नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले नेपालको विद्युतीकरणमा लगानी नपुगेको बताएका छन्।
औद्योगिक क्षेत्रमा विद्युत् कटौतीको कारणमध्ये लगानी पनि एक रहेको घिसिङको संकेत छ।
विगत केही वर्षदेखि लोडसेडिङमुक्त रहेको देशभर चर्चा हुने गरे पनि हरेक वर्षजस्तो सुख्खायाममा औद्योगिक स्थानहरुमा विद्युत् कटौती हुने गरेको छ। त्यसको विरोध उद्योगी व्यवसायीहरुले गर्ने गरेका छन्। यो वर्ष पनि विद्युत् कटौती सुरु भइसकेको छ।
त्यसको विरोधमा नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक कुलमान घिसिङको राजीनामा समेत माग भएको छ। विद्युत् आपूर्ति नियमित गर्न माग राख्दै अहिले पनि सुनसरी/मोरङ औद्योगिक करिडोर क्षेत्रका उद्योगी व्यवसायी आन्दोलित छन्।
आइतबार नै उद्योगी व्यापारीहरुले नेपाल विद्युत् प्राधिकरणको दुहबी ग्रेड शाखा घेराउ गरे। उद्योगी व्यापारीहरुले घेराउ गर्ने क्रममा विद्युत् आपूर्ति नियमित गर्न माग गर्दै नाराबाजी गरे।
सो क्रममा उद्योगी व्यापारीले विद्युत् प्राधिकरणका कार्यकारी प्रमुख कुलमान घिसिङको राजीनामा समेत मागेका थिए। कुलमान घिसिङ राजीनामा दे, विद्युत् आपूर्ति नियमित गर, लोडसेडिङको तालिका सार्वजनिक गर लगायतका नारा उनीहरुले लगाएका थिए।
उता राजीनामाको नारा उर्लिँदै गर्दा यता कुलमान घिसिङ भने पत्रकारहरुलाई कसरी विद्युत् कटौती गर्नुपर्यो भन्ने बिफ्रिङ गर्दै थिए।
उनले पत्रकारहरुलाई विद्युत् कटौती भएको स्वीकार गर्दै त्यो लामो समय नचल्ने बताए।
विद्युत् कटौतीको मुख्य विषय प्रसारणलाइनमा लगेर उनले जोडेका छन्। उनका अनुसार नेपालको प्रसारणलाइनको क्षमता नपुगेको कारण विद्युत् सहज रुपमा आपूर्ति गर्न सकिएको छैन।
उनले भने, ‘यो सुख्खायाममा नेपालको विद्युत्ले माग पूर्ति गर्न सकिएको छैन। झण्डै आधा विद्युत् भारतबाट ल्याइएको छ। त्यसले समेत अपुग रहँदा विद्युत् कटौती भएको हो। तर यो लामो समय नभई क्षणिक मात्र हो।’
औद्योगिक क्षेत्रमा देखिएको समस्या १०÷१५ दिनमा समाधान हुने र समस्यालाई बुझिदिन उद्योगीहरुलाई उनले आग्रह समेत गरे।
यस वर्ष हिउँ÷पानी नपरेर सुख्खायाम लम्बिँदा नदी प्रवाहमा आधारित जलविद्युत् आयोजनाहरुको विद्युत् उत्पादनमा करिब ३० प्रतिशत गिरावट आएको, धनुषाको ढक्केबर सबस्टेसनबाट थप विद्युत् पूर्वतर्फ पठाउन प्रसारण लाइनको क्षमताले नधानेको, सप्तरीको रुपनी सबस्टेसनको बे्रकर चुँडिएको र कटैया–कुशहवा १३२ केभी प्रसारण लाइनमार्फत भारतको बिहारबाट आयात भइरहेको विद्युत् उताबाट कटौती हुँदा मागअनुसार आपूर्ति गर्न समस्या भएको कार्यकारी निर्देशक घिसिङले बताए।
अहिले प्रणालीमा विद्युत्को उच्चतम माग १ हजार ७ सय ५० मेगावाट पुगेको छ ।
औसत माग १ हजार ३ सय मेगावाट र आधार माग १ हजार २ सय ७५ मेगावाट रहेको छ। तराईमा गर्मी बढ्दा खेतमा सिँचाइ गर्न सिँचाइको लोड अत्यधिक बढेको छ। झापाको दमकदेखि अनारमनी क्षेत्रको मात्र विद्युत् माग ८० मेगावाट पुगेको छ।
प्राधिकरणले कुलेखानी जलाशयलाई चौबीसै घण्टा पूर्ण क्षमतामा चलाएको छ। आन्तरिक उत्पादनले विद्युत् माग धान्न नसकेपछि दैनिक रुपमा औसतमा ५ सय मेगावाट आयात गरिएको छ ।
गत वर्षभन्दा यस वर्ष जलविद्युत् आयोजनाहरुको जडित क्षमता बढे पनि पानी÷हिउँ नपर्दा देशभित्रको विद्युत् उत्पादनमा करिब ३० प्रतिशत गिरावट आएको छ।
प्राधिकरणका विद्युत् गृहहरुबाहेक निजी क्षेत्रका जलविद्युत् गृहको विद्युत् उत्पादन जडित क्षमताको करिब १५ प्रतिशत मात्र रहेको प्राधिकरणको अनुमान छ ।
कार्यकारी निर्देशक घिसिङले अगामी वर्षको गर्मी मौसममा अहिलेको जस्तो समस्या आउन नदिन अहिले ढल्केबर– इनरुवा ४०० केभी प्रसारण लाइन र हेटौंडा–भरतपुर–बर्दघाट–नयाँ बुटवल २२० केभी प्रसारण लाइन निर्माण जतिसक्दो छिट्टै सम्पन्न गर्ने गरी काम भइरहेको बताए।
उनले नेपालको विद्युतीयकरणमा करिब १० खर्ब रुपैयाँ लगानी गर्नुपर्ने आवश्यकता रहेको जानकारी दिए।
‘अहिले नेपालको विद्युतीयकरणमा धेरै लगानी गर्नुपर्ने आवश्यकता छ। प्रसारणलाइनदेखि सहरी क्षेत्र र औद्योगिक क्षेत्रमा समेत लाइनमा गुणस्तर तथा विस्तारका काम गर्नुपर्ने छ। अन्यथा विद्युत् कटौतीको समस्या रहन्छ’, घिसिङले भने।
विराटनगर सुनसरी मोरङ अहिले आपूर्ति कस्तो छ?
विराटनगर सुनसरी मोरङमा औद्योगिक क्षेत्र मा राती विद्युत् कटौती हुने गरेको छ।
लो भोल्टेज र ट्रिपिङजस्ता अपर्याप्त आपूर्ति तथा अनिर्धारित विद्युत् कटौतीका कारण उद्योगहरु सञ्चालनमा समस्या भइरहेको छ। त्यसको विरोध उद्योगी व्यवसायीले गरेका छन्।
Shares
प्रतिक्रिया