ad ad

कारोबार


भारतसँग १० लाख टन धान खरिद गरे चामल प्रतिबन्धको असर पर्दैन : अध्यक्ष दुगड

नेपाललाई धान आयातमा फाइदा छ, चामलमा छैन
भारतसँग १० लाख टन धान खरिद गरे चामल प्रतिबन्धको असर पर्दैन : अध्यक्ष दुगड

नेपालखबर
साउन १६, २०८० मंगलबार १५:३६, काठमाडौँ

नेपाल चामल, तेल, दाल उद्योग संघको अध्यक्ष कुमुदकुमार दुगडले नेपाल सरकारले भारत सरकारसँग धान खरिद गर्नसके चामल प्रतिबन्धको असर नपर्ने बताएका छन्।

संघका अध्यक्ष दुगडले भारतले चामल निकासीमा प्रतिबन्ध लगाएपनि नेपालमा धान निर्यात खुला रहेकाले नेपाल सरकारले भारत सरकारसँग पहल गरी धान खरिद गर्नसके चामल प्रतिबन्धको असर नपर्ने बताएका हुन्। 

‘भारतले चामल निकासी प्रतिबन्ध लगाए पनि नेपाललाई धान आयातमा फाइदा छ। चामल आउँदा केही फाइदा छैन,’ उनले भने।

अध्यक्ष दुगडले भारतले नेपाल मात्रै नभएर विश्वभर चामल निकासी प्रतिबन्ध लगाएकाले त्यसको असर नेपालमा पनि पर्ने बताए। उनले चामल आयातको प्रतिवन्धले पर्ने असर कम गर्न सरकारले भारत सरकारसँग १० लाख टन धान माग तत्काल गर्नुपर्ने बताए। 

तत्काल १० लाख टन धान आयातका लागि पहल नगरे नेपालमा असर पर्ने उनले बताए। 

‘अब कम्सेकम सरकारले भारत सरकारसँग १० लाख टन धान माग गर्नुपर्छ। त्यसको लागि नेपाल चामल, तेल, दाल उद्योग संघले सरकारसँग माग गर्छ,’ उनले भने, ‘सरकारले त्यसको लागि तत्काल पहल नगरे असर देखिन्छ। खुला सीमानाको कारण अन्य बाटोबाट चामल आउन थाल्छ। सरकारले सबै विषय वस्तुलाई हेरेर निर्णय लिनुपर्छ।’

भारतसँगको वार्षिक ६ लाख मेट्रिक टनसम्म धानमा कर छुट कोटामा आयात हुने कोटा सकिएकाले थप समस्या हुनसक्ने उनको भनाइ छ। अध्यक्ष दुगडले नेपालको नयाँ धान नोभेम्बरमा आउने तर त्यो भन्दा पहिला नेपालीहरुको महान पर्व दशैँतिहार आउने भएकाले थप चुनौतिपूर्ण अवस्था देखिएको पनि बताए।

‘नेपाल सरकारको अनुरोधपछि वार्षिक ६ लाख मेट्रिक टनसम्म धानचामलमा कर छुट कोटा दिने भारत सरकारले निर्णय गरेको थियो। तर अहिले समस्या के छ भने नेपालमा जम्मा यही कोटा अन्तर्गत अहिले भारतबाट धानचामल आयात भइरहेको छ। अघिल्लो आर्थिक वर्ष २०७८÷७९ मा करिव साढे ५ लाख टन अर्थात ४७ अर्ब ५९ करोड रुपैयाँको धानचामल आयात भएको थियो। ६ लाख टन धान आयात भएको थियो,’ उनले भने।

उनले भारतले चामल निकासी प्रतिबन्ध लगाए पनि नेपाललाई धान आयातमा फाईदा रहेको उल्लेख गरे। खुला सिमानाको कारण अन्य बाटोबाट चामल आउनसक्ने भन्दै उनले सरकारले सबै विषय वस्तुलाई हेरेर निर्णय लिनुपर्ने आवश्यकता रहेको पनि बताए। 

‘भारतले चामलमा २० प्रतिशत कर लगाएपछि चामलको आयात ३ लाख कम भयो। धानको आवश्यकता बढी भयो। १०० केजी धानबाट ५० केजी चामल निस्कन्छ। त्यो कारणले ६ लाख टन धानको बढी आवश्यकता भयो,’ अध्यक्ष दुगडले भने, ‘नेपालले पाउने ६ लाख टन धान आयात गर्न पाउने कोटा सकिएको छ। नेपालको नयाँ धान नोभेम्बरमा आउँछ। त्यो भन्दा पहिला नेपालीहरूको महान पर्व दशैतिहार छ। चुनौतिपूर्ण अवस्था छ।’

नेपालमा उत्पादन क्षमता ठूलो रहेकाले भारतबाट धान आयात गर्नसके चामल उत्पादन गरेर नेपालको खपतलाई परिपूर्ति गर्न सकिने उनको भनाइ छ। 

‘भारतले सन् २०२२ को सेप्टेम्बरदेखि धानचामलको निर्यातमा २० प्रतिशत कर लगाउन सुरू गरेको थियो। त्यो भन्दा पहिला नेपालमा कर लाग्दैन थियो। त्यसपछि नेपाल सरकारले धान उपलब्ध गराउन माग गरेको थियो,’ उनले भने

भारतले सन् २०२२ को सेप्टेम्बरदेखि धान चामलको निर्यातमा २० प्रतिशत कर लगाउन सुरु गरेको बताए। उनले अघिल्लो आर्थिक वर्ष २०७८÷७९ मा करिव साढे ५ लाख टन अर्थात् ४७ अर्ब ५९ करोड रुपैयाँको धानचामल आयात भएको र ६ लाख टन धान आयात भएको पनि बताए।

अध्यक्ष दुगडले नेपालमा ५५ लाख टन धान उत्पादन हुन्छ भन्ने सरकारको तथ्याङ्क रहेपनि तथ्याङ्क अनुसार परिमाण नदेखिएको बताए। उनले ५५ लाख धान उत्पादन भए चामलमा आत्मनिर्भर हुने तर यकिन डेटा नभएर समस्या रहेको बताए। 

उनले सरकारी डेटा र चामलको खपत हेर्दा म्याच नभए पनि नेपालमा वार्षिक २५ लाख टन चामल खपत हुने गरेको बताए। मूल्यवृद्धि चामलको माग र आपूर्तिमा निर्भर हुने भन्दै चामल मिल र व्यापारीहरुले मूल्यमा केही गर्न नसक्ने उनले बताए। 

‘नेपालमा ५५ लाख टन धान उत्पादन हुन्छ भन्ने सरकारको तथ्याङ्क छ। तर त्यो तथ्याङ्क अनुसार परिमाण देखिएको छैन। ५५ लाख धान उत्पादन भए चामलमा आत्मनिर्भर हुन्छौं। यकिन डेटा नभएर समस्या छ,’ उनले भने, ‘सरकारी डेटा र चामलको खपत हेर्दा म्याच भएको छैन। नेपालमा वार्षिक २५ लाख टन चामल खपत हुन्छ। तर यकिन डेटा कोहीसँग पनि छैन। मूल्यवृद्धि हुने कुरा माग र आपूर्तिमा निर्भर हुन्छ। चामल मिल र व्यापारीहरूले मूल्यमा केही गर्न सक्दैन।’ 

भारतले बासमती बाहेकका चामलको निर्यातलाई साउन ४ बाट लागू हुनेगरी रोक लगाएको छ। खाद्यान्नको बढ्दो मूल्यलाई नियन्त्रणको प्रयासस्वरूप भारतले चामल निर्यातमा प्रतिबन्ध घोषणा गरेको हो।

दक्षिणी छिमेकी भारतले चामल निर्यातमा लगाएको प्रतिवन्धको सोझो र गहिरो असर नेपालमा पर्नेछ। नेपालमा आवश्यक धानचामलको करिब २१ प्रतिशत भारतबाट आयात हुने गरेको संघले जनाएको छ।

सरकारले हरेक दिन कम्तीमा १० करोड मूल्यको धानचामल आयात गर्दै आएको छ। गत आर्थिक वर्ष २०७९÷८० को जेठ मसान्त सम्ममा ३३ अर्ब ६३ करोड रुपैयाँको धानचामल आयात भएको छ।

त्यसभन्दा अघिल्लो आर्थिक वर्ष २०७८/७९ मा ४७ अर्ब ५९ करोड रुपैयाँको धानचामल आयात भएको थियो। आर्थिक वर्ष २०७८/७९ मा भने नेपालले तीन खर्ब ४१ अर्ब रुपैयाँको कृषि वस्तु आयात गरेको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .