सरकारले ६ वटा गुट्खा उद्योगको क्षमता वृद्धि गर्न सहमति दिएको छ। उद्योग विभागमा आएको आवेदन अनुसार औद्योगिक तथा लगानी प्रवर्द्धन बोर्डको बैठकले उक्त निर्णय गरेको हो।
विभागका अनुसार बोर्डको २ सय ४०औँ बैठक मंगलबार साँझ बसेको थियो। उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालको नेतृत्वमा बसेको बैठकले उद्योग विभागमा उद्योगीले आवेदन गरेबमोजिम उद्योगहरुको क्षमता वृद्धि गर्ने निर्णय गरेको हो।
उद्योग विभागका महानिर्देशक बाबुराम गौतमले सुर्तीजन्य उद्योगको क्षमता वृद्धि गर्न दिने निर्णय भएको नेपालखबरलाई जानकारी दिए।
‘उद्योगहरुको आवेदनअनुसार केही गुट्खा तथा सुर्तीजन्य उद्योगहरुको क्षमता वृद्धि गर्ने निर्णय भएको छ’, उनले भने, ‘उद्योगहरुले आफ्नो क्षमता वृद्धि गर्न पाऊँ भन्ने निवेदनअनुसार निर्णय भएको हो।’
क्षमता वृद्धि हुने उद्योगहरुमा अधिकांश सुर्ती तथा गुट्खाजन्य उद्योगहरु छन्। गुट्खा उद्योगको मुख्य कच्चा पदार्थ सुपारी हो।
सरकारले उद्योगका सुपारी आयातमा कडाइ गरेको छ। विगत केही वर्षदेखि गुट्खा उद्योगले प्रयोग गर्ने सुपारी आयात गर्दा विगतमा प्रयोग भएको मात्रा र उद्योगको क्षमता हेरिँदै आएको थियो।
त्यसले गुट्खा उद्योगहरुले सुपारी पर्याप्तमात्रामा आयात गर्न असहज भएको भन्दै उद्योग विभागमा आवेदन दिएका थिए। सोही अनुसार निर्णय भएको उद्योग विभागले जनाएको छ।
सरकारले आयात गर्न कार्यविधि बनाएर आयात अनुमति प्रदान गर्दै आएको छ। त्यसको लागि पनि निश्चित समय तोक्ने गरेको छ।
यसअनुसार चालू आवका लागि उत्पादनमूलक उद्योगलाई औद्योगिक प्रयोजनको लागि आवश्यक पर्ने कच्चा पदार्थ सुपारी पैठारीलाई व्यवस्थित गर्नेसम्बन्धी कार्यविधि २०७८ अनुसार ती वस्तु आयातको अनुमति दिइसकिएको छ। यो वर्षको आयातको लागि गत कात्तिक २ गते नै राजपत्रमा सूचना जारी भएको थियो।
उक्त कार्यविधिमा विगतमा उद्योगले कच्चा पदार्थको रुपमा प्रयोग गरेको वस्तुस्थिति र उद्योगको क्षमतालाई मुख्य आधार बनाएर अनुमति दिने उल्लेख छ। कार्यविधिअनुसार कच्चा पदार्थको रुपमा सुपारी, केराउ र मरिच आयात गर्न चाहनेले उद्योग विभागमा आवेदन दिनुपर्छ।
सो आवेदनको आधारमा उद्योग विभागले कोटा सिफारिस गर्छ। उक्त सिफारिसको आधारमा वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले खरिदको अनुमति प्रदान गर्छ।
सबैजसो गुट्खा उद्योगले आयातको लागि अनुमति माग गरेकामा उद्योग विभागले सिफारिस गरेको अनुपातले नपुग्ने गुनासो उद्योगीहरुको छ। सोही अनुसार अहिले ६ वटा उद्योगको पुँजी तथा क्षमता वृद्धि गरिएको हो।
मंगलबार साँझ बसेको बैठकले मोरङको मधु प्रोडक्ट्स प्राइभेट फर्मको पहिलो कुल पुँजी ५० लाख रुपैयाँमा ४ करोड थप गरी ४ करोड ५० लाख रुपैयाँ पुर्याउन अनुमति दिएको छ।
यसबाहेक लुम्बिनी पान मसला तथा सुर्ती उद्योगको ५० लाख कुल पुँजीबाट ३ करोड रुपैयाँ पुर्याउने निर्णय भएको छ।
त्यस्तै, आईपीए गुट्खा उद्योगको पुँजी तथा क्षमता वृद्धिलाई स्वीकृति दिने निर्णय भएको छ। जसको ८ लाख २५ हजार कुल पुँजी रहेकोमा ५ करोड रुपैयाँ बनाउने निर्णय भएको छ।
यता गुट्खा उत्पादन गर्ने बालाजी उद्योग प्रालिको १५ लाख कुल पुँजी रहेकामा ५ करोड ५० लाख रुपैयाँ बनाउन दिइने भएको छ भने गोल्डेन टोबाकोको कुल पुँजी २३ लाख ७० हजार रहेकोमा १० करोड कुल पुँजी पुर्याउने निर्णय भएको छ।
तीबाहेक एमके प्रोडक्ट्सको कुल पुँजी २० लाख रुपैयाँ रहेकोमा ५ करोड ५० लाख रुपैयाँ पुगेको छ।
यो वर्ष कति उद्योगले कति परिमाण सुपारीको अनुमति पाए?
उद्योग विभाग र वाणिज्य विभागको तथ्याङ्कअनुसार चालू आवमा कात्तिकको सुरुदेखि नै आयातको अनुमति वितरणको काम भएको छ।
यसअनुसार सुपारीतर्फ सबैभन्दा धेरै आयात अनुमति लिनेमा श्रीराम टोवाको उद्योग प्रालि छ। उक्त उद्योगले २ हजार ३ सय ३१ दशमलव ३ मेट्रिक टन ल्याउन पाउने अनुमति पाएको छ।
त्यस्तै मधु प्रोडक्ट्स विराटनगरले ८४ दशमलव ६५ मेट्रिक टन, श्री देउती गुड्का इण्डष्ट्रिज बाँकेले ३ सय ४४ दशमलव ८ मेट्रिक टन, महाशक्ति गुट्खा उद्योग कपिलवस्तुले ५२ मेट्रिक टन, विजार्ड फ्रेगनेन्स इण्डष्ट्रिज रुपन्देहीले ६ सय ६ मेट्रिक टन, नारायणराज प्रोडक्स झापाले २४ मेट्रिक टन र लुम्बिनी पान मसला उद्योगले १६ मेट्रिक टनको अनुमति पाएका छन्।
Shares
प्रतिक्रिया