आज बिहानमा झण्डै ६० हजार मास्क उत्पादन भइसकेका छन्’, मल्होत्राले नेपालखबरसँग भने, ‘यसले दैनिक ७० हजारसम्म मास्क उत्पादन गर्न सक्छ।’

मुलुकभर ‘लकडाउन’को अवस्था भएकाले सरकारी निकायबाट मास्क वितरण गर्न लागिएको उनले बताए। बजारमा मास्क जान नसक्ने भएपछि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले उक्त मास्क खरिद गर्नेछ।

सरकारले प्रतिमास्क ७ रुपैयाँका दरले खरिद गरेर स्वास्थ्य संस्थाहरुमा वितरण गर्ने मल्होत्राले बताए।

‘आपूर्ति मन्त्रालयले खरिद गर्ने ती मास्क स्वास्थ्य सेवा विभागले विभिन्न अस्पतालमा वितरण गर्नेछ’, मल्होत्राले भने।

भारतको चेन्नाईबाट ल्याइएको उक्त अटोमेटिक मेसिनको मूल्य भन्सारबाहेक झण्डै ५० लाख रुपैयाँ परेको छ।

उक्त मेसिनलाई काठमाडौं लुबुमा रहेको गोथेर क्लोथिङ प्राइभेटमा राखेर उत्पादन सुरु गरिएको छ। उक्त फ्याक्ट्रीसँगको सहकार्यमा मास्क उत्पादन हुनेछ।

गार्मेन्ट फ्याक्ट्रीमा काम गर्ने कामदारले नै मास्क उत्पादन गर्नेछन्।

मास्क उत्पादन गर्ने कामदार कारखानामै बसेर उत्पादन गरिरहेको उनले बताए।

मास्कलाई मुलुकभरका चेम्बर शाखा र सामसङका आधिकारिक बिक्रेतामार्फत मुलुकभर वितरण गर्ने योजना मल्होत्राको थियो।

मुलुक नै लकडाउन भएपछि सरकारी निकायसँग समन्वय गरिएको उनले बताए।

नेपाल चेम्बर अफ कमर्सले केही समयअघि कोरोना भाइरस नियन्त्रणसम्बन्धी एक सहजीकरण समिति बनाउको थियो। उक्त समितिको संयोजक मल्होत्रा हुन्।

चेम्बरले कारोना भाइरस नियन्त्रण गर्न र खाद्यान्न अभाव हुन नदिन योजनासहित उक्त मेसिन ल्याउन निर्णय गरेको थियो। चेम्बरको सहयोगमा ल्याइएको उक्त मेसिनमा भने मल्होत्राको लगानी गरेका छन्।

‘लगानी ठूलो नभएकाले मैले व्यक्तिगत लगानी गरेको हुँ,’ मल्होत्राले भने, ‘यसमा ठूलो सहयोग र नेतृत्व चेम्बरको छ।’

कोरोना भाइरस नियन्त्रण र त्यसबाट बच्न मास्कको मुख्य भूमिका हुने भएपछि बजारमा यसको अभाव हुन थालेको थियो।

कतिपय व्यवसायीले कालोबजारी गरेर मास्क लुकाउन थालेपछि उक्त समस्या समाधान गर्न मास्क उत्पादन गर्न लागिएको मल्होत्राले बताए।

भिडियाे:  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .