ad ad

कारोबार


इरानी कमान्डर मारिएपछि कच्चा तेलको मूल्य बढ्यो

इरानी कमान्डर मारिएपछि कच्चा तेलको मूल्य बढ्यो

नेपालखबर
पुस १८, २०७६ शुक्रबार ८:४२,

शुक्रबार बिहानै इराकी अन्तर्राष्ट्रिय विमानस्थलमा इरानी सेनाका कमान्डर मारिएपछि विश्वबजारमा तेलको मूल्य बढेको छ। राष्ट्रपति डोनाल्ड ट्रम्पको आदेशपछि अमेरिकी सेनाले इराकी राजधानी बग्दादमा रहेको विमानस्थलनजिकै कासिम सुलेमानीको मृत्यु भएको थियो।

उक्त आक्रमणपछि तेलको मूल्य ह्वात्तै बढेको अमेरिकी केबल न्युज नेटवर्कले जनाएको छ। सीएनएनका अनुसार शुक्रबार एसियाली बजारमा कारोबारका बीच ग्लोबल बेन्चमार्क (कच्चा तेल) २.९ प्रतिशतले बढेर ६८.१६ अमेरिकी डलर प्रतिब्यारेल पुगेको छ। रिफाइनिटिभ डाटाका अनुसार अमेरिकी कच्चा तेल २.८ प्रतिशतले बढेर ६२.८६ डलर प्रतिब्यारेल पुगेको छ।

विश्लेषकहरुले उक्त घटनाले क्षेत्रीय तनाव र विश्व तेल उत्पादनलाई असर गर्नसक्ने चेतावनी दिएका छन्। ओआन्दाका एसिया प्रशान्त हेर्ने वरिष्ठ बजार विश्लेषक जेफ्रे हाले आफ्नो रिसर्च नोटमा भन्छन्, ‘यो अप्रत्यक्ष प्रतिक्रिया अपेक्षित नै थियो तर मेरो ध्यान तेल र ट्यांकमाथि पहिलो छ।’

गत वर्ष सेप्टेम्बरमा साउदी अरेबियाको तेल उत्पादन गृहमा ड्रोन आक्रमण हुँदा तेलको मूल्य १४ प्रतिशतले बढेको थियो। यसले दैनिक विश्व आपूर्तिमा ५ प्रतिशत अवरोध पुगेको थियो। तर साउदी अरेबियाले सञ्चित तेल वितरण गरेपछि पुनः बजार सन्तुलनमा आएको थियो।

शुक्रबारको आक्रमणसँगै मुख्य एसियाली सेयरबजार सुरुवातमा बढे पनि पछि सुस्ताएका छन्। हंगकंगको हांगसेंग सूचक १.१ प्रतिशत वृद्धि भएर पछि शून्य दशमलव २ प्रतिशतले खुम्चिएको छ। चीनको सांघाई कम्पोसाइट शून्य दशमलव ३ प्रतिशतले गिरावट आएको छ। दक्षिण कोरियाको कोस्पी केही बढेको छ भने जापानी सेयरबजार नयाँ वर्षको विदामै रहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .