मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा पर्खिरहेको सेयरबजारले नयाँ कुरा पाउन नसकेको देखिएको छ।
राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा गर्दै ऋणीलाई ऋण तिर्ने समयमा लचकता अपनाए पनि सेयर बजारसम्बन्धी नीतिमा कुनै परिवर्तन नगरेको हो।
१२ करोडको कर्जा सीमालाई बढाउने चर्चा बजारमा चले पनि मौद्रिक समीक्षामा त्यसले स्थान नै पाएन। यही चर्चाका कारण यो साता सेयर बजार ८८ अंकले बढेको थियो भने कारोबार पनि करिब १३ अर्बको भएको थियो। यो साता लगानीकर्ता मौद्रिक नीतिको पर्खाइमा बसे।
तर समीक्षा बजार अपेक्षाअनुकूल नआएपछि मौद्रिक नीतिको अपेक्षामा बसेका लगानीकर्तालाई निराश बनाएको छ।
नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर डा. चिरञ्जीवी नेपालका अनुसार केन्द्रीय बैंकले वित्तीय स्थायित्वमा बढी ध्यान दिएको देखिएको छ। यसले अहिलेको अवस्थालाई सञ्चालन गर्न खोजेर अघि बढ्न नखोजेको देखिएको उनले बताए ।
‘केन्द्रीय बैंकले यति मात्र गर्न सकिन्छ भनेर केही कुरालाई मात्र समेटेर समीक्षा गरेको छ’, उनले नेपालखबरसँग भने।
मौद्रिक नीति बजारको लागि अनुकूल नदेखिए पनि प्रतिकूल पनि नरहेको इन्भेष्टर्स फोरम नेपाल अध्यक्ष छोटेलाल रौनियार बताउँछन्।
उनले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाले सेयर बजारको समस्यालाई नसमेटेको बताए।
उनका अनुसार मौद्रिक नीतिको समीक्षाले बजार नसमेटे पनि पनि मूल्यवृिद्ध, रेमिट्यान्स, बैंकहरुको रिजर्भ, विदेशी विनिमय सञ्चिति लगायतका सूचकमा देखिएको सकारात्मक संकेतले बजारलाई घट्ने र बिगार्ने कुरा छैन।
‘सेयरबजारको विकासको लागि लगानीकर्ताको संघ संगठनले पठाएको केही कुरा अर्थमन्त्री, गभर्नरलाई बुझाएका थियौँ’, उनले भने, ‘मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाबाट सेयरबजारलाई समेट्ने कुरा आएन।’
‘१२ करोडको व्यवस्था, बैंक ब्याजदर र जोखिमभार १५० लाई १०० मा झार्ने कुरा थियो’, उनले थपे।
सेयरबजार अर्थतन्त्रको मेरुदण्ड रुपमा रहेको उल्लेख गर्दै उनले यसलाई नउकासी माइक्रो लेभलमा अर्थतन्त्र माथि नआउने बताए।
उनले भने, ‘४४ खर्बको पुँजीकरण ३२ अर्बमा आइसक्यो। १२ खर्ब जति पैसा मार्केटले गुमाइसकेको छ।’
समग्र अर्थतन्त्र उकास्ने हो भने पुँजीबजार उकास्नुपर्ने रौनियारको भनाइ छ।
Shares
प्रतिक्रिया