ad ad

कारोबार


सात महिनामा १३ अर्बको मोबाइल आयात, बजार भने खुम्चिँदै

सात महिनामा १३ अर्बको मोबाइल आयात, बजार भने खुम्चिँदै

नेपालखबर
फागुन १४, २०७६ बुधबार १२:१५,

मुलुकमा मोबाइलको बजार खुम्चिरहेको बेला चालू आर्थिक वर्षको सात महिनामा भने आयात वृद्धि भएको छ। गत वर्ष मुलुकमा मोबाइल आयातको वृद्धिदर घटेको थियो।

भन्सार विभागको तथ्यांकअनुसार पछिल्लो सात महिनामा १३ अर्ब रुपैयाँबराबरको मोबाइल सेट नेपाल भित्रिएको हो। जुन यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २ अर्ब धेरै हो।

गत आर्थिक वर्षको पहिलो सात महिनामा ११ अर्ब रुपैयाँबराबरको मोबाइल सेट आयात भएको थियो।

सात महिनामा १३ अर्ब ३ करोड रुपैयाँबराबरका ३३ लाख ३५ हजारभन्दा धेरै मोबाइल सेट आयात भएका छन्। गत वर्षको सोही अवधिमा भने ११ अर्ब ११ करोड रुपैयाँबराबरका २६ लाख ३५ हजार मोबाइल सेट भित्रिएका थिए।

मुलुकमा आयात हुने प्रमुख वस्तुमध्ये मोबाइलमा पनि उच्च स्थानमा पर्छ।

गत चालू आर्थिक वर्षमा भने मुलुकमा दशकयताकै सबैभन्दा कम मोबाइल सेट आयात भएको थियो।

विभागको तथ्यांकअनुसार गत आर्थिक वर्ष २०७५/०७६ मा मुलुकमा १९ अर्ब २७ करोड ७० लाखबराबरको ४२ लाख ७५ हजार ५ सय मोबाइल ह्यान्डसेट आयात भएका थिए।

त्यसअघि २०७४/०७५ मा २४ अर्ब ७ करोड ८३ लाख ७ हजार रुपैयाँबराबरको ६२ लाख २३ हजार ६ सय ६५ वटा मोबाइल ह्यान्डसेट भित्रिएका थिए।

दुई वर्षको तुलना गर्दा साढे २२ प्रतिशत अर्थात् ५ अर्ब ६० करोडले मोबाइल आयात घटेको थियो।

व्यवसायीहरुका अनुसार नेपालमा मोबाइलको आयात घटेको नभएर ‘ग्रे मार्केट’ बढेको छ। उनीहरुका अनुसार भन्सार छलेर मोबाइल आयात बढेकाले औपचारिक रुपमा हुने आयात घटेको हो।

सरकारले मोबाइल आयातमा दिएको भ्याट फिर्ताको सुविधा हटाएसँगै ‘ग्रे मार्केट’ वृद्धि भएको उनीहरुको भनाइ छ। आर्थिक वर्ष २०७४÷७५ मा सरकारले मोबाइल आयातमा दिएको भ्याट फिर्ताको सुविधा हटाएको थियो।

उक्त वर्षपछि मोबाइलमा १८.५ प्रतिशत कर लागेको छ। व्यवसायीले भ्याट फिर्ता पाउँदा भने ७.८ प्रतिशत मात्र कर तिरे पुग्थ्यो।

अर्थ मन्त्रालयले भ्याट फिर्ता प्रावधान हटाउनुअघि १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) लगाएको थियो। त्यसबाट ४० प्रतिशत फिर्ता गर्थ्याे।

सरकारले भ्याट फिर्ता खारेज र करको सीमा बढाएपछि महंगा सेटको आयात अवैधानिक तरिकाबाट भइरहेको व्यवसायीहरुको भनाइ छ। गैरकानुनी तरिकाबाट मोबाइल आयात भइहेकाले भन्सारमा आयातको तथ्यांक घटेको हो।

बजारमा झन्डै दुई दर्जन ब्रान्डेड मोबाइलको कारोबार भइरहेको छ। त्यस्तै, थुप्रै नन्ब्रान्डेड मोबाइल पनि नपाली बजारमा छ्यापछ्याप्ती पाइन्छन्। भन्सार छलेर ल्याइएका मोबाइलहरु भने बजारमा अरुले भन्दा सस्तोमा बेच्ने गरेका छन्।

दुई छिमेकी देशको खुला सीमा भएका कारणले त्यसका दुरुपयोग भएको छ। कतिपय महंगा मोबाइलहरु भने विदेशबाट आउनेहरुले दुई चार वटा बोकेर ल्याउने गरेको समेत पाइन्छ।

नेपालमा आउने मोबाइल सेटभन्दा सबैभन्दा धेरै चीनबाट आयात भइरहेका छन्। चीनबाट ब्रान्डेडदेखि नन्ब्रान्डेल मोबाइल सेट आयात भइरहेका छन्।

चीनबाट आयात भएका मोबाइलहरु सात सय रुपैयादेखि उपलब्ध भएकाले ग्राहकले छानीछानी किन्न पाउने सुविधा पाएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .