ad ad

कारोबार


मन्त्री नेम्वाङको सूत्र : साना काममा ध्यान, चुस्त व्यवस्थापन

मन्त्री नेम्वाङको सूत्र : साना काममा ध्यान, चुस्त व्यवस्थापन

वसन्त अर्याल
फागुन ८, २०७६ बिहिबार १०:२१,

गत मंसिर ५ मा मन्त्रीको शपथ लिने ६ जनामध्ये एक थिए वसन्तकुमार नेम्वाङ। तत्कालीन भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठको स्थानमा आएका नेम्वाङले गत शनिबार तीन महिना पूरा गरेका छन्।

मन्त्रीको कुर्सीमा बस्नेबित्तिकै ठूला–ठूला आयोजना र परियोजनामा लोभ्याउने अधिकांश मन्त्रीहरुभन्दा नेम्वाङ केही फरक देखिए। उनले नयाँ उद्घोषभन्दा भएकालाई व्यवस्थापन गर्ने बाटो समाएका छन्।

केही दिनयता महिनौँदेखि निभेका सडकबत्तीहरु बल्न थालेका छन्, ट्राफिक व्यवस्थापन चुस्त बन्दै गएको छ भने सडकका खाल्टाखुल्टी पुरिनथालेका छन्। यस अर्थमा भएका पूर्वाधारको स्तराेन्नति र व्यवस्थापन गर्ने उनको अठोट काममै देखिनथालेको भन्नु जायज देखिन्छ।

jebra cross lightकेहि दिनपहिले थापाथलीमा रहेकाे ट्राफिक बत्तीकाे संकेत कुर्दै पैदलयात्री।

काठमाडौंको धूलो र हिलोको गुनासोबाट स्वयं प्रधानमन्त्री केपी शर्मा ओली आजित थिए। उनले तत्कालीन मन्त्री महासेठलाई पनि यसको व्यवस्थापन चुस्त गर्न निर्देशन नै दिएका थिए तर समस्या ज्युँका त्युँ रहिरह्यो।

सबेरै उठेर स्वच्छ हावामा 'मर्निङ वाक'मा निस्किने, खुल्ला हरियाली पार्कमा व्यायाम गर्ने, चिल्लो बाटोमा समयमै अफिस पुग्ने उपत्यकावासीको चाहनालाई मन्त्रीको ससाना काममा गएको ध्यानले राहत दिनथालेको छ। आममानिसमा आशा जाग्न थालेको देखिन्छ।

सामाजिक सञ्जालमा आउने प्रतिक्रियामा पनि त्यहि झल्किन्छ। ट्विटरमा विश्वदीप लामिछाने लेख्छन्, ‘झण्डै ७ वर्षपछि अलकत्रा देखियो। अबचाहिँ बौद्ध–जोरपाटीको बाटो बन्छ जस्तो छ।’

सडक कालोपत्रे हुनलागेको खबरमा उत्साह जनाउँदै साझा यातायात सहकारी संस्था लिमिटेडका अध्यक्ष कनकमणि दीक्षित लेख्छन्, ‘त्यो बौद्धको बाटोमा अलकत्रा बिछ्याइयो भने जोरपाटी भेकका ह्विलचेयर प्रयोगकर्ता र अन्य ‘डिफरेन्टली एबल्ड’लाई पनि ठूलो राहत हुन्थ्यो।’ 

गम्भीर घाइते, दीर्घकालीन उपचार गर्नुपर्ने गरी शारिरिक अपांगता भएकाहरु लगायतको उपचार गर्ने नेपाल अर्थोपेडिक हस्पिटल जोरपाटीमैं रहेकाे हुँदा अस्पतालसम्म जानुपर्ने त्यस्ता व्यक्तिहरुको आवतजावतलाई जीर्ण बाटोले वर्षौंदेखि निकै सकसपूर्ण बनाएको छ।

‘साना काममा ध्यान दिए पुग्छ’
मन्त्री नेम्वाङ यातायात क्षेत्रका धेरै समस्या समाधानको लागि ठूलो लगानी मात्रै भएर नपुग्ने बताउँछन्। व्यवस्थापनकाे पाटाे पनि उत्तिकै महत्वपूर्ण भएकाे उनकाे बुझाई छ।

उनी भन्छन्, ‘साना कुरामा राम्राेसँग ध्यान दिन सक्यौँ भने पनि धेरै कुरा क्रमश: सुध्रिँदै जान्छ।’

सहज सवारी आवागमनदेखि पैदल र साइकल यात्रुमैत्रीसम्म मात्र नभई सवारीसाधनले वातावरणमा पारेको प्रभावसम्म ख्याल गरेर काम गरिरहेको उनको भनाइ छ।

‘सबै सुरक्षित रुपमा हिँड्न पाउने नागरिकको आधारभूत हक हो। रातको समयमा सहरमा हिँड्न सडक बत्ति समेत छैन। ट्राफिक बत्ति बल्दैनन्’, नेम्वाङले नेपालखबरसँग भने, ‘अब ती बत्ती पनि बल्छन्, यात्रुको सुरक्षा ग्यारेन्टी हुन्छ। सहर ब्युटिफिकेसनको काम पनि हुन्छ।’

‘कुनै पनि कुराको परिणाम देखिनको लागि मन्त्रीको निर्देशन मात्रै दिँदा काम नहुने रहेछ’, तीन महिनामै उनले सिकेको गतिलो पाठ हो, ‘मन्त्रालयमा बसेर ठूला–ठूला कुरा गर्नुभन्दा भएका कुरालाई व्यवस्थित गर्दै लानुपर्ने रहेछ। हिजो भएको पूर्वाधारलाई राम्ररी व्यवस्थित गर्न सक्यौँ भने मात्रै राम्राे नतिजा देखिन सक्छ।’

प्राथमिकतामा एक तह कालोपत्रेदेखि फ्लाई ओभरसम्म
असार मसान्तसम्म मन्त्रालयअन्तर्गतका अधिकांश सडकमा ओभरले (एक तहको कालोपत्रे) भइसक्ने दाबी गर्छन् मन्त्री नेम्वाङ।

‘हिजो के भयो भन्नेभन्दा अब के हुन्छ मुख्य कुरा यो हो’, उनले भने, ‘गाडी जाम हुने ठाउँमा फ्लाई ओभर बनाउने भनेर धेरै भाषण सुनेकै छौं। चालू आर्थिक वर्षको अन्त्यसम्म कम्तीमा एउटा फ्लाई ओभरको काम सुरु हुन्छ।’

त्यसाे त उनकाे ध्यान राजधानीमा मात्र केन्द्रित छैन। चालू आर्थिक वर्षमा जयनगर–जनकपुर रेल चल्ने उनको भनाइ छ। मन्त्री भन्छन्, ‘नेपालमा रेल गुड्छ भन्दा उडाउनु वा हाँस्नुपर्ने विषय नै होइन।’

एकैपटक पूर्वदेखि पश्चिमसम्म रेल नचले पनि लिक बनिरहेको र त्यो काम अब नरोकिने उनले स्पष्ट पारे।

विकास निर्माणको लागि बजेट विनियाेजनभन्दा पनि परियाेजना कार्यान्वयनमा समस्या भएको उनले पहिल्याइसकेका छन्। नेम्वाङ भन्छन्, ‘एकै पटक २० वटा गर्छौं भन्दा एउटा पनि सुरु हुनसकेनन्, अब १, २ गर्दै बनाउँदै जान्छौँ।’

विज्ञको सुझाव र मन्त्रीको कार्यशैलीमा पनि तालमेल मिल्ने संकेत देखिनथालेको छ।

पूर्वाधार तथा यातायात विज्ञ किशोर थापा सडक सुरक्षा र सडकको स्तर उन्नतिलाई मुख्य प्राथमिकतामा राखेर योजना बनाउनुपर्ने बताउँछन्।

‘पहिलो प्राथमिकतामा राष्ट्रिय राजमार्ग मर्मतसम्भार सुधार हुनुपर्छ। सडक दुर्घटनामा धेरै नेपालीहरुको ज्यान गइरहेको छ’, उनले नेपालखबरसँग भने, ‘पक्की गरेर मात्रै सडक सुरक्षा हुँदैन। त्यसको लागि ट्राफिक लाइट राख्ने, ट्राफिक संकेत राख्ने र सडकको स्तरोन्नतिमा ध्यान दिनुपर्छ।’

३ वर्षे योजना : अधूरा कामलाई पूर्णता
मन्त्री नेम्वाङ साना काममा ध्यान दिँदै गर्दा सरकारले थालेका दीर्घकालीन योजनालाई पनि निरन्तरता दिने बताउँछन्।

‘अबको तीन वर्षमा काठमाडौंमा स्मार्ट ट्राफिक लाइट राख्ने काम सम्पन्न गर्ने गरी अघि बढेका छौँ। डीपीआरको तयारी भइरहेको छ’, उनले भने, ‘काठमाडौंका माइतीघरमा कस्तो बनाउने, त्रिपुरेश्वरमा कस्तो र बानेश्वर लगायतका चोकमा कस्तो फ्लाई ओभर भन्ने मन्त्रालयले अध्ययन गरिरहेको छ।’

घनाबस्ती भएका ठाउँमा सडक, पूर्व–पश्चिम विद्युतीय रेल, मदन भण्डारी राजमार्ग, पुष्पलाल राजमार्ग, उत्तर दक्षिण करिडोर, काठमाडौं तराई दु्रतमार्ग निश्चित अवधिभित्रै सम्पन्न गर्ने दाबी गर्छन उनी।

विज्ञ थापा पनि सरकारले नयाँ आयोजनाभन्दा भइरहेकै आयोजनालाई व्यवस्थित र स्तरोन्नति गर्नुपर्ने बताउँछन्।

‘नेपालमा नयाँ सडक बनाउनुभन्दा पनि भएकालाई स्तरोन्नति गर्ने, दूरी घटाउने, घुम्ती भएको ठाउँ र पहिरो जाने ठाउँमा सुरुङ बनाउने योजनाका साथ अघि बढ्नुपर्छ’, उनले भने, ‘सुरु गरेका आयोजनालाई सम्पन्न गर्नुपर्यो। वर्षौँसम्म लम्ब्याएर राख्नुभएन। बन्दै छ, बन्दै छ भनेर जुनी बित्ने भो, कहिलै सकिँदैन।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .