ad ad

कारोबार


लम्पी स्किन नियन्त्रणका लागि ४७ करोड रुपैयाँ विनियोजन

लम्पी स्किन नियन्त्रणका लागि ४७ करोड रुपैयाँ विनियोजन

नेपालखबर
भदौ ७, २०८० बिहिबार १८:२, काठमाडौँ

कृषि तथा पशुपन्क्षी विकासमन्त्री डा.वेदुराम भुसालले लम्पी स्किन रोगको महामारी नियन्त्रणका लागि ४७ करोड रुपैयाँ रकम विनियोजन गरेको बताएका छन्।

बिहीवार प्रतिनिधि सभा बैठकमा बोल्दै मन्त्री भुसालले चालु आर्थिक वर्षमा महामारी नियन्त्रणका लागि प्रत्येक स्थानीय तहमा संघीय सशर्त अनुदान अन्तर्गत जानेगरी ४७ करोड रुपैयाँ विनियोजन गरिएको जानकारी गराएका हुन्।

त्यस्तै महामारी नियन्त्रणका लागि खोप कार्यक्रम सञ्चालन गर्न ५ करोड ६० लाख रुपैयाँ रकम विनियोजन गरिएको बताए। उनले प्रदेशहरुले पनि खोप खरिदका लागि बजेट विनियोजन गरेका र कतिले बिनियोजन गर्ने प्रक्रिया अगाडि बढाएका बताए।

उनले भने, ‘आर्थिक वर्ष २०८०/८१ का लागि प्रत्येक स्थानीय तहमा महामारी नियन्त्रण गर्न संघीय सशर्त अनुदान अन्तर्गत जानेगरी ४७ करोड रकम विनियोजन गरिएको छ। महामारी नियन्त्रणका लागि खोप कार्यक्रम सञ्चालन गर्न ५ करोड ६० लाख रकम विनियोजन गरिएको छ। प्रदेश सरकारहरुले पनि रकम विनियोजन गरेका छन्।’

उनका अनुसार कोशी प्रदेशले खोप खरिदको लागि ५० लाख रुपैयाँ तथा आकस्मिक रोग नियन्त्रणका लागि हरेक जिल्लामा २देखि ३ लाख र मन्त्रालयमा ६० लाख बजेट विनियोजन गरेको छ। मधेस प्रदेश सरकारले खोप खरिदको लागि ५० लाख रुपैयाँ र आकस्मिक रोग नियन्त्रणको लागि हरेक जिल्लामा ५ लाख बजेट विनियोजन गरेको छ।

यस्तै, बागमती प्रदेश सरकारले खोप खरिदको लागि ६५ लाख रुपैयाँ र आकस्मिक रोग नियन्त्रणको लागि हरेक जिल्लामा ५ देखि ९ लाख बजेट विनियोजन गरेको छ। गण्डकी प्रदेश सरकारले खोप खरिदको लागि १ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ। लुम्बिनी प्रदेश सरकारले खोप खरिद कार्यको लागि २ करोड ८३ लाख बजेट व्यवस्था गर्ने प्रक्रिया अगाडि बढाएको छ।

त्यसैगरी विभिन्न स्थानीय तहले पनि रकम छुट्टयाएका मन्त्री भुसालले बताए।

मन्त्री भुसालले बिगत ५ महिनामा लम्पिस्किन रोगबाट १४ लाख ४६ हजार ४५९ पशु बिरामी परेका जानकारी दिए। त्यसमध्ये १२ लाख ८८ हजार ७५९ निको भएका र ५२ हजार ४४८ पशुको मृत्यु भएको जानकारी गराए। हाल १ लाख ५ हजार २५३ पशु बिरामी अवस्थामा रहेका उल्लेख गरे।

उनले हालसम्म जोर्डन, तान्जानिया र टर्कीबाट १३ लाख ६९ हजार डोज भ्याक्सिन ल्याएकोमा ७ लाख ६ हजार ४०० पशुमा भ्याक्सिन लगाइसकिएको बताए।

लम्पिस्किन रोग नियन्त्रणका लागि तिनै तहको सरकारबीच समन्वयमा काम भइरहेको बताए। आवश्यक प्रचारप्रसारको काम पनि भइरहेको उनले स्पष्ट पारे। आवश्यक पशु चिकित्सक पनि खटाइएको उनले जानकारी दिए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .