ad ad

कारोबार


२ वर्षयता २ हजारकै वरिपरि नेप्से, लचिलो नीतिले पनि किन जागेन सेयरबजार?

२ वर्षयता २ हजारकै वरिपरि नेप्से, लचिलो नीतिले पनि किन जागेन सेयरबजार?

सम्झना घिमिरे
जेठ २०, २०८१ आइतबार १६:३, काठमाडौँ

सेयरबजार उच्च विन्दुमा पुग्दै गर्दा दुई वर्षअघि राष्ट्र बैंक केही सक्रिय भयो। बजार कस्नकै लागि मौद्रिक उपकरण प्रयोगमा ल्याइए।

योसँगै लगानीकर्ताको एउटै आवाज सुनिन्थ्यो, ‘बजार सरकारको र राष्ट्र बैंकको नीतिगत व्यवस्थाले घटायो, लगानीकर्ताको मनोबल घटाउन मौद्रिक उपकरण चलाएर बजारलाई ध्वस्त बनाइयो।’ 

हुन पनि २०७७ वैशाखदेखि बजार बढेको थियो। १६ महिनामै परिसूचक नेप्से ३२२७ सयको उच्चतम विन्दुमा पुगेको थियो। त्यतिखेर धितोपत्रको दोस्रो बजारमा हौसिएर कारोबार गरिरहेका लगानीकर्ता राष्ट्र बैैंकको २०७८/७९ सालको मौद्रिक नीतिपछि हच्किए। 

उक्त मौद्रिक नीतिबाट राष्ट्र बैंकले सेयरकर्जामा ४/१२ को सीमा राख्दै जोखिमभारलाई १५० प्रतिशतमा पुर्‍यायो। यसले २२ अर्बको कारोबार गरिरहेका लगानीकर्ताको उत्साहमा ‘ब्रेक’ लाग्यो। फलतः १२ महिनाामै १४२० अंकले घटेको बजार त्यसयता भने अपेक्षित उचाइ लिन सकेको छैन। 

२०७८/७९ को मौद्रिक नीतिको समीक्षाबाट सेयर कर्जामा एउटा बैंकबाट ४ करोड र एकभन्दा बढी बैंकबाट एक व्यक्ति वा संस्थाले १२ करोड रुपैयाँसम्म सेयरकर्जा लिन पाउने व्यवस्था गरिएको थियो। गत असोजमा सो व्यवस्थालाई परिमार्जन गर्दै लगानीकर्ताको मागअनुसार नै राष्ट्र बैंकले व्यक्तिगततर्फ १५ करोड र संस्थागततर्फ २० करोडसम्म सेयर धितो कर्जा लिन पाउने व्यवस्था गरियो।

यस्तै चालू आर्थिक वर्षको मौद्रिक नीतिबाट राष्ट्र बैंकले २५ लाखदेखि ५० लाखसम्मको सेयर धितो कर्जामा लाग्दै आएको १५० प्रतिशत जोखिम भारलाई १०० प्रतिशतमा झार्‍यो भने ५० लाखभन्दा बढीको हकमा १२५ प्रतिशत जोखिमभार लाग्ने व्यवस्था गर्‍यो। 

यो दुई वर्षमा लगानीकर्ताले सेयरबजार घट्नुको कारण अर्थमन्त्री र राष्ट्र बैंकतिर देखाउँदै आएका छन्। ५३ लाख लगानीकर्ता रहेको पुँजीबजार क्षेत्रमा चौतर्फी आलोचना खेपेको राष्ट्रबैंकले वित्तीय अवस्थमा सुधार भएसँगै दुई वर्षअघि लिएको सेयरबजार कस्ने नीतिलाई क्रमशः खुकुलो बनाइरहेको छ। 

तर नीतिगत कडाइकै कारण बजार ध्वस्त भयो भन्ने रटानलाई भने लगानीकर्ताले त्याग्न सकेका छैनन्। त्यसको असर पुँजीबजारमा देखिएको ब्रोकरहरु बताउँछन्। 

राष्ट्र बैंक सेयर बजारप्रति किस्ताबन्दी रुपमा लचिलो बनेको कुरालाई लगानीकर्ताले बेवास्ता गरेको एक ब्रोकर बताउँछिन्। 

‘लगानीकर्तामा २ हजारदेखि २२ सयसम्मको सूचकमै नाफा निकाल्ने प्रवृत्ति हावी हुनथालेको छ’, उनी भन्छिन्, ‘यसअघिका बजारमा लगानीकर्ता नीतिगत व्यवस्थाअनुसार दीर्घकालीन लगानी र छोटो अवधिको लगानी दुवैलाई हेरेर लगानी गर्थे। यसले बजारलाई माथि उठ्न सहयोग गथ्र्‍यो। तर अहिलेको अवस्था फरक देखिँदा पनि बजारले २२ सयको विन्दुलाई पार गर्न सकेको छैन।’

नीतिगत कडाइहरु क्रमशः खुकुलो भए पनि लगानीकर्तामा बजारप्रतिको विश्वास कमजोर बनेको उनको बुझाइ छ। 

‘२२ सयकै विन्दुमा नाफा बुक गर्नुपर्छ भन्ने मानसिकता लगानीकर्तामा छ। यसको मुख्य कारण नै बजार बढ्दैन भन्ने गलत बुझाइ हो। यसले २२ सयको अवरोधलाई झन् दह्रो बनाएको छ’, ती ब्रोकर भन्छिन्।

२४ महिनामा सूचक र कारोबारमा देखिएको उतारचढाव 
पछिल्ला २ वर्षमा सेयरबजार परिसूचक र कारोबार रकममा तीव्र उतारचढाव आएको छ। 

२०७८ भदौमा नेप्से सूचकले ३२२७ अंककोे विन्दु र कारोबार रकमले २१ अर्बको उच्चतम विन्दु छोएको थियो। त्यसयता बजारमा ४ वटा स–साना स्विङ (सूचकमा देखिएको छोटो वृद्धि) देखा परेका छन् भने उस्तै अंकमा आएर रोकिएका छन्। 

२०७९ असार १० गते १८०७ अंकमा पुगेको बजारमा पहिलो स्विङ साउन २६ गते देखिएको थियो। नेप्से १८०७ बाट २२२५ मा पुगेर रोकिएको थियो। 

दोस्रो स्विङ भने २०७९ पुस ४ गते २२२७ अंकमा र तेस्रोे २०८० साउन ८ गते २२४४ अंकमा पुग्दा देखियो। चौथो स्विङ भने २०८० माघ ३ गते २२१५ अंकमा नेप्से पुग्दा देखिएको थियो। घटेको बजारमा पनि यो अवधिमा ससाना वृद्धि नदेखिएको होइन। तर बजार २ वर्षयता अधिकांशतः २ हजारकै ‘पेरिफेरी’मा सीमित बन्न पुगेको छ।

गत वैशाखमा राष्ट्र बैंकले ल्याएको तेस्रो मौद्रिक समीक्षापछिका केही दिन उच्च अंकले नेप्से बढे पनि २२२७ को विन्दु पार गर्न सकेन। लगत्तै आर्थिक वर्ष २०८०/८१ को बजेट सार्वजनिक भएकै भोलिपल्टबाट घट्न थालेको सूचक पुनः २ हजारदेखि २१ सयकै अंकमा रुमलिन थालेको छ। 

यो अवधिमा २१ अर्बसम्मको कारोबार गरिरहेका लगानीकर्ताले कारोबारलाई पनि खुम्च्याएर २१ अर्बबाट झारेर ४ अर्बमा सीमित राखेका छन्। गत हप्ताको बिहीबार लगानीकर्ताले ४ अर्ब रुपैयाँको सेयर कारोबार गरेका हुन्। 

साइडवेजमै रमाउँदै लगानीकर्ता
धितोपत्रको दोस्रो बजारमा लामो समयदेखि कारोबार गर्दै आएका लगानीकर्ताहरु यो दुई वर्षको सूचकमा देखिएको अन्योललाई बजार साइडवेजमा रहेको ठान्छन्। 

लगानीकर्ता रन्जित आचार्य बजारले अधिकतम विन्दु २२ सय र न्यूनतम विन्दु १८ सयलाई मानेर यहीभित्र तलमाथि गर्नुलाई साइडवेजमा गएको मान्नुपर्ने बताउँछन्। 

उनका अनुसार विगतको २४ महिनामा बजारले अधिकतम नेप्से सूचक २२२७ र न्यूनतम सूचक १८०७ लाई मानेको छ। 

साइडवेजमा गएको बजारले २२ को विन्दु पार गरेपछि मात्रै उकालो यात्रा गर्नसक्ने आचार्यको भनाइ छ।  

साइडवेजमै पनि रमाएका लगानीकर्ताहरुले छोटो अवधिको नाफा समेत बजारबाट निकालिरहेको एक ब्रोकर बताउँछन्। 

‘अहिले २ हजारको सूचकमा सेयर किन्ने र २२ सय हाराहारीमा पुग्नासाथ बेच्ने लगानीकर्ताहरुले राम्रै कमाइ रहेका छन्’, उनी भन्छन्, ‘बैंकिङ र जलविद्युत् कम्पनीहरुको सेयरमूल्यमा अपेक्षित वृद्धि नदेखिए पनि फाइनान्सलगायतका समूहमा लगानीकर्ताले नाफा कमाइरहेका छन्।’ 

नेप्से सूचक २२२७ को विन्दुबाट माथि उक्लिन लगानीकर्ताले सेयर होल्डमा जोड नदिएसम्म बजारले सो अवरोध पार गर्न नसक्ने उनको बुझाइ छ। 

बजार ‘लिड’ गर्ने समूहमै छैन आकर्षण 
नेपालको पुँजीबजारमा सूचीकृत सेयरका आधारमा होस् या बजार पुँजीकरणका आधारमा अग्रस्थानमा बैंकिङ र जलविद्युत् समूह नै छ। 

बजार पुँजीकरणका आधारमा ८ खर्ब १६ करोड रुपैयाँसहित बैंकिङ समूह बजार लिड गर्ने प्रमुख भूमिकामा रहँदै आएको छ भने जलविद्युत् दोस्रो स्थानमा छ। यो समूहको ४ खर्ब ५५ अर्ब रुपैयाँ छ। 

सूचीकृत कम्पनी, कारोबार र बजार पुँजीकरणको आधारमा सबैभन्दा अगाडि रहेका यिनै कम्पनीको सेयरमा भने उति आकर्षण देखिँदैन। गएको दुई वर्षदेखि बैंकहरुको औसतमा २ सय रुपैयाँ सेयर मूल्य रहँदा जलविद्युत् कम्पनीको पनि अवस्था उस्तै छ। 

लगानीकर्ता आचार्य धितोपत्र बजारलाई लिड गर्ने समूह नै सुस्ताउँदा पनि पुँजीबजार बढ्न नसकेको तर्क गर्छन्। 

उनी भन्छन्, ‘बजार लिड गर्ने यी दुई समूहमा लगानीकर्ताको कारोबार बढेको खण्डमा मात्रै बजार चलायमान बन्न सक्छ।’
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .