ad ad

कारोबार


बजारमा कृत्रिम अभाव देखाउन खोजियो, कडा कारबाही गर्छौँ : आपूर्ति मन्त्रालय

बजारमा कृत्रिम अभाव देखाउन खोजियो, कडा कारबाही गर्छौँ : आपूर्ति मन्त्रालय

दीपक भट्ट
फागुन २६, २०७६ सोमबार ११:१५,

विश्वमा फैलिएको कोराना भाइरसको कारण देखाउँदै व्यापारीहरुले बजारमा उपभोग्य वस्तुको कृत्रिम अभाव सिर्जना गर्नथालेपछि सरकार अनुगमनमा जुटेकाे छ।

अनुगमनलाई तीव्रता दिन र आपूर्तिको सहज व्यवस्थापन गर्ने गरी उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय आफैँ जुटेको हो।

१०/१५ दिनमा पुरानै अवस्थामा बजार प्रणाली फर्काउने मन्त्रालयको दाबी छ।

मन्त्रालयका सचिव तथा मन्त्री आफैँ अनुगमनमा हिँडेको मन्त्रालयले जनाएको छ। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले वाणिज्य विभागको अनुगमन टोली निरन्तर अनुगमनमा रहेको बताए ।

lekhraj bhatta

‘विभागको टोलीले निरन्तर अनुगमन गरिरहेको छ, मन्त्रालयका सचिव वैकुण्ठ अर्याल पनि सँगसँगै अनुगमनमा गइरहनुभएको छ’, उनले भने, ‘म आफैँ पनि निस्किएको छु।’

बजारमा खाद्यान्न तथा अत्यावश्यक वस्तु पहिलेभन्दा बढी उत्पादन तथा आयात भइरहे पनि अभाव र मूल्यवृद्धिको गुनासो आएको उनले स्वीकारे।

सोही कारण आफैँ पनि बजार अवस्था बुझ्न अनुगमनमा हिँडेको मन्त्री भट्टले बताए।

अनुगमनबाट अभाव सिर्जना गराएको तथा गराउन खोजेको भेटिए जोसुकैलाई पनि अधिकतम कारबाही गर्ने उनको दाबी छ। यसबारे योजनाअनुसार अघि बढ्ने र दोषीलाई कारबाही गर्ने उनले बताए।

उनका अनुसार १५ जना मास्क व्यापारीलाई कारबाही समेत गरिएको छ।

अनुगमन गर्दै छौँ, चाहिएभन्दा बढी सञ्चय नगरिदिनुहोस्ः मन्त्रालय
आपूर्ति सचिव वैकुण्ठ अर्यालका अनुसार खुद्रा व्यापारीबाट मन्त्रालयले अनुगमन गर्दै छ। त्यसपछि क्रमशः होलसेल हुँदै नेपाल आयात गर्ने व्यापारी तथा उत्पादन गर्ने उद्योगीसम्म पुग्ने मन्त्रालयको योजना छ।

पहिलो समस्या उपभोक्तामा नै देखिएको अर्यालको दाबी छ। उनले भने, ‘उहाँ (उपभोक्ता)हरुले नै आवश्यकताभन्दा बढी वस्तु सञ्चय गर्न थाल्नुभएको छ, यसले पनि बजारमा अभाव देखिएको हुनसक्छ।’ 

कोरोना भाइरसको मानसिक त्रास सबैमा परेको र पछि बजारमा केही पनि पाइँदैन भन्ने धारणाले केही दिनयता बजारमा ग्यासलगायत वस्तुको अभावजस्तो देखिएको छ। तर सचिव अर्याल भने वस्तु उत्पादन तथा आयात भने पहिलेभन्दा बढी भइरहेको दाबी गर्छन्।

याे पनि -
कृत्रिम अभाव, मूल्यवृद्धि र कालोबजारी विरुद्ध नागरिक सडकमा

विश्व बजारमा तेलको मूल्य सस्तिँदै गएको छ। यसले नेपालमा आयात हुने तेल समेत सस्तो हुने र लागतमा सघाउ पुग्नेछ। फलतः हरेक वस्तु अब सस्तो हुँदै जाने उनको भनाइ छ।

वाणिज्य विभागका महानिर्देशक नेत्र सुवेदीले अहिले ग्यास अभाव हुनथालेको गुनासो आएकोले अनुगमन तीव्र पारेको जानकारी दिए।

‘पर्याप्त परिमाणमा ग्यास आयात भइरहेको छ तर बजारमा अभाव पनि देखिएको छ’, आचार्यले भने, ‘त्यसकारण यो कृत्रिम अभाव हो।’

अभाव मेटाउन सरकारी संस्थाबाटै बिक्री
सरकारले हाल देखिएको कृत्रिम अभाव हटाउन सरकारी आउटलेटबाट पनि बिक्री गर्ने तयारी गरेको छ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडसँग अहिले १० हजार टन चामल रहेको तथा २० हजार टन धान रहेकोले दशैँसम्म यसैले धान्ने मन्त्रालयले बताएको छ। त्यस्तै यही कम्पनीको आउटलेटमा समेत सबैले अहिले खरिद गर्न सक्ने मन्त्रालयको भनाइ छ।

साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडसँग देशभरका उपभोक्तालाई आवश्यक पर्ने १० महिनासम्मको लागि नुन मौज्दात रहेको र चिनी पनि पर्याप्त मात्रामा रहेकाले आपूर्तिमा कुनै अभाव नहुने मन्त्रालयको दाबी छ।

ती संस्थाका अनुसार १ लाख ३६ हजार मेट्रिक टन गोदाममा र २२ हजार ५ सय मेट्रिक टन मार्गस्थल गरी करिब १ लाख ५८ हजार ५ सय मेट्रिक टन आयोडिनयुक्त नुन बफर स्टक मौज्दात छ। सो परिमाणको आयोडिनयुक्त नुनले देशभरका जनतालाई करिब १० महिनाभन्दा बढी समयसम्म आपूर्ति व्यवस्था मिलाउन सकिने मन्त्रालयको भनाइ छ।

काठमाडौं उपत्यकामा मात्रै नभएर नेपालको जुनसुकै कुनामा पनि खाद्यान्न लगायत अत्यावश्यक वस्तुको अभाव हुन नदिने मन्त्री भट्ट बताउँछन्।

‘हेलिकोप्टरको प्रयोग गरेर भए पनि खाद्यान्न उपलब्ध गराउँछौँ, त्यसको थालनी भइसकेको छ’, उनले भने, ‘पेट्रोलियम पदार्थ नौ दिनलाई पुग्ने गरी ६८ हजार ३ सय ६४ केएल मौज्दात रहेको छ।’
मन्त्री भट्टका अनुसार खाना पकाउने एलपी ग्यास समेत सात दिनलाई पुग्ने मौज्दात छ। यो वस्तु आयातमा समेत कुनै समस्या नरहेको मन्त्रालयले दाबी गरेको छ। साथै थप गरी आयात गर्ने काम समेत भइरहेको छ।

त्यस्तै मास्क र ह्याण्ड सेनिटाइजर नेपालमा केही अभाव तथा महंगो हुन थालेकोले यस्ता वस्तुलाई केही भन्सार छुट गराउने प्रयास भइरहेको मन्त्रालयले जनाएको छ।

निजी क्षेत्रसँग समेत मिलेर सरकार काम गर्ने योजना बनाएको छ। यसका लागि व्यवसायीसँग छलफल भइरहेको, औषधि उत्पादन बढाइएको, आयात हुने औषधिमा कुनै समस्या नरहेको मन्त्रालयले जनाएको छ।

यो समयमा आवश्यकताअनुसारको सामान मात्रै खरिद गर्न तथा अनावश्वक रुपमा नथुपार्न मन्त्रालयले सर्वसाधारणलाई अनुरोध समेत गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .